मण्डनदेउपुरमा बजेट प्राथमिकता, ‘मण्डन शहरी पूर्वाधार’ दीर्घकालिन विकासको मार्गचित्र



होम चौंलागाई, काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोक जिल्ला संघीय राजधानी काठमाडौं नजिकको बैकल्पिक शहरी सम्भावनाको जिल्ला हो । यहाँ बनेपा, धुलिखेल, पनौती नमोवुद्ध, पाँचखाल र मण्डनदेउपुर सहित ६ ओटा नगरपलिका र चौंरीदेउराली, भुम्लु, तेमाल, रोशी, बेथानचोक, महाभाारत र खानीखोला सहित ७ गाउँपालिका रहेका छन् ।

ती १३ तह मध्येको सबैभन्दा पछि अर्थात स्थानीय तहको पुनःसंरचना हुने बेला घोषणा भएको नगरपालिका हो ‘मण्डनदेउपुर’ । त्यसैले पनि होला यहाँका राजनैतिक दल र नगरपालिकामा निर्वाचित जन प्रतिनिधिहरुले अरु विर्सिए पनि कहिल्यै नविर्सने एउटै शब्दावली छ जिल्लाकै ‘कान्छो नगरपालिका’ ।

मण्डनदेउपुर भैगोलिक हिसाबले आलौकिक विविधता भएको नगरपालिका हो । नगर र शहरी विकासमा यसले धेरै फड्को मार्न बाँकी छ । यसको क्षेत्रफल शहरी दृश्यावलोकन गर्र्ने पर्यटकीय नगरी नगरकोट देखि खोला नालाको दृश्यावलोकन गर्ने बेसीको दोलालघाट छेउ ज्याम्दीसम्म लमतन्न छ ।

वातावरणको हिसवाले पनि फरक खालको छ । फरक फरक वातावरण भएको नगरपालिका हो मण्डनदेउपुर । यहाँको भूगोलमा जाडो देखि खपिनसक्नुको गर्मी मौसमको अनुभव गर्न सकिन्छ । ज्याम्दी, चण्डेनी, जैसिथोक र कुन्तावेसी, सिपाघाट लगायत मण्डनको वेसी भेगको गर्मी छल्न खोज्ने हो भने १८ कि.मी.को दूरी भित्र नाल्दुम, नगरकोट, नयाँगाउँ लगायतका देउपुर भेगको आनन्दित चिसो महसुश गर्न सकिन्छ ।

एकै साथ कृषि र पर्यटनको क्षेत्रमा प्रचुर काम गर्न सकिने थुप्रै सम्भावनाहरु छन् । नगरकोटमा आएका पर्यटकहरु चाहे ती आन्तरिक हुन् वा बाह्य तिनलाई नयाँगाउँ र देउपुर भेगको आनन्द लिंदै मण्डनका थानडाँडा सुलिकोट, जितारी पोखरी, मैदानका मनोरम दृश्य, ज्याम्दीको वुद्ध थुम्का, रामपुर र देउराली लगायतका डाँडाहरुमा शयर गराउन सकिन्छ ।

बाह्रै महिना हरियाली हेर्ने हो भने पनि कुन्तावेसी, सिपाघाट र जैसिथोक, चण्डेनीबेसी जोगिटार, सान्डीबेसी, ठूल्ठी लगायतका मनोरम हरियालीको कमी छैन । चैत्रमा धान मकै, असारमा पुनः धान, कार्तिक मंसिरमा आलु यहाँको पूरानो खेती प्रणाली हो । पूरानो खेती बालीको अलावा यहाँका विभिन्न भूगोलहरुमा थुप्रै र विभिन्न खाले तरकारीहरुको समेत उब्जनी हुने गर्दछ ।

यहाँ थुप्रै रमणीय ठउँहरु छन् । मठ मन्दिर र पाटी पौवाको कुरा गर्ने हो भने यहाँ माई ब्रम्हयणी, उमादेवी माई, कश्यपेश्वर महादेव लगायत थुप्रै मठ मन्दिरहरु रहेका छन् । विगतलाई नियालेर हेर्ने हो भने पनि यो एउटा काठमाडौं प्रवेश गर्ने महत्वपूर्ण नाका पनि हो ।

