लायन्स क्लब अफ पोखरा अभियानद्वारा विपन्न लक्षित ‘फुड बैङ’ सञ्चालनमा



टंकराज अधिकारी, कास्की ।

कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका विपन्न परिवारलाई लक्षित गरेर पोखरामा फुड बैङ संचालन गरिएको छ। कोरोना महामारी र लकडाउनले दैनिकी ज्याला(मजदुरी गरेर खानुपर्नेलाई एक छाक टार्न पनि धौधौ छ। उनीहरूलाई थोरै भए पनि राहत होस् भनि लायन्स क्लब अफ पोखरा अभियानले फुड बैंकु संचालन गरेको छ । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने नारा साथ सक्नेले आफूसँग भएका खाद्य सामग्री उपलब्ध गराउने र त्यही सामग्री नहुनेलाई निस्शुल्क बाँड्ने उद्देश्यले यो अभियान सुरू गरिएको क्लबका संस्थापक अध्यक्ष विनोद ढुंगानाले बताए । लायन्स क्लब अफ पोखरा अभियानको नेतृत्वमा सञ्चालनमा आएको खाद्य बैंकको मंगलबार उद्घाटन गरिएको हो । ‘कोही पनि खाना बिना मर्न नपरोस् भन्ने उद्देश्यका साथ खाद्य बैंक सञ्चालनमा ल्याएका हौँ,’ ढुंगानाले भने ।

कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका कारण न्यून आय भएका परिवारलाई लक्षित गरेर फुड बैंक अभियान सञ्चालन गर्न लागिएको उनले भने ।
खाद्य बैंकबाट मंगलबार पहिलो दिन १ सय १७ जना र दोस्रो दिन बुधवार १५३ जनाले सेवा लिएका छन् । पोखराको चिप्लेढूगामा हरेकदिन बिहान ६ बजेदेखि ९ बजेसम्म संचालन गरिने यो अभियानमा सबैको सकारात्मक साथ र सहयोग रहेको ढुंगानाले बताए ।

फुड बैंकले परिवार संख्या हेरी कम्तिमा २ किलो चामल, १ प्याकेट नुन, आधा लिटर तेल, आधा किलो चिउरा र आधा किलो दाल वितरण गरेको छ । खाद्यान्न सामग्री लिन आउनेको संख्या बढ्दो छ। उनीहरू कुन वर्गका हुन् र साँच्चि नै राहत चाहिने हुन् कि होइनन् भनी छुट्टयाउन गाह्रो भएको छ। त्यही भएर अहिलेलाई थोरै सामग्री मात्र वितरण गरेको ढुगांना बताउँछन्। ‘धेरै दिन दियौं भने जो पनि आउन सक्छन् आवश्यकताको आधारमा बिहान बेलुकाको छाक टर्ने राहत चाहिने मान्छे मात्र लिन आऊन् भनेर हामीले त्यहि अनुरूप खाद्य सामग्री दिने व्यवस्था गरेका हौं,’ उनले भने।

हाल सम्म खाद्य बैंकका लागि नवलपुर गैंडाकोट निवासी व्यवसायी पुष्पराज सापकोटा र पोषनाथ सुवेदी मार्फ़त ९० हजार रुपैयाँ बराबरको ५० बोरा चामल, लायन्स डिस्ट्रिक्ट ३२५ बी१ नेपालका डिस्ट्रिक्ट गभर्नर मन बहादुर रोकाबाट रु २० हजार बराबरको खाद्यान्न, सुर्या कन्स्ट्रक्शन प्रा। लि। पोखराका संचालक सूर्य नारायण बरालबाट १० हजार बराबरको खाद्यान्न सहयोग प्राप्त भएको छ।

यसै गरी बिग बजार शेल्स स्टोर चिप्लेढूगाका संचालक रतन कुमार कार्की ५ हजार बराबरको खधान्न सामग्री, पोखरा- ०९ न्यूरोड निवासी श्री पर्सिया पुन९ हाल आस्ट्रेलिया० बाट ५ हजार बराबरको खाद्यान्न, लायन्स क्लब अफ पोखरा पिस टाउनबाट ५ हजार बराबरको खाद्यान्न सहयोग भएको छ । लायन्स क्लब अफ पोखरा अभियानका सदस्यहरुबाट २ लाख ५० हजार संकलन भएको खाद्य बैंक कार्यक्रमका संयोजक मातृका पोख्रेलले बताउनु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्