६० देखि ६५ सम्मलाई चिनियाँ भेरोसेल दिइने



काठमाडौं, (नेस)

चीनबाट अनुदानस्वरूप प्राप्त हुने १० लाख मात्रा खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले चीनबाट आउने १० लाख ‘भेरोसेल’ जोखिम वर्गको आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई दिन लागिएको बताउनुभयो । उहाँले खोप भित्रिने मात्राको आधारमा खोप लगाउनेको उमेर समूह छुट्याउँदै जाने पनि बताउनुभयो ।

सोमबार साँझ बेइजिङ गएको नेपाल एयरलाइन्सको विमानले मंगलबार खोप लिएर आउँदै छ । तर, योपटक २ लाख मात्रा खोप मात्र आउने बताइएको छ । डा. पोखरेलका अनुसार कम्तीमा ५ लाख मात्रा खोप प्राप्त भएपछि मात्रै खोप कार्यक्रम सञ्चालन गरिनेछ । यसभन्दा अगाडि चीन सरकारले ८ लाख डोज भेरोसेल उपलब्ध गराएको थियो ।सरकारको तथ्यांकअनुसार ६० देखि ६५ वर्षका अझै करिब सात लाख नागरिकलाई खोप लगाउन बाँकी नै छ । दुवै डोज खोप दिनका लागि १४ लाख मात्रा आवश्यकता पर्छ ।

यसअघि, सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइएको थियो । झन्डै ९ लाख जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । डा. पोखरेलले आगामी दिनमा कोभिसिल्डको सट्टा दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एस्ट्राजेनिका खोप ल्याउने तयारी भइरहेको छ । सो खोप आएपछि पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस्