न्युज अफ नेपाल, हेटौंडा ।
आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका नवउपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको राजीनामा र जेलचलान गर्न माग गरिएको छ ।
सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुग्नुभएका महतोले शुक्रबार बहुलराष्ट्र राज्य स्थापना गर्ने पार्टीको एजेण्डा भएको अभिव्यक्ति दिएपछि उहाँ राष्ट्र विखण्डन गर्ने दिशामा अघि बढेको भन्दै आलोचना भइरहेको बेला मकवानपुर जागरण अभियानले मन्त्री महतोको भनाइको विरोधसहित राजीनामा माग गरेको हो ।
अभियान अध्यक्ष कृष्णराज कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ–राष्ट्र विखण्डनको अभिव्यक्ति दिने महतोलाई तत्काल मन्त्रीबाट बर्खास्त गरी राज्यद्रोहको मुद्धामा जेलचलान गर्न माग गर्दछौं ।
‘नेपाललाई एकल राज्य मान्न हामी तयार छैनौं, नेपाल बहुर्राष्ट्रिय राज्य हो, पहाड र तराई अलगअलग राज्यहरु हुन् भन्ने सूत्र भारतले आफ्ना दुतहरुमार्फत् तराईमा नियोजितरुपमा घुसाएर देश टुक्राटुक्रा पार्ने हेतुले गोप्यरुपमा प्रशिक्षणहरु दि“दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा बिगत लामो समयदेखि सीके राउत, महन्त ठाकुरहरुले तराईलाई छुट्टै देश बनाउन आफ्नो राजनीतिक दस्ताबेजमै यस मुद्धालाई समेटेको कुरा घामजत्तिकै छर्लङ भएको भन्दै त्यस्ता गतिविधि देख्दादेख्दै प्रधानमन्त्री केपी शर्माओलीले आफ्नो पद जोगाउनकै लागि देश बिखण्डनको अभिव्यक्ति दिने महतोलाई मन्त्री नियुक्त गर्नु अत्यन्त लज्जास्पद् र खेदजनक भएको दाबी गरिएको छ ।
महतोलाई पदबाट नहटाएमा सम्पूर्ण राष्ट्रवादी शक्ति र देशभक्त शक्ति मिलेर कोरोना महामारीकै बीच आन्दोलनमा होमिन बाध्य हुने चेतावनी दिइएको छ ।












प्रतिक्रिया