पर्सामा सक्रिय संक्रमितको संख्या घट्दै



कृष्णउदास खनाल, वीरगन्ज ।

दोश्रो लहरमा पनि कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा सकृय कोरोना संक्रमतिको संख्या घटेको छ । सोमबारसम्ममा पर्सामा कोरोनाबाट संकृय संक्रमित भएकाहरुको संख्या पाँच सयबाट तल झरेको हो । जिल्लामा अब ४ सय ३७ जना सकृय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमण दर र संक्रमितको संख्या घट्दै गएर अवस्था सुधार हुदै गएको छ । जसका कारण अस्पताल र आइशोलेसन सेन्टरमा शैय्या पनि खाली हुदै गएका छन् ।बैशाख अन्तिम साता देखि निरन्तर घट्दै गएको संक्रमण दर , जेठ तेश्रो साता यता १० प्रतिशतमा झरेको छ । जेठ दोश्रो साता ३१ प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर अझै घटेर अहिले १० प्रतिशतमा झरेको हो । दोश्रो लहर शुरु भएपछि वीरगन्जमा बैशाख दोश्रो र तेश्रो साता तिर संक्रमण दर ह्वात्तै बढेर ७० प्रतिशत भन्दा माथि पुगेको थियो । बैशाख १६ गते देखि लगाइएको निषेधाज्ञाका कारण संक्रमणको चेन ब्रेक भएर संक्रमण दर र संक्रमितको संंख्या घट्दै गएको हो ।

वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो एक हप्ता यता दिनहु गरिएको पीसीआर परिक्षणमा संक्रमण दर औसतमा १० प्रतिशत रहेको अस्पतालका निमित्त मेसु बीरेन्द्र प्रधानले जानकारी दिनुभयो । जेठ १६ देखि जेठ २२ सम्म ७ दिनको अवधीमा ७२१ जना निको भएका छन् । दोश्रो लहरमा बैशाख १५ देखि जेठ २२ सम्म पर्सा जिल्लामा २ हजार ४ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भइ निको भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो । एक हप्ता यता नयाँ थपिने संक्रमितको संख्या निरन्तर कम हुदै गएको र निको हुनेको संख्या बढ्दै गएकाले अस्पताल र आइशोलेसन सेन्टरहरुमा शैया खालि हुदै गएको छ ।

कोरोना संक्रमतिको उपचारका लागि अस्पताल र आइशोलेसन सेन्टरमा गरि ७ सय ३१ शैयाको व्यवस्थापन गरिएको छ । तर अहिले ती सबैमा गरि ८४ जना मात्र संक्रमित भर्ना छन् । बाँकी ६ सय ६ वटा शैया खाली रहेको श्रीवास्तवले जानकारी दिनुभयो ।यस्तै होम आइशोलेसनमा ३ सय ७६ जना मात्र संक्रमित रहेको श्रीवास्तवले जानकारी दिनुभयो । कोरोना संक्रमणको दर न्यूनिकरण गर्ने उद्देश्यले पर्सामा बैशाख १६ गतेबाट लगाइएको निशेधाज्ञा जेठ ३० गतेसम्मका लागि लम्बाइएको छ । यहीबीचमा वीरगन्ज महानगरपालिकाले असार १ गतेबाट बिद्यालय बिद्यार्थीहरुको भौतिक उपस्थितिमा नै संचालन गर्ने निर्णय गरिसकेका कारण अब निशेधाज्ञा हट्ने अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्