पुष्पकमल दाहाल (प्रचण्ड)को जन्म कुण्डली : एक विवेचना



  • ठाकुरप्रसाद बराल

वामपन्थीहरू ज्योतिषलाई मान्दैनन् । यसलाई उनीहरू भाग्यवादी चिन्तन पनि भन्छन् तर पनि धेरै मानिसहरू हात हेराउन, चिना हेराउन ज्योतिषी कहा पुग्ने गरेको देखिन्छ र सुनिन्छ। यसको मुख्य कारण भनेकै भविष्यप्रति आफ्नो चासो हो । यसैले ज्योतिष शास्त्रका सिद्धान्त र सूत्रका आधारमा यो विवेचना गर्न खोजिएको छ ।यहाँ प्राप्त जन्म समयलाई आधार बनाएर लामो समयदेखि सधैँ राजनीतिक चर्चाको शिखरमा देखिने केपी ओलीका निमित्त राष्ट्रिय समस्या बनेका पुष्पकमल दाहाल (प्रचण्ड)को जन्मकुण्डली माथि विश्लेषण गर्ने प्रयास गरिएको छ ।

नेता दाहालको विसं २०११ साल मंसिर २६ गते शनिबारका दिन साँझको १०:२१ बजे कास्कीको ढिकुर पोखरी भन्ने ठाउँमा जन्म भएको हो । यिनको न्वारानको नाम आरद्रा नक्षत्रको चौथो पाउ छ अक्षरबाट शुरू भई नाम छविलाल रहन गएको देखिन्छ। दाहालको लग्न कुण्डलीमा सिंह लग्न परेको छ । सिंह लग्नको मान्छे हक्की स्वभावको कसैसँग नडग्ने कुरा नलुकाउने स्वभावको हुन्छ। लग्नपति सूर्य केन्द्रमा चौथो सुख भावमा वुधादित्य योग बनाएर बसेको छ,जो मित्र गृही पनि हो । बुधादित्य योग केन्द्रमा मित्र राशिमा बस्नु स्वयंमा राजयोगको सङ्केत हो । यसमाथि पराक्रमभावमा शनीनि उच्च भएर बसेको छ जुन निक्कै राम्रो मानिन्छ साथमा शुक्र पनि बसेर दुबैको दृष्टि भाग्य भावमा परिरहेको छ ।

शुक्र दशौँको मालिकसमेत भएर पराक्रम भावमा बसेको छ जसले पराक्रम गरेर नै राज्य सत्ता प्राप्त गर्न सकिने हो । नवौँको मालिक सातौमा बसी राज्यभावमा प्रथम दृष्टि दिइरहेको छ । यसले राज्य सत्ताको वरिपरि नै दाहालको बास रहिरहने देखिन्छ। शनि र गुरु जस्ता दुई वटा ग्रह उच्च छन्। शुक्र स्वगृही,सूर्य चन्द्र मित्र गृही भयेर सुख र लाभ भावमा बसेको अवस्था छ । अझ गुरू उच्च,चेष्टावली र वक्री समेत भयेर वाह्रौ स्थानमा विराजमान रहेका देखिन्छन् । यो अत्यन्त सुखद् अवस्था हो ।

पाचौ राहुले एकल छोरोको सङ्केत गर्दछ । त्यसमा चन्द्रको दृष्टिले छोरीको संख्या बढाउछ । शनि,चन्द्र र मङ्गल कालवली समेत छन् । मङ्गल,सूर्य र बुध समेतको राज्यभावमा पूर्ण दृष्टिले राज्यभाव यिनको सशक्त छ । शुक्र र शनिको नवौभावमा एक साथ सातौ दृष्टिलाई समेत हेर्दा यी राज्यका लागि सधै नभयि नहुने अवस्थामा देखिन्छन्।

वकिणरस्तु महावीर्या: शुभा राज्यप्रदा ग्रहास् ।
पापा व्यसनदास् पुम्सा: कुर्वन्ति च वृथाटनन् ।।

