मनिषले गरे डेब्युमै गोल



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपालले इराकसँग शनिबार राति खेलेको अन्तर्राष्ट्रिय मैत्री खेल ६–२ ले गुमाएको छ । विश्वकप छनोट खेलहरू खेल्नुअघि खेलेको उक्त खेलमा नेपालले दुई गोल गर्न सफल भयो । नेपालका लागि दुई गोलमा एक आत्मघाती थियो भने अर्को गोल मनिष डाँगीले गरेका थिए । मनिषको गोलमा नेपालले खेलमा पहिलोपटक २–१ को अग्रतासमेत बनाएको थियो । तर, यसपछि नेपालले ५ गोल आत्मसात गरेर नतिजा इराकलाई सुम्पेको थियो ।

मनिष डेब्यु खेलमै गोल गर्न सफल भएका थिए । इराकको मैदानमा सन्तोष तामाङले दिएको बललाई नियन्त्रण गर्दै इराकको गोलपोस्ट हल्लाइदिएको थियो । इराकका गोलकिपरले डिबक्सको लाइनसम्म आएर मनिषलाई असफल तुल्याउन खोजेका थिए । तर, मनिषले उनले बल लिनुअघि नै प्रहार गरेको बल खाली पोस्ट चुम्न पुगेको थियो ।मनिष भने सो खेलमा खुशी भए पनि नतिजामा दुःखी भएका थिए । उनले बताए—‘डेब्यु खेलमा गोल गर्दा खुशी छु । तर, नतिजालाई लिएर दुःख लागेको छ । भविष्यमा अझै मिहिनेत गरेर राम्रो प्रदर्शन गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्