दुई हप्ता लाग्ने पीसीआर रिर्पोट दुई दिनमै आउन थाल्यो



न्युज अफ नेपाल, पर्वत ।

गत वैशाख ३१ गते पर्वतको कुश्मा नगरपालिका–१ पाङका ७७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाइयो। जसको नतिजा आउन १० दिन लाग्यो। स्वाब परीक्षण नतिजा लामो समयसम्म नआउँदा गाउँलेहरु चिन्तामा परे। रिपोर्ट नआएकै कारण स्वाब दिएकाहरु लामो समय आइसोलेसनमा बस्न नसक्ने भन्दै काम निस्किन बाध्य भए। एकजनाले त रिर्पोट नआउँदै ज्यान समेत गुमाए । गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या थपिएको थपियै गर्दा पर्वतको पाङ जस्तै अन्य ठाउँ र अन्य जिल्लाबाट पठाइएका स्वाब नमूना परीक्षण रिपोर्ट पनि समयमा प्राप्त भएनन्। यसो हुँदा संक्रमितहरुको व्यवस्थापनमा निकै सकस भयो। सीमित ठाउँमा परीक्षण हुने, तर प्रदेशका ११ वटा जिल्लाबाट धेरै संख्यमा पठाइँदा पीसीआर परीक्षण नतिजा समयमा नै दिन नसक्ने अवस्था रहेको थियो।

तर, पछिल्ला केही संक्रमितहरु थपिने क्रम ओरालो लाग्दै जाँदा स्वाब पठाइएको २४ घण्टामा नै नतिजा प्राप्त हुन थालेको छ। जिल्लाहरुमा परीक्षणको दायरा फराकिलो बनाउन एन्टिजेन परीक्षणको संख्या बढाइँदा पीसीआर परीक्षणमा चाप कम भएपछि समयमा रिपोर्ट उपलब्ध भएको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) पर्वतका सूचना अधिकारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले पनि पीसीआरको लागि पठाइने नमूनाको संख्या कम हुँदै गएपछि अहिले समयमा नै नतिजा आएको बताउनुहुन्छ ।

पर्वतबाट मात्रै एकै दिनमा करिब १ सय ८० जनासम्मको स्वाब पीसीआरको लागि पठाइने गरिएकोमा यो संख्या घटेर अहिले करिब ५०÷६० मा झरेको छ। ‘अहिले पीसीआरको नतिजा पाउनको लागि वेटीङमा बस्नुपरेको छैन। २४ घण्टामा नै नतिजा आएका कारण व्यवस्थापनमा सहज भएको छ। आजको भोलिपल्टै नतिजा आएको छ। पाङको जस्तो समस्या अहिले हटेको छ।’ उहाँले भन्नुभयोे, ‘परीक्षणको दायरा बढाउन उच्च मात्रामा एन्टिजेन परीक्षण गर्ने गरिएको छ। एन्टिजेनबाट ठाउँको ठाउँ नतिजा आउँदा पीसीआरमा भन्दा एन्टिजेनमा ध्यान दिइएको छ।’

कुश्मा नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले केही दिन अघिसम्म नतिजा आउन ढिलाइ हुँदा संक्रमण झनै फैलने खतरा रहेको भएपनि पछिल्ला केही दिनमा भने समयमा नै रिपोर्ट आउन थालेपछि सहज भएको बताउनुहुन्छ । ‘पाङमा वैशाख ३१ गते लिइएको ७७ जनाको स्वाबको रिपोर्ट १० दिनपछि आयो। स्वाब दिएका मान्छे आइसोलेसनमा बस्नुपर्ने नियम अनुसार त्यो मान्छे १० दिन आइसोलेसनमा, अनि रिपोर्ट पोजेटिभ आएपछि फेरि १४÷१५ दिन आइसोलेसनमा बस्नुपर्ने! एउटै मान्छे करिब एक महिना आइसोलेसनमा कसरी बस्ने?’ उहाँले भन्नुभयो ‘पीसीआरको रिपोर्ट ढिला आउने समस्याका कारण हामीले एन्टिजेन परीक्षणको मात्रा बढायौँ। जसका कारण पीसीआर परीक्षणको चाप घट्दा अहिले समयमा नै रिपोर्ट आउन थालेको छ।’

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले राखेको तथ्यांकमा जेठ १३ गते सबैभन्दा बढी ३३ सय ९९ जनाको स्वाब परीक्षण गरिएको उल्लेख छ। तर जेठ १४ गते पछि भने २४ घण्टामा ११ सय देखि १८ सय स्वाबको परीक्षण गरिएको छ। जसमा संक्रमितहरुको संख्या पनि घट्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्