रोनाल्डो युनाइटेडमा फर्कने चर्चा



लन्डन, (एजेन्सी) ।

युरोपियन फुटबलको ट्रान्सफर बजारमा क्रिस्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा फर्काउने चर्चाको विषय व्यापक चलेको छ । युभेन्टस् र म्यानचेस्टर युनाइटेडबीच कुरा मिलेमा रोनाल्डो ओल्ड ट्राफोर्डमा अवतरण हुन सक्नेछन् जहाँ उनले पहिले पनि खेलिसकेका थिए । इटालीको गाजेटा डेलो स्पोर्टले दाबी गरेअनुसार युनाइटेडका पउल पोग्बा र रोनाल्डोबीच साटासाट गर्ने युभेन्टस्को योजना रहेको छ ।

युनाइटेडका मेनेजर ओले गनार सोल्सजाएरले रोनाल्डोलाई ल्याउन चासो देखाइरहेको पनि बताइएको छ । रोनाल्डोले युभेन्टस् छाड्ने कुरा उनको इन्स्टाग्राममा खुलाइरहेका छन् । हालै सकिएको सिजनमा युभेन्टस्को प्रदर्शन निकै खस्केको थियो । उपाधि जित्न नसकेको युभेन्टस्ले अन्तिम खेल जितेर बल्लतल्ल आगामी च्याम्पियन्स लिगमा खेल्ने तय गरेको थियो ।यही कारणले गर्दा मेनेजर एन्ड्रिया पिर्लोको जागिर पनि खोसिएको थियो । उनको स्थानमा अहिले मेसीमिलियानो अलेग्री आएका छन् । अलेग्रीले पहिले पनि युभेन्टस् सम्हालेका थिए । त्यतिबेला अलेग्रीले युभेन्टस्लाई लगातार पाँचपटक सिरी ए च्याम्पियन बनाएका थिए । उनको नेतृत्वमा पोग्बाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रोनाल्डोले उनको इन्स्टाग्राममा पोस्ट गरेर युभेन्टस् छाड्ने सङ्केत गरेका छन् । उनले उल्लेख गरेका थिए—यो वर्ष हामीले सिरी ए जित्न सकेनौं, इन्टर उपाधिको हकदार थियो, उनीहरूलाई बधाई छ । जबकी मेरो मूल्याङ्कन गर्दा मैले व्यक्तिगत र समूहगत धेरै पाएँ पनि । यस सिजनमा इटालियन सुपरकप, इटालियन कप र सिरी ए शीर्ष गोलकर्ताको ट्रफी मैले पाएर खुशी भएको छु । मैले पहिलो दिन इटालीमा पाइला टेकेर जुन कुरा सोचेको थिएँ यी उपलब्धिहरूले मलाई मेरो लक्ष्यमा पु-याए ।यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि रोनाल्डोलाई क्लबमा भित्र्याउने सोचमा रहेको छ । पीएसजीले किलियन एमबाप्पेलाई बेचेमा रोनाल्डोलाई अनुबन्ध गर्न सक्ने पनि फ्रेन्चको स्पोर्ट मिडियाले खुलासा गरेको छ । एमबाप्पेको पीएसजीसँग सम्झौता अन्तिम वर्षमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्