एसओएस सुर्खेतकी ‘आमा’ पीडित

पत्रकारसँग एकैछिन ढोकैमा कुरा गर्दा पनि भित्रबाट बारम्बार आइरह्यो दबाब (भिडियोसहित)



अप्सरा विष्ट, सुर्खेत ।

टुहरा बालबालिकाको क्षेत्रमा बिगत चार दशकभन्दा लामो समयदेखि कार्यरत संस्था एसओएस बालग्राम सुर्खेतमा कार्यरत महिला कर्मचारीमाथि राष्ट्रिय निर्देशकसमेत मिलेर शोषण र दमन चलाएका छन् । विगत १० वर्षदेखि आमा पदमा कार्यरत यसोदा महतले सोमबार नेपाल समाचारपत्रलाई भन्नुभयो, ‘मानसिक र शारीरिक दुवै प्रकारको शोषण र दमनमा छौं, कसैसँग बोल्न दिइन्न, रातविरात भन्न पाइन्न– जति बेला पनि दासजस्तो व्यवहार गर्छन् ।’

महत सोमबार दिउँसो सुर्खेतको कालागाउँस्थित कार्यालयको मूलगेट बाहिर भिडियो अन्तर्वार्ताका लागि आउनुभयो । तर उहाँ पत्रकारसँग बोल्न थालेको जानकारी पाउनासाथ हामिकमले कर्मचारी खटाएर तुरुन्त बोल्न बन्द गरेर भित्र आउन दबाब दिनुभयो । ‘मैले मात्र यस्तो दबाब र शोषण सहनुपरेको होइन, यहाँ कार्यरत सबै महिला कर्मचारीप्रति उहाँहरुको यस्तै व्यवहार हो’ आमा महतले भन्नुभयो ।

महतका अनुसार एसओएस बालग्राम केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक ईश्वरीप्रसाद शर्माले सुर्खेतका बालग्राम प्रमुख मुकुन्द गिरीकै उपस्थितिमा तँ शब्दको प्रयोग गरेर जागिर खाइदिने धम्की दिनुभयो, ‘गएको वर्ष चैत २० गतेको कुरा हो, शर्मा र गिरी दुवैले मलाई रातको समयमा आफ्नै कार्यकक्षमा बोलाएर दुव्र्यवहार गर्नुभयो ।’ आमा महतले ‘रातको ८ बजिसक्यो, भोलि बिहान आउँदा हुन्न सर भनें, तर उहाँहरुले तुरुन्त आउने आदेश दिनुभयो’ भनेर रुँदै विवरण सुनाउनुभयो । ‘केही अर्जेन्ट नै परेछ भन्ने ठानेर कार्यालय गएँ, पुग्ने बितिकै निर्देशक शर्माले मलाई तथानाम गाली गर्न थाल्नुभयो’ महतले गालीका शब्दहरु दोहा-याउनुभयो– तँ दुष्ट आइमाई, तैले बिहे गरिछस्, तुरुन्त जागिर छोड् नत्र तलाँई कसरी तह लगाउनुपर्छ हामीलाई थाहा छ ।

महत अविवाहित हुनुहुन्छ । विवाह गर्ने कुनै तयारी पनि छैन भन्नुहुन्छ । ‘तर, मलाई शर्माले अस्तिसम्म पनि जागिर छोड्न लगातार दबाब दिइरहनुभएको छ’ उहाँले भन्नुभयो– मानसिक दबाब अति भएपछि महतले एसओएसको केन्द्रीय कार्यालयमा उजुरी गरी त्यसको बोधार्थ एसओएसको अन्तर्राष्ट्रिय कार्यालयलाई इमेलमार्फत पठाउनुभयो ।

तर घटनाको दुई महिना बित्तासमेत उहाँमाथि भएको दुव्र्यबहारप्रति सुनुबाइ भएन । ‘मलाई मिडियामा आउन कुनै रहर होइन, बाध्य भएँ, कोरोनाको महामारी घटेपछि गाली बेइज्जती मुद्दा लिएर अदालत जाने सोच पनि बनाएकी छु’ महतले भन्नुभयो– महिला अधिकार, मानवअधिकार भनेको सुन्छु, त्यस्ता संस्थाले पनि हामीमाथि भएको यस प्रकारको शोषण किन नदेखेका हुन् !

