काभ्रे तेमालका दुई युवा खोलामा बेपत्ता



मोतीराम तिमल्सिना, काभ्रे ।

चौरीदेउराली गाउँपालिका वडा नम्वर ८ स्थित विर्तादेउरालीमा पर्ने सुनकोशी खोलामा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् । आज दिउसो १ बजे खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएको प्रहरी चौकी पचुवारघाटले जानकारी गराएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।

बेपत्ता भएका युवाहरुको खोजिकार्यमा प्रहरी, स्थानीय सक्रिय छन् । तेमाल गाउँपालिका वडा नम्वर २ घर भएका २१ बर्षिय सुजित तामाङ र तेमाल गाउँपालिका वडा नम्वर ३ का २२ बर्षिय दिलध्वज तामाङ बेपत्ता भएका हुन् । सुजित र दिलध्वजसँगै सुजितका भाई १७ बर्षिय अजित तामाङ र दिलध्वजका भाई १५ बर्षिय पदम तामाङ माछा मार्न सुनकोशी खोलामा पुगेका थिए । ‘दिउसो २.१५ बजेको समयमा खोलामा आएको ठुलो बाढीका कारण युवा हराएको सूचना प्राप्त गर्‍यौँ र तत्कालै खोजी कार्य शुरु गरेका छौ’–प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयो । सँगै गएका भाईहरुले दाईहरु खोलाबाट नफर्किएपछि आत्तिएर स्थानीयलाई खवर गरेका थिए । प्रहरीलाई खवर भए लगत्तै स्थानीय र प्रहरी मिलेर खोलामा उनिहरुको खोजि कार्य जारी छ ।

यस अघि पनि उक्त खोलामा पटक पटक माछा मार्न जाने क्रममा तेमालका युवा तथा बालबालिकाहरुको खोलाले बगाएर निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्