नेपालद्वारा चाइनिज ताइपेई पराजित



काठमाडौं ।

कतार फिफा विश्वकप–२०२२ र एसियन कप–२०२३ का लागि जारी एसिया क्षेत्रको छनोट चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ ।बिहीबार राति भएको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

उच्च तापक्रम रहेको कुवेतमा नेपालले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । नेपालका लागि अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गरेका हुन् । चाइनिज ताइपेईका खेलाडीले नेपालको फ्री किक प्रहार छेक्नेक्रममा डीबक्सभित्र बललाई हातले छोएपछि रेफ्रीले सोझै नेपाललाई पेनाल्टी हान्ने अवसर दिएका थिए ।जसमा नेपालका खेलाडी अन्जनले दायाँ बार च्याप्दै हानेको बलले जाली चुमेको थियो । सोही गोलको मद्दतमा नेपालले पहिलो हाफसम्म १–० को अग्रता बनाएको थियो । त्यसबाहेक अन्जनले नै पहिलो हाफमा गरेको एउटा खतरानाक प्रयासलाई ताइपेईका गोलरक्षकले मुस्किलले बचाएका थिए ।

दोस्रो हाफमा बल पोजेसनमा सुधार गर्दै थप आक्रामक खेल रणनीति लिएको नेपालले दोस्रो गोल खेलको ८०औं मिनेटमा गर्‍यो । सुमन अर्यालले उत्कृष्ट मुभ बनाउँदै दिएको पासमा वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका नवयुग श्रेष्ठले डीबक्स भित्र वान टच प्रहारमा बललाई गोलपोस्टको जाली चुमाए । त्यसपछि बाँकी रहेको समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल नेपालले २–० ले जित्यो ।यो जितसँगै नेपालले छनोट चरणमा दोस्रो जित निकालेको छ । नेपालले फिफा वरीयतामा आफूभन्दा माथिल्लो टोलीविरुद्ध सहज जित निकाल्दै एसियन कप छनोटको सम्भावना बढाएको छ । यो जितका साथ नेपालको विश्वकप छनोटको अर्को चरणमा जाने अंकगणितीय सम्भावना पनि जीवितै राखेको छ ।

बिहिबारको जितपछि समूह ‘बी’ मा रहेको नेपालको खातामा ६ खेलपछि ६ नै अंक भएको छ । नेपाल अझै पनि चौथो स्थानमा यथावत रहेको छ । नेपालले अब आफ्ना अन्तिम दुई खेल जोर्डन र अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्