सिन्धुपाल्चोक, दोलखा र कोशीपूर्वका मानिसहरु गैह्रिविसौना हुँदै नगरकोटबाट भक्तपुर र काठमाडौं प्रवेश गर्ने गरेको इतिहास छ । यसको ज्वलन्त उदाहरणको रुपमा यस भेगको नर्वन्दा पाटी, गैह्रिविसौना कुन्तावेसी, हिंगुवापाटी लगायतका ठाउँहरुमा भएको पूरानो पाटी पौवाहरु हुन् । जुन नासिंदै र मासिंदै जान थालेका छन् ।

यी र यस खाले थुप्रै कुराहरुको समायोजन हो मण्डनदेउपुर नगरपालिका । त्यति मात्र नभएर हिजोको नयाँगाउ देउपुर, वालुवापाटी देउपुर र गैह्रिविौना देउपुर सहितको ३ देउपुर अनि जैसिथोक मण्डन, महादेवस्थान मण्डन, चण्डेनी मण्डन र ज्याम्दी मण्डन सहितको ४ मण्डनको संगालो पनि हो काभ्रेको मण्डनदेउपुर ।

त्यसैले यी र यावत कुराहरुको दीर्घकालिन विकासको लामो सोच र बिचारको नाम हो ‘मण्डन शहरी पूर्वाधार’ । नेपाल सरकारले यस पटक ल्याएको जनपक्षीय बजेटमा काभ्रेका धेरै कुरा र विषय वस्तुहरु समेटिएका छन् । त्यस मध्ये अलिक फरक र नयाँ कुराको रुपमा धेरैले चर्चा गर्दै र चासो राख्दै आएको विषय हो मण्डनदेउपुर भेगको दीर्घकालिन मार्ग चित्र अर्थात ‘मण्डन शहरी पूर्वाधार’ ।

अरु धेरै कुराको बाबजुद के चाहिं पक्कै हो भने काभ्रेको मण्डनदेउपुर सबैभन्दा पछि बनेको नगरपालिका हो । कान्छो भएर विकासले गति लिन सक्दैन । हामी पछि बनेको नगरपालिका भने निच मारी बस्ने र त्यसैलाई एउटा कारण मानि रहने हो भने विकास चाँहि कहिले हुने भन्ने प्रश्न उठिरहन्छ । त्यसैले मण्डनदेउपुरलाई जहिल्यै कान्छो नगरपालिकाको भाषणबाजीबाट माथी उठाउन यहाँका प्रकृतिक सम्पदा, वन पैदावर, खोला नाला, कृषियोग्य जमिन, पर्यटनको प्रवद्र्धन, जलचर तथा सिमसारको संरक्षण, पाटीपौवा वन जंगल र मठ मन्दिरको समुचित विकास तथा प्रवद्धन, नगर स्तरीय वृहत खानेपानीको कार्यक्रम, खोलानालाको उचित व्यवस्थापन र करिडोर निर्माण, बैकल्पिक सडक मार्गहरु, विभिन्न खालका चिल्ड्रेन तथा मनोरञ्जन पार्कहरु, शहरिकरण वढ्दै जाँदा उत्पन्न हुने ढल व्यवस्थापन, विभिन्न खालका कुहिने र नकुहिने खालका फोहोर मैलाको व्यवथापन र प्रशोधन, सडकहरुको स्तरोन्नती, खानी तथा उत्खननजन्य वस्तुको उचित व्यवस्थापन र संरक्षण लगायतका कुराहरुको समुच्च अध्ययन र त्यसको दीर्घकालिन विकासको फड्कोको नाम हो खास अर्थमा ‘मण्डन शहरी पूर्वाधार’ ।

