विराटनगरमा स्काउटद्वारा संक्रमितको शव व्यवस्थापन शुरू



हरिहर नेपाल, विराटनगर ।

नेपाली सेनाले गरिरहेको कोरोना संक्रमितको शव व्यवस्थापन नेपाल स्काउटका सदस्यले पनि शुरू गरेका छन् । केही दिनअघि झापामा नेपाली सेनाबाट शव व्यवस्थापनको तालिम लिएका स्काउटका सदस्यले विराटनगरमा संक्रमितको शव व्यवस्थापन शुरू गरेका हुन् ।

नेपाल स्काउट प्रदेश १ तदर्थ समिति संयोजक रवि खनालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका– ३ का ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको थियो ।संक्रमितको शव व्यवस्थापनका लागि झापा, मोरङ र सुनसरीका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वार्टर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो । नेपाली सेनाले प्रदेश १ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका स्काउटरलाई संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिएको हो ।सेनाले झापाको भद्रपुरमा १७ जना, मोरङको विराटनगरमा १४ जना र सुनसरीको इटहरीमा १२ जना स्काउटरलाई तालिम दिएको थियो । अहिले मुलुकभर नेपाली सेनाको टोलीले मात्रै संक्रमितको शव व्यवस्थापन गर्दै आइरहेको छ ।

नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिको निर्णयबमोजिम सेनालाई शव व्यवस्थापन कार्यमा सघाउन थप जनशक्तिको लागि तीनै जिल्लामा चार दिवसीय तालिम दिन शुरू गरिएको नयाँ श्रीनाथ गणका गणपति अमरजङ्ग थापाले जानकारी दिनुभयो ।एकैपटक धेरै संक्रमितको मृत्युपश्चात् सेनालाई पनि शव व्यवस्थापनमा समस्या परिरहेका कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरूलाई प्रशिक्षण दिइएको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य अरुण बस्नेतको भनाइ छ ।संयोजक खनालका अनुसार तालिमपछि मोरङमा शव व्यवस्थापनमा टोली खटिएको हो । सुनसरी र झापामा संक्रमितको शव व्यवस्थापनमा स्काउटर खटिनेछन् । शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकहरूलाई अलग्गै बस्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । होम आइसोसेलसनमा बसेका संक्रमितका लागि डाक्टर अनकल हेल्पलाइन सेवा पनि सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्