कोभिड–१९ होम आइसोलेसनलाई सहज बनाउन प्राकृतिक चिकित्सा



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

कोभिडको महामारीसँगै भयावहपनको समाचार फैलिएको छ । रोग सर्ला, मरिएला भन्ने नकारात्मक सोच विकसित भएको छ । तर कोभिड भएर बाँच्नेहरुको संख्या पनि धेरै छ । म पनि ठीक हुन्छु भन्ने विचार लिएमा र आइसोलेसनमा केही सरल नियमहरुको पालना गरेमा लाभ मिल्छ । यहाँ सहज तरिकाले प्रयोग गर्न सकिने केही उपायका बारेमा जानकारी दिइएको छ । म र मेरा परिवारका सदस्यहरुले समेत कोभिडको संक्रमण हुँदा यी विधिहरुको प्रयोग गरेका थियौं, जसले हामीलाई निकै सजिलो भयो । हाल हामी सबै जना स्वस्थ छौं, यो अनुभव बाँड्न चाहन्छु ।

सुरक्षित बसाइ

कोरोना पोजेटिभ भयो भने अलग्गै कोठामा बस्ने र छुट्टै चर्पी प्रयोग गर्ने गर्नुपर्दछ । खाने भाँडाकुँडा, रुमाल आफैंले धोएर अलग्गै घाममा सुकाउनुपर्छ । सुत्ने कोठा घाम छिर्ने हुनुपर्छ, हावा आवतजावत गर्न झ्याल खुला राख्नुपर्छ । गाह्रो भएमा खुल्ला ठाउँमा बस्नुपर्छ । घोप्टो, कोल्टो, उत्तानो आदि विभिन्न स्थिति परिवर्तन गर्दै सुत्नुपर्छ । बस्दा वा सुत्दा जुनसुकै समय पनि गहिरो श्वासप्रश्वास गर्नुपर्दछ ।

म र मेरा परिवारका सदस्यहरुले समेत कोभिडको संक्रमण हुँदा यी विधिहरुको प्रयोग गरेका थियौं, जसले हामीलाई निकै सजिलो भयो । हाल हामी सबै जना स्वस्थ छौं ।

शारीरिक जाँच

डिजिटल थर्मामिटर किनेर राख्नुहोस् र बेला–बेलामा ज्वरो नाप्नुहोस् । ज्वरो भएमा चिसो पट्टी लगाउने वा पारासिटामोल खाने वा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

कोभिड हुँदा अक्सिजन घट्न सक्छ । पल्स अक्सिमिटर घरमा राख्नुपर्छ । अक्सिजन घटेको छ कि छैन हेरिराख्नुपर्छ । औंला चिसो छ भने सही नतिजा नआउन सक्छ । सामान्य अवस्थामा अक्सिजनको प्रतिशत ९५ वा सो भन्दा बढी हुनुपर्दछ, पुराना दमको बिमारीमा वा स्लिप एप्निया (निद्रामा श्वास फेर्न गाह्रो हुने समस्या) जस्ता व्यक्तिमा ९० प्रतिशत अक्सिजनले पनि धानिरहेको हुन्छ । त्यसैले यस्ता व्यक्तिहरुले सामान्यतया ९० प्रतिशतभन्दा घटी भएमा ध्यान दिइहाल्नुपर्छ । पल्स अक्सिमिटरमा हातको औंला ३० देखि ६० सेकेन्डसम्म राखेपछि त्यसमा नाडीको गति र अक्सिजनको प्रतिशत थाहा हुन्छ । अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम देखियो भने दोहोरो हावा चल्ने खुल्ला स्थानमा बिरामीलाई राखेर गहिरो श्वासप्रश्वास वा प्राणायामको अभ्यास गराउनुपर्छ । अक्सिजनको कमी भएर तुरुन्तै ज्यान जान सक्छ, समयमै अक्सिजनको मापन गरी अक्सिजन दिनुपर्ने भएमा स्वास्थ्य केन्द्र लगिहाल्नुपर्दछ ।