यद्यपि, महतको गुनासो अन्तर्राष्ट्रिय कार्यालयले सुन्दै नसुनेको भने होइन । एसओएस अन्तर्राष्ट्रिय कार्यालयका प्रमुख कार्यकारी निर्देशक इनग्रिड मारिया जोनासनले गत महिना एक विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ, ‘पीडित प्रभावितलाई न्याय र दोषीलाई कारबाही नगरी म निदाउने छैन ।’ जोनासनले अमानवीय व्यवहारका विषयमा छानबिनका लागि तत्कालै एक स्वतन्त्र विज्ञको अगुवाइमा छानबिन समिति बनाउने र यही मे महिनाभित्र कारबाही गर्ने घोषणा पनि गर्नुभएको थियो । तर कोभिडका कारण उहाँको घोषणाले कार्यान्वयनको रुप लिनसकेको छैन ।

‘हामी साना बालबालिकाको सुरक्षा र समृद्धिका लागि समर्पित छौं, तर हामीमध्येकै कसैले उनीहरुको अधिकार हनन गरेको सूचनाले मलाई गम्भीर चिन्तामा पारेको छ,’ उहाँले एसओएसको अन्तर्राष्ट्रिय कार्यालयका तर्फबाट पीडित प्रभावितसँग माफी पनि माग्नुभएको छ ।

‘मैले समयमै दोषी पहिचान गरेर कारबाही चलाउन नसकेकोमा पनि क्षमा माग्नैपर्छ, बालबालिकाले वयस्कबाट जुन व्यवहार र विश्वास चाहेका थिए, त्यो सम्मान हामीले गुमायौं, यसमा मलाई खेद छ’ जोनासनले अब दोषीलाई कारबाही गरेर र यस प्रकारका गलत व्यवहार दोहोरिन नदिएर पीडितको घाउमा मलम लगाउने काममा कुनै कसर बाँकी नराख्ने पनि प्रतिवद्धता जनाउनुभएको छ । विवाह गरे जागिर जान्छ भनेर निर्देशक शर्मा र गिरीले महतलाई धम्की दिएपनि त्यस प्रकारको नीति एसओएस अन्तर्राष्ट्रिय कार्यालयले नलिएको बुझिएको छ ।

यसोदा षड्यन्त्रमा पर्नुभयो : निर्देशक गिरी

उहाँको जागिर सुरक्षित छ, कसैले जागिर खोस्ने कुरा गरेकै छैन । भएको के हो भने, उहाँ मेरो जागिर खाएर म पदमुक्त भएको हेर्न चाहने व्यक्तिको षड्यन्त्रमा पर्नुभयो । कन्ट्री डाइरेक्टर शर्मा गएको चैतमा यहाँ आउनुभएकै हो । उहाँले यसोदाका आफन्तले यसोदालाई काभ्रेमा सरुवा मिलाइ दिनुप-यो भनेर दबाब दिइरहेका छन्, उनले गत वर्ष विवाह गरेकाले उनी श्रीमान्सँग बस्न उतै जान चाहन्छिन् भन्ने मैले बुझेको छु भन्नुभयो । यो साँझको कुरा थियो । भोलिपल्ट बिहानै कन्ट्री डाइरेक्टर नेपालगञ्ज जानुपर्नेभएकाले सरुवाको टुंगो त उहाँकै अगाडि टुंग्याउनुप-यो भनेर राति नै टुंग्याउनु आवश्यक थियो ।

हामी एसओएसमा परिवारजस्तै बस्छौं, त्यसैले परिवारमा झगडा पर्दा होस् वा सरसल्लाह गर्दा होस् हामी राति पनि कार्यालयमै बसेर अन्तरक्रिया गर्छौं । त्यस राति पनि त्यस्तै भयो । यसोदा आएपछि कन्ट्री डाइरेक्टर शर्माले ‘तँैले विवाह गरिछेस्, काभ्रेमा सरुवा हुन चाहँदिरहिछेस्’ भन्नुभयो । पछि उहाँले ‘छोरीजस्ती भएर तँ भनेको, चित्त नदुखा नि’ पनि भन्नुभयो । मलाई त यसोदाको व्यवहारमा परिवर्तन आएको सामान्य जानकारी त थियो, तर विवाह गरिसकेको र सरुवा मागेको थाहा थिएन । मसँग सरुवाको कुरा पनि उहाँले गर्नुभएको थिएन । तर उहाँले ‘मैले विवाह गरेको छैन’ भन्नुभयो ।

डाइरेक्टर शर्माले फ्रीह्याण्डमा फोन राखेर सरुवा माग्ने व्यक्तिसँग कुरा गरेर हामी सबैलाई सुनाउनु पनि भयो । यसोदाको आफन्त भन्ने फोनवालाले त्यहाँ पनि सरुवा मागे । तर, फोन मजाले सुनिरहेकी यसोदाले फोन राखेपछि ‘यो मान्छेलाई म चिन्दिनँ’ भनेर झर्किनुभयो । विवाह पनि गरेकी छैन र सरुवा पनि मागेको होइन भने मुद्दा नै सकियो । मैले यसोदाजीलाई सम्झाइरहेको छु– जागिर पनि सुरक्षित छँदैछ । बरु लामो–लामो फोनमा नअलमलिनुस्, बालबालिका झगडा गर्दा पनि ध्यान नदिने जो नयाँ बाँनी छ, त्यसलाई सुधार्नुस् भनेको छु ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

(व्यवस्थापन पक्षबाट बिहीबार प्राप्त प्रतिक्रिया – सम्पादक)

 

प्रतिक्रिया दिनुहोस्