निजीक्षेत्रद्वारा आइसोलेसन निःशुल्क



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा कोरोना संक्रमितका लागि पहिलोपटक निजीक्षेत्रले निःशुल्क सेवा दिने गरी आइसोलेसन सञ्चालन थालेको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाको सहकार्यमा गठित कोभिड हेल्पडेस्क मकवानपुरले पल्पसा सभागृहमा ३० बेडको आइसोलेसन तयार गरेको हो । सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।जिल्लाका कोरोना संक्रमितलाई चिकित्सकको परामर्श, अक्सिजनदेखि आबश्यक सबै किसिमका सहयोग जुटाउँदै आएको कोभिड हेल्पडेस्कले संक्रमितको उपचारका लागि आइसोलेसनको व्यवस्था गरेको हो ।

अस्पतालको क्षमता भन्दा बढी संक्रमित भएर निजी अस्पतालमा उपचार गर्न बाध्य भएका निम्नस्तरका संक्रमितलाई उपचार सेवा दिने उद्धेश्यले आइसोलेसन व्यवस्था गरिएको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष÷कोभिड हेल्पडेस्क संयोजक कृष्ण कटुवाले बताउनुभयो । उहाँले कोभिड संक्रमितलाई भेट्ने क्रममा उपचार र आइसोलेटमा समस्या देखिएकाले निजी अस्पतालमा उपचार महंगो हुने गुनासो आएपछि आइसोलेसनको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले निजीक्षेत्र संक्रमितका लागि सबै सेवा दिन सक्षम र तयार रहेको दाबी गर्नुभयो ।

कोभिड हेल्पडेस्क सचिवालय सदस्य सरोज खनालले जिल्ला अस्पतालमा उपलब्ध बेड कम भएका कारण संक्रमितको ज्यान नजाओस् भन्ने उद्धेश्यले आइसोलेसन सञ्चालन गरिएको बताउनुभयो । संक्रमितको घरदैलोमा पुग्ने क्रममा संक्रमितहरुको अवस्था भयाबह देखिएको थियो । एउटै कोठामा ४/५ जनाको पूरै परिवार संक्रमित रहेको तर संक्रमितहरु गम्भीर अवस्थामा अस्पताल जाने खर्च नभएर पीडामा रहेको अवस्थामा आइसोलेसन सञ्चालनको बिकल्प नदेखिएको उहाँले बताउनुभयो । हेल्पडेस्कका स्वास्थ्यकर्मीबाट फोन सम्पर्क गरी संक्रमितको अवस्थाको रिपोर्ट संकलन गर्दै आएका छन् ।

पल्पसा आइसोलेसन सेन्टर संयोजक भुवनलाल श्रेष्ठले इच्छुक संक्रमित आउन वा संक्रमितको परिवारले पल्पसा आइसोलेसनमा संक्रमितलाई ल्याउनसक्ने बताउनुभयो । स्वास्थ्यकर्मीहरुको निरन्तर रेखदेख रहने गरी आइसोलेसनका लागि झुल, तकियासहित ३० वटा बेड, नुहाउन चिसोपानी, तातोपानीसम्मको व्यवस्था गरिएको छ । अन्य सेवा थप गर्ने क्रममा थप आवश्यकता देखिए सोको परिपूर्ति गरिने संयोजक श्रेष्ठले बताउनुभएको छ ।
पल्पसा आइसोलेसनको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रमन झा र अनन्त बास्तोलाले अवलोकन गर्नुभएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले पनि आइसोलेसन सेन्टर अवलोकन गरी नीतिगत सुझावहरु दिएको छ ।

प्रतिक्रिया दिनुहोस्