सामान्य श्वासप्रश्वास प्रतिमिनेट दर १२ देखि १६ पटक मानिन्छ । यसको जाँच गर्दा अन्य कुराकानीका अवसरमा बिरामीले चाल नपाउने गरी, उसलाई श्वासप्रश्वासमा सजग नबनाईकन एक मिनेटमा कति पटक श्वास फेरेको छ, याद गर्नुपर्दछ । सामान्यभन्दा धेरै पटक श्वास फेरेको छ भने सावधानी अपनाउनुपर्छ । संक्रमण केही बढी हुँदा श्वासको दर प्रतिमिनेट २४–२५ भन्दा धेरै पटक हुन सक्छ र अक्सिजन ९० प्रतिशतसम्म झर्न सक्छ । संक्रमण तीव्र भएर गम्भीर अवस्थामा श्वासको दर ३० भन्दा बढी हुन सक्छ र अक्सिजन घटेर ९०–८५ प्रतिशत वा अझै तल झर्न सक्छ । यस्तो अवस्थामा अक्सिजन दिँदै तुरुन्तै अस्पताल पुर्‍याउनु जरुरी छ ।

अन्य जाँच

पुराना रोगका बिरामीहरुले रक्तचाप, ग्लुकोजलगायत रोगअनुसारका आवश्यक जाँचहरु गर्नु÷गराउनुपर्दछ । यसबाहेक आइसोलेसनमा बस्दा जटिलता आएमा तुरुन्तै चिकित्सकको सल्लाह लिइहाल्नुपर्दछ ।

जलनेति

१. सानो करुवामा मनतातो पानी भर्नुस् र उक्त पानीमा आधा चम्चा नून हाल्नुस् ।

२. कागासन (टुक्रुक्क बसेर) वा उभिएर हातमा उक्त जलनेति भाँडो वा करुवालाई अड्याउनुस् र टाउको बायाँतिर केही मात्रामा ढल्काएर मुख खोली दायाँ नाकको प्वालबाट पानी छिराउनुस् । मुखले श्वास फेर्नुस् । पानी ढल्किएको तिरको नाकको प्वालबाट आउँछ । कसैलाई नाक बन्द छ भने उक्त पानी मुखबाट पनि आउन सक्छ ।

३. एक भाँडो पानी एकातिरको प्वालबाट निकालिसकेपछि त्यसरी नै एक भाँडो पानीलाई टाउको दायाँतिर ढल्काएर नाकको बायाँ प्वालबाट पनि त्यसरी नै अभ्यास गर्नुहोस् ।

४. नाकभित्र अड्किएको पानीलाई कान थुनेर, निहुँरिएर टाउको तल, दायाँ–बायाँतिर हल्लाउँदै हल्का सीँ–सीँ गरेर निकाल्नुपर्छ । १५–२० पटक हल्लाएपछि सीधा उभिई माथितिर फर्केर १५–२० पटक श्वास नाकबाट तीव्र गतिमा लिने–छोड्ने गर्नुपर्छ ।

सावधानी: कानको समस्या जस्तै– कान पाक्ने, कान दुख्ने र जालीसम्बन्धी समस्या भएका व्यक्तिहरुले जलनेति नगर्नुहोस् । अन्य अवस्थामा प्रत्यक्षरुपमा सिकेर अभ्यास गर्नु ठीक हुन्छ ।

हुन सक्ने लाभहरु: कोभिड संक्रमणलगायत अरु बेला पनि नाक सुख्खा हुने, नाकबाट रगत आउने, खोकी, घाँटी दुख्ने, आँखा दुख्ने–पोल्ने, आँखा धमिलो हुने, श्वास फेर्न गाह्रो हुने आदि समस्यामा लाभ पुग्छ । यसका साथै नाक गन्हाउने, स्वाद तथा गन्ध हराउने, निद्रा नलाग्ने, मानसिक तनाव आदिमा पनि फाइदा गर्दछ ।

बाफ लिने

१. बाफ लिने इलेक्ट्रिक उपकरण पाइन्छ । पानी उमालेर सानो डेक्ची आदिमा राखेर पनि बाफ लिन सकिन्छ । प्रेसर कुकरमा पानी हाली त्यसको सिटी निकालेर प्लास्टिकको लामो पाइप जोडेर पनि बाफ प्रयोग गर्न सकिन्छ ।

२. बाफ आउँदा लगातार मन्द गतिमा आउने हुनुपर्दछ ताकि त्यसले अनुहारमा नपोलोस् । चर्को बाफ कदापि आउनुहुँदैन ।

३. मन्द बाफमाथि अनुहार पर्ने गरी बस्नुहोस् र रुमाल (टावेल) ले अनुहारलाई छोपेर आँखा चिम्लनुस् र बिस्तारै लामो श्वास नाकबाट तान्नुहोस् । बलपूर्वक तान्नुहुँदैन, सर्किने सम्भावना हुन्छ ।

