जनप्रतिनिधि र कर्मचारीद्वारा अस्पताललाई अक्सिजन मेसिन सहयोग



प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आर्थिक सहयोग सङ्कलन गरेर बेनी अस्पताललाई अक्सिजन कन्सन्टे«टर मेसिन सहयोग गरेका छन् । जनप्रतिनिधिले आधा महिनाको सुविधा र कर्मचारीको स्वच्छिक रुपमा आर्थिक सहयोगमा ६ थान अक्सिजन कन्सन्टे«टर मेसिन खरिद गरी अस्पताललाई उपलब्ध गराएका हुन् ।

कुल चारलाख ८० हजार रुपैयाँमा खरिद गरिएको उक्त अक्सिजन कन्सन्टे«टर मेसिनहरु बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको छ । सहयोग हस्तान्तरण गरिएका मेसिनहरुको क्षमता प्रति मिनेट ५ लिटर रहेको बेनी नगरपालिकाले जनाएको छ ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमणदर बढ्दै गैरहेको अवस्थामा अस्पतालमा उपचार सेवा लिन आउने बिरामीलाई लक्षित गरेर कन्सन्टे«टर मेसिन सहयोग गरिएको उपप्रमुख बरुवालले बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक पर्ने थप उपकरणहरु पनि सहयोग गरिने बताउँदै यसअघि नगरपालिकामार्फत बेनी अस्पतालमा २० शैयाको आईसोलेसन वार्ड निर्माणमा झण्डै सातलाख रुपैयाँ सहयोग गरिएको बताउनुभयो ।

नगरपालिकाले प्रि–आईसोलेसन सञ्चालन, स्वाब सङ्कलनलगायत कार्यहरु गरिरहेको छ । कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने मेसिन कोरोनाको महामारीपछि पनि अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरुको लागि उपयोग गरिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । म्याग्दीमा हालसम्म कुल २ हजार ९३ जना कोरोना संक्रमितको संख्या पुगेकोमा अहिले २ सय ३३ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्