स्याङ्जामा चौथोेपटक निषेधाज्ञा थप, जेठ ३१ गतेसम्म जारी रहने



भूूपराज बस्याल, स्याङ्जा ।

कोरोना संक्रमणको दर ग्रामिण क्षेत्रका बस्तीमा बढ्दो रुपमा देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक साताका लागि निषेधाज्ञा थपेको छ । संक्रमण न्युनिकरणको एक मात्र उपाय भनेको निषेधाज्ञा नै सवल पक्ष रहेको भन्दै प्रशासनले जेठ ३१ गते सम्मका लागि बढाएको हो । बैशाख २१ गतेदेखि शुरु गरेको निषेधाज्ञा जेठ ३१ गते सम्म लम्वाएको छ । प्रशासनले थपेको निषेधाज्ञा यो चौथो पटक हो । जेठ २५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ ३१ गते सम्म प¥याइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

निषेधाज्ञामा कुनै नयाँ निर्देशन नआएपनि सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने दावी प्रशासनले गरेको छ । औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले हस्ताक्षर गरेको जारी आदेशमा उल्लेख गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।

कोरोनाको दोस्रो लहर चलेसँगै जिल्लामा हालसम्म ९३ ज्यान गुमाएका छन भने दुई हजार छ सय ६३ जना संक्रमित मध्ये एक हजार दुई सय ९३ सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म १ हजार २ सय ६० कोरोना जितेर निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार होम आइसोलेनमा १ हजार १ सय ९० जना, आइसोलेसन सेन्टरमा ३७ जना र विभिन्न स्वास्थ्य संस्थामा ६६ जनाको उपचार भइरहेको जनाएको छ । सक्रिय संक्रमित र निको हने संक्रमित बराबरीको हाराहारीमा आएकाले अब केही हदसम्म संक्रमण न्युनिकरण हुनेमा विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्