निवर्तमान मन्त्री आलेले बुझाए मन्त्री हुँदा पाएका सरकारी सामान

64.67k
Shares

विमल विष्ट, काठमाडौं ।

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफु मन्त्री हुँदा पाएका सम्पूर्ण सरकारी सामान बुझनु भएको छ । मन्त्री हुँदा लिनु भएका सरकारी तथा उहाँको सचिवालयले लिएका गाडी र अन्य सामाग्रीहरु आज मन्त्रालयमै गएर बरबुझारत गर्नु भएको वन तथा वातावरण मन्त्रालयका अधिकृत रविन ज्ञालनले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्री हुँदा पाउनु भएका दुइ गाडी, दुइ मोटरसाइकिल, ल्यापटप र क्यामेरा बुझाउनु भएको हो ।
निवर्तमान मन्त्री आलेले शुक्रबार नै गाडी बुझाउनु भएको थियो भने उहाँको सचिवालयका कर्मचारीले आज आइतबार सरकारी सम्पती बुझाएका हुन् । आलेले आफु मन्त्री भएको समयमा मन्त्रालयको खर्चमा कालोचिया बाहेक अन्य कुनै पनि खाद्य पदार्थ नखाएको समेत दाबी गर्नु भएको छ ।

उहाँले भन्नुभयो, “मन्त्री हुँदा मैले मन्त्रालयको कालो चिया मात्रै खाएको छु, खाजा पनि आफ्नै रकमले आएको छु ।”यसैगरी निवर्तमान मन्त्री आलेले आफु पद बाहिर रहदा पनि नागरिकको सेवामा सधै कटिबद्ध भएर लाग्ने बताउनु भएको छ । “म राजनितीमा लागेदेखि नागरिकको सेवा र देशको हित हुँने काममात्रै लागेको छु, अब पनि मेरो काम त्यहि हुँने छ” उहाँले भन्नुभयो, “म मन्त्री हुँदा नागरिकलाई समस्या भएको खबर पाएपछि व्यक्तिगत खर्च गरेर औषधी, अक्सिजन किनेर पठाए, अझपनि नागरिकका शुख दुःखमा साथ दिन्छु ।”

यसैगरी निवर्तमान मन्त्री आलेले आफुले करिब पाँच महिने कार्यकालको अवधीमा देशको हितविपरितका कुनैपनि काम नगरेको बताउनु हुँदै आफ्नो कार्यकालमा गरिएका काम नागरिक र देशको हितका लागि गरेको समेत दाबी गर्नुभयो । कोभिड—१९ महामारीका कारण नागरिकलाई परेको समस्या समाधानका लागि आफु अहोरात्र खटिएर सेवामा लागेको समेत बताउनुभयो । काम गर्ने सिलसिलामा केही आलोचना तथा कमिकम्जोरी भएका वा हुँने गरेपनि त्यसलाई आफुले सिकाइका रुपमा लिएको तथा अझै सचेत भएर थप राम्रा गर्ने हौसला प्रदान भएको समेत निवर्तमान मन्त्री आलेले बताउनुभयो ।