तातो फलामले श्रीमती पोलिदिएपछि प्रहरीमा उजुरी

19.36k
Shares

सीताराम अधिकारी, धादिङ ।

नीलकण्ठ नगरपालिका –१२ की २५ वर्षीया सन्तोषी गौलीलाई सुतेको अवस्थामा उनका पति ३२ वर्षीय कपिल भट्टले तातो फलामले पोलेर घाइते पारेका छन् । पतिले दुई वर्षदेखि लागातार कुटपिट गरेर ज्यान मार्न खोजेका कारण घटनापछि प्रभावित महिलाले घर छाडेर सुरक्षित आवास गृृहको शरण लिन पुग्नुभएको छ । घर छाडेर सहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहमा पुग्नु भएकी गौली अब आफ्नो माइती घर समेत जान नस्कने र बस्ने ठाउँ नभएको बताउनुभयो ।

पीडितले आरोपितलाई कारबाहीको माग गर्दै आईतबार जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिनुभएको छ । सोही दिन धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आफू अब कुनैपनि हालतमा त्यो घर फर्कन नसक्ने पीडितले बताउनु भएको छ । घटना भएको दिन पीडितले १०० मा कल गरेर आफूलाई पतिले तातो फलामले पोलेर मार्न खोजेकोले बचाउन आग्रह गर्दा प्रहरीले श्रीमान श्रीमतिको झगडा रहेछ मिलेर बस्नु भनेकोले आफूले सुरक्षाको अनुभव समेत गर्न नसकेको पीडितको गुनासो छ ।

यसअघि ०७७ पुस १५ गते पनि आफूमाथी आरोपितले कुटपिट गर्दै घाँटी थिचेर मार्न खोजेपछि जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको समेत छानविन नभएकोले आफूलाई न्याय दिलाउन पीडित गौलीले आग्रह गर्नुभएको छ ।