कोपा खेल्ने टोलीमा २८ खेलाडी



लन्डन, (एजेन्सी) ।

दुई सातापछि शुरू हुने कोपा अमेरिका फुटबलका लागि आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले प्रत्येक टिममा २८ खेलाडी राख्न पाउने नयाँ व्यवस्था गरेको छ ।जसअनुसार यसपटकको प्रतियोगिता खेल्ने सबै देशले टोलीमा २८ जनासम्म खेलाडी समावेश गर्न पाउने भएका छन् । शुक्रबार कन्मेबोलले अफिसियलरूपमा जानकारी दिँदै यसपटकको प्रतियोगिताका लागि प्रत्येक राष्ट्रिय टिममा २८ जनासम्म खेलाडी टोलीमा राख्न पाउने सुविधा दिएको हो । यो निर्णयले टोलीहरूलाई प्रतियोगिता अवधिमा खेलाडीको फिटनेसका कारण आइपर्न सक्ने समस्या र सम्भावित दबाब कम हुने अपेक्षा गरिएको छ । कोरोना भाइरसको महामारी र त्यसको सम्भावित असरलाई ध्यान दिँदै महासंघले देशहरूलाई समस्या नपरोस् भन्नका लागि २८ जना खेलाडी टोलीमा राख्ने सुविधा दिने निर्णय गरेको हो ।

यसअघि, कोपामा एक देशले टोलीमा जम्मा २३ जना मात्रै खेलाडी राख्न पाउने व्यवस्था थियो । तर, अब नयाँ व्यवस्थासँगै पाँच जना थप खेलाडीसहित जम्मा २८ जना खेलाडीलाई टोलीमा समावेश गर्न पाइने भएको छ । महासंघले जुन १ भित्रमा सबै देशलाई आ–आफ्नो प्रारम्भिक टोली घोषणा गरिसक्न पनि समयसीमा तोकेको छ ।यो निर्णय हुनुअघि केही देशले आफ्नो टोली घोषणा गरिसकेका छन् । ती सबै देशले २३ सदस्यीय टोली मात्रै समेटेका छन् । नयाँ निर्णय भएअनुसार अब ती देशले पाँच जना खेलाडी थप गर्न पाउने भएका छन् । कोपा अमेरिका शुरू हुनुअघि सबै देशले फिफा विश्वकपअन्तर्गत दुईवटा छनोट म्याच खेल्ने तालिका रहेको छ । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपाको ४७औं संस्करण जुन १३ तारिखदेखि जुलाइ १० सम्म चल्ने तालिका रहेको छ । यसपटकको कोपा अर्जेन्टिनामा हुँदैछ ।

तर, त्यहाँको फुटबल संघले कोरोना महामारीलाई कारण देखाउँदै सम्पूर्ण फुटबल गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । हालसम्म प्रतियोगिता कहाँ हुने भन्ने यकिन भइसकेको छैन । यदि, अर्जेन्टिनामा प्रतियोगिता सञ्चालन गर्न नसकिने अवस्था आएमा अन्य देशमा सारेर भए पनि प्रतियोगिता गर्ने सम्भावना छ । यसपटक प्रतियोगितामा कुल १० देशले सहभागिता जनाउनेछन् । यसअघि, निर्णय भए अनुसार दुई पाहुना टोली कतार र अस्ट्रेलियालाई भने प्रतियोगितामा समावेश नगर्ने निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्