(सारावली,पृ५१,श्लोक:३९) भनिएको छ । शुभग्रह वृहस्पति यहाँ वक्र भएको छ यो महाशुभ योग हो । यसले थप बल दिएर राज्य प्रदान गर्दछ । वृहस्पतिको आठौँ स्थानमा दृष्टि आयुवर्धक मानिन्छ ।दाहालको कुण्डलीमा सुनफा,वेशी तथा उभयचरी योग समेत देखिन्छ। कुण्डलीको सबभन्दा सशक्त पक्ष त झन् वृहस्पतिले बाह्रौँ स्थानमा बसेर बनाएको सशक्त राजयोग नै हो । यसलाई सरल विपरित राजयोग भनि नामकरण गरिएको छ । सरल विपरित राजयोग पारेर जन्मिएको मान्छे दीर्घजीवी,भयमुक्त,’शत्रुहरूको लागि सधै आतङ्कूका रूपमा सम्पन्न हुन्छ भनिएको (तिन सौ महत्वपूर्ण योग,पृ८६)
वक्री वृहस्पति नवमाम्समा पनि मित्र नवमाम्शमा रहेको छ ।

यसरी राजयोग कारक वृहस्पतिको पालो ६५ वर्ष ५ महिनापछि मात्र आउँदैछ । अहिले शनि मूलको राहूको अन्तर चलिरहेको छ। राहु त्रिकोणमा रहेकोले राज्य प्राप्तिमा उतार चढाव रहने नै छ तर जुवा जस्तो कुनै बेला जित हुने सम्भावना रहिरहेको हुन्छ । यिनी राजनीतिका जुवाडे हुन् जता लाग्यो त्यतैतिर जित सुनिश्चित हुन्छ। गोचरमा गुरू सातौमा रहेकोले पत्नीका लागि खर्च र यात्रा गराइरहने छ । गुरूले पत्नीलाई बचाइरहेको छ । शनि आफ्नै घरमा रहेकोले रोग, ऋण,शत्रुसँग कुनै डर लिनु पर्दैन शत्रुहन्ता योग बनिनै रहेको छ । सुनफा योगमा जन्मिएको मान्छे सधै नै सत्ताको वरिपरि भयिरहन्छ। ६७ वर्ष ५ महिना पछि वृहस्पतिको अन्तर दशा शुरू हुन्छ। एक पटक फेरि पुष्पकमल नभयि नहुने अवस्था सिर्जना हुन सक्छ ।

धान्या भद्रीका तथा सिद्धाका अन्तर दशाहरूको मेल पनि छ । ६७ बर्षपछि ७२ बर्षसम्म प्रचण्डबिना राज्य सञ्चालन हुन्छ भन्न सकिँदैन ।विरोधीहरूका लागि प्रचण्ड आतङ्क नै हुन् । कति बेला के गर्छन्रु कोसँग मिल्छन् रु कसैले पत्ता लगाउन नसकिने योग रहेको छ । यो स्वयम् आफैलाई पनि थाहा हुँदैन । सर्पझैँ कुइक्क बटारिनु, सिधा कुद्नु, बाङ्गो टिग्ङ्गो गर्दै छलाङ् मार्नु उनको मूल प्रवृत्ति नै हो । तर वृहस्पति पृष्ठमा रहेकोले यिनलाई पहिले भन्दा काम बिगारेपछि बुद्धि खुल्ने रोग जस्तै छ । लागेको कुरा लुकाउनै सक्दैनन् । खुसी लाग्यो भने सबै कुरा फासफूस खोल्छन् र सबै रणनीति शत्रुले थाहा पाउँछन् ।

  • ठाकुरप्रसाद बराल
    अधिवक्ता तथा लेखक
    ज्योतिष शास्त्रमा लामो समयदेखि स्वअध्ययन तथा अनुसन्धान

प्रतिक्रिया दिनुहोस्