काभ्रेपलाञ्चोक जिल्लामा निषेधाज्ञामा कडाई, जेठ मसान्तसम्म थपिदै

मुल्य बृद्धीको गुनासो सँगै बजार अनुगमन



मोतीराम तिमल्सिना, काभ्रे । 

काभ्रेपलाञ्चोक जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म थपिने भएको छ । शनिबार रातिबाट सकिने निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्न बजार अनुगमनलाई प्रभावकारी बनाईएको छ । संकटको बेला बजारमुल्य बृद्धी भएको गुनासोसँगै बजार अनुगमन गरिएको हो ।‘कोरोना भाईरसको संक्रमण बढिरहेको छ, संक्रमणका कारण निधन हुनेहरुको संख्यामा पनि कमि भएको छैन’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘संक्रमण रोक्न रनागरिकहरुको स्वास्थ्यलाई ख्याल गरी जारी निषेधाज्ञाको अवधी जेठ मसान्तसम्म बढाउने तयारी गरिएको छ । शुक्रबार निषेधाज्ञाको अवधी थप गरिनेछ ।’

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले पनि निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेको हो । उक्त अवधीमा अत्यावश्यक सेवा दुध, तरकारी, खाद्यान्न, कुखुरा, दाना चल्ला, गाईभैसीको दाना लगायतलाई सहज बनाईने छ भने कृषकहरुको उपज, मल, विउ निर्यात तथा आयातलाई पनि सहज बनाईनेछ । रातको समय ९ बजे देखि विहान ४ बजेसम्म निर्माण सामाग्री बोकेका सवारी साधन पनि चल्नेछन् । प्रमुख जिल्ला अधिकारी पोखरेललले संक्रमण फैलन नदिन निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गरिने बताउनु भयो ।

त्यसै अनुरुप बनेपा बजारको शुक्रबार विहान आकस्मिक रुपमा अनुगमन गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको टोलीले अत्यावश्यक बाहेक अन्य पसल खोलेर बस्ने ब्यवसायीहरुलाई तत्काल बन्द गर्न र अटेर गरे संक्रमक रोग ऐन अन्र्तगत कारवाही गर्ने चेतावनी दिएको छ । अत्यावश्यक सेवा खोल्ने अवधीमा बनेपामा सबै खालका पसल खोल्दा भिडभाड बढ्न गई संक्रमण फैलन सक्ने भएकाले त्यसको रोकथामका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । अनुगमनका क्रममा बजार मुल्य बृद्धी भएका सम्वन्धमा नागरिकहरुको गुनासोलाई समेत टोलीले अनुगमन गरेको थियो ।

तत्काल मुल्य बृद्धी भएको गेडागुडी, दाल, चामल, तेल, चिनी लगायतका बस्तुहरुमा भएको कृत्रिम मुल्य बृद्धीका सम्वन्धमा अनुगमन टोलीले दर रेट संकलन गरेको छ । ‘एउटै स्थानबाट आउने सामाग्रीहरुको मुल्य पनि पसल नै पिच्छे फरक फरक पाईयो’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘हामी त्यसको अध्ययन पछि कारवाहीको प्रकृया शुरु गर्छाैं ।मुल्य बृद्धी हुनुको कारण के हो ? कसरी बढ्यो ? त्यसको बारेमा थप अध्ययन पछि कारवाही हुन्छ ।’ चामलमा होलसेल मुल्यमा २५ केजी बराबर १ सय ८० रुपैयासम्म मुल्य बृद्धी भएको उपभोक्ताहरुको गुनासो छ ।

अनुगमनका क्रममा ब्यवसायीहरुले कसैले मुल्य बृद्धी नभएको, कसैले एक सय रुपैयासम्म बृद्धी भएको र कसैकसैले ५० रुपैयासम्म बढेको बताएका थिए । ढुवानी महङ्गो भएको, उद्योगले पनि मुल्य बृद्धी गरेको, धान तथा अन्य कच्चा पदार्थको मुल्य बृद्धीका कारण समस्या भएको ब्यवसायीहरुले बताएका छन् । मुल्य बृद्धी नरोके संक्रमण रोग ऐन अन्र्तगत कालोबजारी गरेको अभियोगमा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।

भैरहवाबाट बनेपासम्म आउने १२ चक्के १० टन बोक्ने गाडीको भाडा २५ हजार भन्दा धेरै नभएको चालकहरुले बताएका छन् । गाडी भाडा बढेको देखाएर मुल्य बृद्धी गर्न नहुने चालकहरुले बताएका छन् । अनुगमन टोलीमा डिएस्पी हरि खतिवडा, शशस्त्र प्रहरी बलको टोली, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख डिएस्पी अरुण कार्की, जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईराला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेश थापा, बनेपा नगरपालिकाका अधिकृत धु्रर्व नेपाल, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्