शहीद गेटझैं हेटाैडामा ‘सिटी फ्ल्याग’



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौडा–४ को हुप्रचौर मुख्यद्धारतर्फ आकर्षक फाउन्डेसनसहितको १६ मिटर अग्लो फ्ल्याग पोल खडा गरी राष्ट्रिय झण्डा फहराइने भएको छ । उक्त झण्डालाई ‘नगर झण्डा (सिटी फ्ल्याग)’ नामाकरण गरिने र नवनिर्वाचित नगर प्रमुखले झण्डोत्तोलनपश्चात् पदभार ग्रहण गर्ने परम्परा बसाउने नगर कार्यपालिका बैठकले निर्णय गरेको हो । संघीय राजधानी काठमाडौंमा नवनियुक्त प्रधानमन्त्रीले शहीद गेटमा माल्यार्पण गरेर पदभार ग्रहण गर्ने परम्पराझैं बागमती प्रदेशको राजधानीले पनि आफ्नो पहिचान देखाउने भएको हो ।

हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिका कार्यालयपरिसरमा एक नगर घण्टा स्थापना गरिने भएको छ । नगर कार्यपालिका बैठकले नगर घण्टालाई नगरबासीहरुको चेतना र समृद्धिको सन्देश सूचक÷प्रतीकका रुपमा प्रयोगमा ल्याउने तयारी भएको उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो । घण्टा जडान गर्न आवश्यक रकम जुटाउने प्रयोजनका लागि नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको ७ दिन बराबरको र अन्य वडाध्यक्षहरुको ५ दिन बराबरको पारिश्रमिक/सुविधा कटौती गर्ने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।

यसमा योगदान गर्न चाहने कर्मचारीहरुले ऐच्छिकरुपमा सहयोग गर्नसक्ने र नगर घण्टा स्थापना गर्न अपुग हुने रकम उपमहानगरपालिकाले ब्यहोर्ने भएको छ । आवश्यक लागत अनुमान तयार गरी निर्माण प्रक्रिया शुरु गर्ने तयारी थालिएको छ । उपमहानगर कार्यालय, वडा कार्यालय र नगरका अन्य स्थानमा रहेका राष्ट्रिय झण्डाको समुचित एवम् सम्मानजनक व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिने बैठकले निर्णय गरेको छ ।

राष्ट्रिय झण्डा नराखेका वडा कार्यालयलाई तत्काल राख्न निर्देशन दिइएको छ ।उपमहानगर कार्यालयपरिसरमा रहेको राष्ट्रिय झण्डाको सूर्योदय र सूर्यास्तसँगै सरकारी शिष्टाचारसहित चढाउने र झिक्ने कामको जिम्मेवारी नगर प्रहरी प्रमुखले मिलाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्