विकट क्षेत्रमा ‘एन्टिजेन’ प्रभावकारी



मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाईरसको संक्रमण फैलन नदिन पिसिआर सँगै एन्टिजेन विधी प्रभावकारी रुपमा प्रयोगमा ल्याईएको छ । केहि पालिकाहरुले भने यो विधी अझै प्रयोगमा ल्याएका छैनन ।

विकट क्षेत्रका पालिकाहरुमा स्वाव संकलन गरी जिल्ला सदरमुकामसम्म आउन र परिक्षण पछिको रिपोर्ट कुर्न लागेको समयका आधारमा एन्टिजेन विधी प्रभावकारी र उपयोगी देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । स्वास्थ्य कार्यालय काभ्रेले स्थानीय पालिकाहरुलाई ५ हजार ४ सय एन्टिजेन किट उपलब्ध गराएकोमा विहिबार साँझसम्म ३ हजार ५ सय ६ वटा किट खर्च भईसकेको छ । एन्टिजेन विधिको परिक्षणबाट स्थानीय स्तरमा संक्रमण देखिए लगत्तै तुरुन्तै परिक्षण गरी संक्रमण भए नभएको पत्ता लगाउने र नागरिकहरुलाई संक्रमणबाट जोगाउन पोजेटिभ देखिएका ब्यक्तिहरुलाई आईसोलेसनमा बस्न सहज भएको छ ।

धुलिखेल नगरपालिकाले एन्टिजेनलाई भन्दा पिसिआर विधिलाई प्राथमिकतामा राखेको छ । धुलिखेलमा अस्पताल र प्रादेशिक ल्याव भएकाले स्वाव लिएकै दिन परिक्षण हुँदै आएको छ । जसलाई धुलिखेल अस्पतालले सहयोग गर्दै आएको छ । धुलिखेल नगरपालिकाले १ सय थान एन्टिजेन प्रयोगमा नल्याएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ । त्यस्तै ८ सय ७५ वटा किट लगेकोमा ५ सय ९६ वटा परिक्षण गरिसकेको छ । जसमा ५२ जनामा पोजेटिभ देखिएको छ । बनेपा पछि महाभारत गाउँपालिकाले धेरै परिक्षण गरेको छ । ३ सय १ जनाको परिक्षण गरिएकोमा १ सय ११ जनामा पोजेटिभ देखिएको छ । १ हजार थान किट पालिकाले लगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै पनौती नगरपालिकाले १ सय ३३ जनाको परिक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएको छ । पाँचखाल नगरपालिकामा १ सय १८ जनाको परिक्षणमा ३५ जनामा पोजेटिभ देखिएको छ । नमोबुद्ध नगरपालिकाले १ सय ४० जनाको परिक्षण गराउँदा ५ जनाको पोजेटिभ देखिएको छ । मण्डन देउपुर नगरपालिकामा एन्टिजेन परिक्षण गरिएको छैन । भुम्लु गाउँपालिकामा ९४ वटा किट मार्फत परिक्षण गरिएकोमा १९ जनाको पोजेटिभ भएको छ । चौरीदेउराली गाउँपालिकामा जम्मा ८ जनाको मात्रै परिक्षण गरिएको छ । जसमा ५ जनामा पोजेटिभ देखाएको कार्यालयले जानकारी दिएको छ । तेमाल गाउँपालिकामा २ सय २२ जनाको परिक्षण गरिएकोमा १९ जनाको पोजेटिभ देखिएको छ । रोशी गाउँपालिकामा २६ जनामा २ जना पोजेटिभ, बेथान्चोकमा १ सय १७ जनामा २० जना पोजेटिभ, खानिखोलामा ५० जनामा ३८ जना पोजेटिभ देखिएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेले २५ जनाको परिक्षण गरेकोमा ९ जनामा पोजेटिभ देखिएको छ । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ८ जनाको परिक्षणमा ४ जना संक्रमित देखिएका छन् । मेथिन्कोट अस्पतालमा ५६ जनामा २९ जना संक्रमित देखिएका छन् । १ हजार ८ सय ९४ जनाको परिक्षण गरिएकोमा १ हजार ५ सय ९ जनामा पोजेटिभ देखिएको छ । पालिकाहरुले तत्कालका लागि अत्यावश्यक हुन सक्ने भन्दै एन्टिजेनलाई स्टोर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्