तुलनात्मक कुरा गर्ने हो भने पनि काभ्रेका अरु नगरपालिकाहरुको तुलनाका पूर्वाधारका हिसाबले धेरै कामहरु गर्न बाँकी रहेको नगरपालिका हो मण्डनदेउपुर । भर्खर अस्पताल बन्दै छ । नगरको प्रशासनिक भवन बन्ने क्रममा छ । वडा कार्यालयहरुदेखि धेरै कार्यालयहरु भाडामा संचालित छन् । एम्बुलेन्सको पर्याप्तता छैन । डँडेलो र आगलाजी जस्ता विकराल समस्या समाधानका लागि दमकलको व्यवस्था छैन । नगरमा एकिकृत प्रहरी कार्यालय छैन । एउटा नगरमा ५ तिरको अस्थायी प्रहरी पोष्टमार्फत काम गर्नुपर्ने वातावरण छ । बाटाघाटा वर्षातमा हिलाम्मै र हिंउँदमा धुलाम्मै हुने अवस्था कायमै छ । वर्ष साल त्यहि पूरानै सडकको मर्मत र ग्राभेलका नाममा पैसा राख्ने चलन छ ।

दीर्घकालिन योजना र सोचका साथ कामहरु नगरिंदा विकासे बजेटको खासै प्रभावकारिता देखिन सकिरहेको छैन । असार मसान्त सम्ममा ग्राभेल हुने र भदौ नसकिंदै जस्ताको त्यस्तै हुने दूरावस्था कायम नै छ । यावत कारणले काभ्रेका सबै नगरपालिकाहरुमा भन्दा विल्कुल फरक खालको कार्यक्रम ‘मण्डन शहरी विकास’ को अवधारणा अगाडी सारिएको हो । माथि उल्लेखित सबै खालका कामहरु गर्न एकै वर्षमा र एउटै आर्थिक वर्षको सिमित बजेटले सम्भव पनि छैन ।

जिल्लाकै पूराना नगरपालिकाहरुको सन्दर्भमा कुरा गर्ने हो भने पनि एक दुई साल अगाडीबाट जम्माजम्मी ४/५ करोडको बजेटबाट शुरु गरिएका शहरी विकास र पूर्वाधारका कार्यक्रमहरु आज अरबौं र त्यति मात्र नभएर स्मार्ट सिटीको तहमा पुग्न थालेको छ । मण्डनदेउपुरले ठ्याक्कै त्यसलाई जस्ताको त्यस्तै पछ्याउने भन्दा पनि यहाँको भूगोल र माटो सुहाउँदो विकासे मर्ग चित्र कोर्न ढिला भैसकेको छ ।

त्यसैले यस आर्थिक वर्षबाट ३ करोड बजेट मार्फत ‘मण्डन शहरी पूर्वाधार’ अन्तर्गत यी सबै विषय वस्तुहरु समेटीे दीर्घकालिन सम्भाब्यता अध्ययनको सशक्त थालनी हुने छ । प्रारम्भिक रुपमा ३÷४ करोड मात्र बजेटबाट शुरु गरी आगामी आर्थिक वर्षहरुमा यसको क्षेत्र र दायरा फराकिलो पार्दै ५ देखि १० वर्ष भित्रमा मण्डनदेउपुर नगरपालिकालाई भाषणबाजीको कान्छो नगरपालिकाबाट माथी उठाई हामी काभ्रेका ६ ओटा नगरपालिकाहरु मध्येको एक भन्ने अभियानमा नगरलाई अगाडी वढाउने ‘मण्डन शहरी विकास’ जस्तो महत्वपूर्ण कार्यक्रम अगाडी सार्नु भएकोमा नेपाल सरकारका पूर्व प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्रि माननीय गोकुल बास्कोटालाई हार्दिक धन्यवाद दिन चाहन्छौं । आशा गरौं, उहाँको त्यसखालको मार्ग चित्रमा टेक्दै अगाडी वढ्न सके हामी मण्डनदेउपुर बासीको विकासले उच्च गति लिने छ । जय मण्डनदेउपुर । जय ‘मण्डन शहरी पूर्वाधार’ ।

प्रतिक्रिया दिनुहोस्