नेविसंघद्वारा बालबालिकालाई खेलकुद र स्वास्थ्य सामाग्री वितरण



अमृत अर्याल, स्याङ्जा ।

नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिले विद्यार्थीलाई खेलकुद सामाग्री वितरण गरेको छ । कोभिड–१९ बाट घरमै सुरक्षित रहेका साना साना बालवालिकालाई खेलकुद मार्फत उच्च मनोबल बढाउने भन्दै नेविसंघले खेलकुदका सामाग्रीसहित स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संघले स्याङ्जाको वालिङ–११ पेखुमा रहेको गणेशमान स्मृति आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि खेलकुदका सामाग्री क्यारमबोर्ड, कापी–कलमहरू, मास्क, सेनिटाईजर र अक्सिमिटर वितरण गरेको छ । विद्यालयमा अध्ययनरत शिशु कक्षा देखी कक्षा ३ सम्मका विद्यार्थीहरुलाई खेलकुदमा सहभागी हुन मिल्ने गरी साईज अनुसारका थान क्यारमवोर्ड, अध्ययनका लागि कापी कलम र स्वास्थ्य सामाग्री वितरण गरेको स्याङ्जा काठमाण्डौ सम्पर्क समितिका सभापति ईन्जिनियर दिपेन्द्र क्षेत्रीले बताउनुभयो ।

यसभन्दा अगाडी विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको समितिले वालवालिकालाई स्वास्थ्यका लागि खेलकुद भन्ने सन्देश प्रवाह गर्न खेलकुदका सामाग्री वितरण गर्ने अभियान चलाएको सभापति क्षेत्रीले बताउनुभयो । समितिले पेखुकै नगर स्वास्थ्य केन्द्रलाई १ थान अक्सिमिटर, मास्क, सेनिटाईजर र वालिङ्–११ टापु स्थित स्वेक स्वास्थ्य चौकी लाई २ थान अक्सिमिटर, मास्क र सेनिटाईजर वितरण गरेको छ । कोरोना संक्रमणका बेला स्वास्थ्यकर्मीहरु अग्रपंतीमा रहेर काम गर्दै आएको भन्दै ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई सामाग्री प्रदान गरेको संघले जनाएको छ ।

यस्तै संघले १२ घर परिवारमा कोरोना संक्रमणबारे सचेतना सहित साबुन र मास्क वितरण गरेको जनाएको छ । सरकार जनता भन्दा पनि सत्ता जोगाउन व्यस्त रहेको आरोप लगाउदै संघका सभापति क्षेत्रीले नागरिक स्तरबाटै रोग निर्मुल पार्न स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्