मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा निषेधाज्ञा लम्बिएको छ । जारी निषेधाज्ञा तेस्रो पटक थप गर्दै जेठ ३१ गतेसम्म थप्न सिफारिस भएको छ । कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण कमी नभएको भन्दै जेठ ३१ सम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । तर, यस पटक निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार जेठ २१ गतेदेखि लागु हुने गरी विहान ९ बजेसम्म केही व्यबसाय खुल्नेछन् । खाद्यान्न पसलहरु (डिपार्टमेण्ट स्टोर र मार्टबाहेक), तरकारी पसलहरु (हेटौंडा–४ को भृकुटीपथमा रहेको र बसपार्कको खुद्रा तरकारी सटरबाहेक), माछामासु पसल (बसपार्कको माछा बजारबाहेक) र किराना पसलहरु निश्चित समय खुल्ने भएका हुन् ।

बैंकहरु साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार विहान १०–२ बजेसम्म सञ्चालन हुनेछन् । रेमिट्यान्स व्यवसाय पनि बैंकअनुसार नै तीन दिन सोही समयमा सञ्चालन हुनेछन् । वित्तीय सस्था (सहकारी), सार्वजनिक यातायात र यी बाहेक अन्य सम्पूर्ण व्यवसायहरु बन्द रहनेछन् । पसलहरु खोल्दा भीड नियन्त्रण गर्ने जिम्मेवारी स्वयम् पसलधनीको हुनेछ । भीड गरेको पाइए जिल्ला प्रशासनबाट हुने अनुगमनले जरिवाना गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्