पिर्लोको स्थानमा अलेग्री



मिलान, (एजेन्सी) ।

एन्ड्रिया पिर्लोलाई बर्खास्त गरेको केही घण्टापछि नै युभेन्टसले मेसिमिलियानो अलेग्रीलाई मेनेजर पदमा नियुक्त गरेको छ ।अलेग्री युभेन्टस्मा दोस्रोपटक मेनेजर पदमा नियुक्त भएका हुन् । उनले सिरी ए टिमका लागि २०१४–१९ सम्म नेतृत्व गरेका थिए । उनको नेतृत्वमा टिमले लगातार ५ सिरी ए उपाधि, ४ कोपा इटालिया उपाधि जितेको र च्याम्पियन्स लिग फाइनलमा दुईपटक पुगेको थियो ।

गत समरमा माउरिजियो सारीको स्थानमा पूर्व इटालियन फुटबलर पिर्लोलाई युभेन्टस्ले छनोट गर्दा सबै चकित भएका थिए । धेरैले पिर्लो युभेन्टस्बाट खेलेको हुँदा पनि राम्रै गर्ला भन्ने विश्वास गरेका थिए । तर, केहीले भने पिर्लो खेलाडी झैं मेनेजर भूमिकामा जम्न सक्दैनन् भनेर टिप्पणी गरेका थिए । ४२ वर्षीय पिर्लोको नेतृत्वमा युभेन्टस्ले सिरी ए को चौथो स्थानबाट रहेर सिजन समाप्त गरेको थियो ।युभेन्टस्को विज्ञप्तिमा जनाएको थियो—हामी फेरि अलेग्रीसँग तयार भएका छौं । उनको व्यावसायिक, नैतिक बल र सक्षम कोचका शानदार विचारहरूको साथ हाम्रो टिमको भविष्य निर्माण गर्न जाँदैछ ।

पिर्लोले युभेन्टस्का लागि २०११ र २०१५ बीचमा १ सय ६४ खेल खेलेका थिए । उनले चारपटक सिरी ए जित्न सहयोग गरेका थिए । उनले इटालीका लागि १ सय १६ खेलेका थिए । उनको सबैभन्दा ठूलो उपलब्धि इटालीले २००६ को विश्वकप जित्नु थियो । उनी २०१७ मा अन्तर्राष्ट्रिय फुटबल करियरबाट अलग भएका थिए ।उनले बर्खास्त भए पनि बताए—यो वर्ष जटिल भएको थियो । तर अदभूत रहेको छ । जब मलाई युभेन्टसले सम्पर्क ग¥यो, मैले कुनै जोखिमबारे नसोची जिम्मेबारी लिएको थिएँ ।

इन्टरमिलानमा सिमोन

सिरी ए च्याम्पियन इन्टरमिलानमा सिमोन इन्जागी मेनेजर पदमा आएका छन् । एन्टोनियो कोन्टेले मेनेजर पद छाडेपछि इन्टरले सिमोनलाई आगामी २ सिजनका लागि क्लबको मेनेजरमा नियुक्त गरेको हो । सिमोनले सिरी ए कै क्लब लाजियो छाडेका थिए ।कोन्टेको भविष्य अहिलेसम्म निश्चितता भएको छैन । उनले स्पेनी ला लिगा क्लब रियल मेड्रिडमा जिम्मेबारी सम्हाल्ने जनाएका छन् । रियलबाट जिनेदिन जिदानले मेनेजर पदक छाडेका थिए । रियलले हालै सम्पन्न सिजनको ला लिगा दोस्रो स्थानबाट समाप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्