बुटवल पावर कम्पनिले नगर अस्पताललाई दियो स्वास्थ्य सामाग्री



अमृत अर्याल, स्याङजा ।

बुटवल पावर कम्पनी (विपिसी) ले गल्याङ नगर अस्पतालका लागि झण्डै ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गल्याङ नगर अस्पतालमा गरिएको एक कार्यक्रमका वीच विपिसी आँधिखोला जलविद्युत केन्द्रले अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरपालिका प्रमुख भुपराज अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले महत्वपूर्ण सामाग्री सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –‘बुटवल पावर कम्पनि र स्थानीय सरकारको रुपमा रहेको गल्याङ नगरपालिका बीच सुमधुर सम्बन्ध छ । यो सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्दछु ।’ नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकाको बन्दै गरेको प्रशासनिक भवन निर्माणका लागि जग्गाको विषयमा पनि बुटवल पावर कम्पनीले महत्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले नगरपालिकाको तर्फबाट आँधीखोला जलविद्युत केन्द्रका लागि सक्दो सहजिकरण र सहयोग गर्न आफु सधैं तयार रहेको बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष महेश भट्टराईले नगर अस्पतालका लागि विपिसीका तर्फबाट गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो । अस्पतालका सदस्य समेत रहनुभएका भट्टराईले महामारीको मिलेर सामना गर्नुपर्ने भन्दै यस्तै सहयोग सबै पक्षबाट गर्न आग्रह गर्नुभयो ।

बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले अस्पतालसँग समन्वय गरी अति आवश्यक सामाग्रीहरु कम्पनिको तर्फबाट सहयोग गरिएको बताउनुभयो । उहाँले गल्याङ नगरवासीको स्वास्थ्यलाभको लागि बुटवल पावर कम्पनी सधैं तत्पर रहेको बताउनुभयो ।

विपिसीले दुई वटा अक्सिजन कन्सन्टेटर, एक सय ५० वटा एण्टिजिन टेस्ट किट, ६ वटा अक्सिजन ग्याँस सिलिण्डर, १० वटा अक्सिजन रेगुलेटर, आठ वटा पल्स अक्सिमिटर, ३५ वटा पिपिई सेट र १५ वटा सर्जिकल पञ्जा सहयोग गरेको हो । यस्तै, १८ सय वटा मास्क, ८० लिटर हेण्ड सेनिटाइजर, ८० वटा फेस सिल्ड तथा ५०० वटा सर्जिकल हेड क्याप गरी कुल ६ लाख, ८७ हजार पाँच सय ४० रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्