कोरोना संक्रमितको आपतकालीन शल्यक्रिया


चिरञ्जीवी मास्के , दोलखा ।

दोलखा सदरमुकाममा रहेको चरिकोट अस्पतालले कोरोना संक्रमित सुत्केरी महिलाको आपत्कालीन शल्यक्रिया गरी बच्चा निकालेको छ । अस्पतालका प्रमुख डा. विनोद दंगाल, डा. धनलाल र नर्स रश्मिको टिमले सलतापूर्वक उक्त शल्यक्रिया गरेको थियो ।रामेछापको उमाकुण्ड गाँउपालिका– ४ को १९ वर्षीया लाप्ती शेर्पा पहिलो पटक गर्भवती भएकी थिइन् । जेठ २२ गतेको मिति दिईएको लाप्तीलाई ज्वरो, रुघा, खोकीसहित सामान्य प्रसूतिको लक्षणसमेत देखिएपछि उनी स्थानीय बाम्ती स्वास्थ्य चौकीमा गएकी थिइन् । बाम्ती स्वास्थ्य चौकीले कोरोनाको शंका गरेपछि उनी जेठ १४ गते थप उपचारकालागि चरिकोट अस्पताल आएकी थिइन् ।

सामान्य प्रसूतिको लक्षणसहित उपचारका लागि आएकी लाप्तीको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनमा कोरोनाको निमोनिया देखिएपछि अस्पतालले निमोनियाको उपचार शुरू गरेको थियो । निमोनियाको उपचारकै क्रममा उनलाई बेथा लागेको र सोहीक्रममा बच्चा अड्किएपछि उनको आपत्तकालीन शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डा. विनोद दंगालले बताउनुभयो ।बेथा लाग्ने क्रममा बच्चा अड्कियो भने निक्कै जोखिम हुन्छ । त्यसमाथि कोरोना संक्रमितको शल्यक्रिया गर्नु झन् जोखिम थियो, अस्पतालका डा.दंगालले भन्नुभयो – ‘तर हामीले निक्कै होसियारीपूर्वक शल्यक्रिया सफल गरेर सामान्य अवस्थामै छोरा जन्मियो ।’ कोरोना संक्रमितको यस्तो जोखिम शल्यक्रिया दोलखामा पहिलोपटक गरिएको पनि डा. दंगालले बताउनुभयो ।चरिकोट अस्पतालमा कोरोना संक्रमणको बेलामा समेत ७० जनालाई सामान्य अवस्थामा सुत्केरी सेवा दिइएको र १५ जनाको शल्यक्रियामार्फत सुत्केरी सेवा दिइएको डा. दंगालको भनाइ छ ।

चरिकोट अस्पतालमा रहेको पीसीआर प्रयोगशालामा अहिलेसम्म झण्डै ३५ सयको पीसीआर परीक्षण गरिएकोमा १३ सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ । त्यसमध्ये एक सय ४० जनालाई अस्पतालमा भर्ना गरी उपचार सेवा दिइएको डा. दंगालले बताउनुभयो ।अस्पतालमा कोरोना संक्रमित विरामीसँगै दोलखा तथा आसपासका जिल्लाबाट अन्य बिरामीहरूसमेत आउन थालेपछि अक्सिजन अभाव हुन नदिन अस्पताल आफैले अक्सिजन प्लान्ट राख्ने थालेको र त्यसको प्रक्रिया अघि बढी सकेकोले एक डेढ महिनाभित्रै प्लान्ट जडान हुने अस्पतालका अध्यक्ष एवं भीमेश्वर नगरपालकाका प्रमुख भरतबहादुर केसीले बताउनुभयो ।हालसालै राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा अस्पतालमा अक्सिजन उत्पादन मेसिन समेत राखिएको अस्पतालले जनाएको छ । चीन सरकारले उपलब्ध गराएको उक्त मेसिन राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेती र दोलखा अध्यक्ष राजनबहादुर शिवाकोटीको विशेष पहलमा चरिकोट अस्पतालमा ल्याइएको थियो ।कोरोना महामारीमा अस्पताललाई सहयोगकोरोना महामारीमा जिल्ला भरीकै रेफेरल सेन्टर बनेको चरिकोट अस्पताललाई अन्य निकायहरूले समेत विभिन्न स्वास्थ्य सामग्री र खाद्यान्न सहयोगसमेत गरेको छ ।

दोलखाका युवा अभियन्ताहरू गोकर्ण भण्डारी, श्रृजन घिमिरे, सुजन काफ्ले, ध्रुव आचार्य, भरत श्रेष्ठ, पुष्कर अधिकारी, सुवास वस्नेत लगायतले विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिमार्फत चरिकोट अस्पताललाई १० थान ठूलो अक्सिजन सिलिन्डर र पाँच थान रेगुलेटर सहयोग गरेको छ । अक्सिजन किन्न मेरो एक हजार अभियानअन्र्तगत सङ्कलित रकमले युवाहरूले उक्त सहयोग गरेका थिए । उनीहरूले जिरी, बैतेश्वर र सिंगटी अस्पताललाई पनि पाँच÷पाँच थान अक्सिजन सिलिन्डर र केहि रेगुलेटर सहयोग गरेका थिए ।चरिकोट अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित, उनीहरूको सहयोगी र स्वास्थ्यकर्मीहरूलाई लालिगुँरास युवा क्लव चरिकोटले विगत एक महिनादेखि खाना र खाजा उपलब्ध गराइरहेको क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो ।त्यसैगरी, बोधिसत्वा विहारका सुप्रिम मास्टर हेगुवाङसीको सहयोग तथा अन्तर्राष्ट्रिय समन्वय समाज र योगदान राष्ट्रका लागि दोलखाको पहलमा चरिकोट अस्पताललाई ६५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध भएको अस्पतालले जनाएको छ ।