४. चार–पाँचपटक नाकबाट श्वास लिएपछि एक–दुईपटक मुखबाट पनि श्वास लिनुहोस् । घाँटी दुखेको वा कफ जमेको भए मुखबाट बाफ लिँदा घरी–घरी जिब्रो बाहिर निकाली तन्काउने पनि गर्नुहोस् ।

५. बाफले पोलेमा वा बढी तातो आएमा स्वीच अफ गर्ने वा अनुहारलाई बाफबाट अलि टाढा लैजाने गर्नुहोस् ।

६. रुघाखोकी चर्को भएमा ५–१० मिनेट र ठीकै छ भने ५–७ मिनेट बाफ लिनुहोस् । दैनिक एकदेखि तीनपटक बाफ लिन सकिन्छ ।

सावधानी : यदि नाकबाट रगत आएको वा नाकमा घाउ छ भने बाफ नलिनुहोस् । नाक बढी सुख्खा छ भने धेरै तातोमा बाफ नलिई जलनेति गरेपछि अलि टाढाबाट २–३ मिनेट मात्र बाफ लिनुहोस् ।

हुन सक्ने लाभहरु : नाक बन्द, रुघा, खोकी, घाँटी दुख्ने, आँखा दुख्ने–पोल्ने, श्वास फेर्न गाह्रो हुने आदि समस्यामा लाभ पुग्छ । यसका साथै नाक गन्हाउने, स्वाद तथा गन्ध हराउने, टाउको दुख्ने, निद्रा नलाग्ने, तनाव आदिमा पनि फाइदा गर्दछ ।

कुञ्जल, जलधौति

१. पिउनयोग्य स्वच्छ पानीलाई मनतातो बनाउनुहोस् । उच्च रक्तचाप नभएकाहरुले पानीमा थोरै नून हाली हल्का नुनिलो बनाउनुहोस् ।

२. कागासनमा (टुक्रुक्क) बसेर पानी पिउनुहोस् । विश्राम नलिईकन लगातार दुई–तीन लिटर वा वाक्क नहुन्जेल पानी पिउनुहोस् ।

३. अब पिउन नसकिने भयो भन्ने लागेपछि उभिएर करिब १०–२० पटक पेटलाई भित्र–बाहिर गर्ने गरी पेट हल्लाउने (अग्निसार क्रिया) गर्नुहोस् ।

४. केही निहुँरिएर बायाँ हात पेटमा राखी दायाँ हातको चोर, माझी र साहिँली औंलालाई मुखभित्र लगी हल्कासँग जिब्रोमा दल्ने गर्दै पेटभित्रको पानीलाई वमन गरेर बाहिर निकाल्नुहोस् । यस प्रक्रियालाई पटक–पटक गर्नुहोस् ।

५. पानी लगभग सबै निस्कियो भन्ने लागेपछि दाहिने हातको बूढी औंलाले जिब्रोभन्दा माथि नरम तालुमा हल्का स्पर्श गर्नुहोस् । यसबाट थप पानी वमन हुन्छ । २–४ पटक यस्तो गर्नुहोस् ।

६. वमन गर्दा आँसु, खकार, र्‍याल, अम्लपित्त, तीतो पित्त आउन सक्छ । यस्तो गरिसकेपछि सामान्य चिसो पानीले मुख धुनुपर्छ र शवासनमा केही बेर आराम गर्नुपर्छ ।

सावधानी: यस विधिको अभ्यास गर्नुपूर्व नङ काट्नुपर्छ । घाँटी तथा छाती दुख्दा, रिँगटा लाग्दा, खकारमा रगत आउँदा, कमजोरी अवस्थामा गर्नुहुँदैन । यसका साथै ज्वरो, ब्रोङ्काइटिस, अल्सरमा पनि वमन क्रिया गर्नुहुँदैन । गर्दागर्दै कुनै अप्ठ्यारो भएमा बीचमै रोक्नुपर्छ ।

हुन सक्ने लाभहरु: कोभिडमा बढी खोकी, कफ जम्ने, घाँटी खसखस हुने, स्वादहीनता, गन्धहीनता, नाकको बढी सुख्खापन, हाइपर एसिडिटी, टाउको दुखाइजस्ता समस्याहरुमा यो विधि उपयोगी छ ।

तातो पानीमा खुट्टा डुबाउने

१. एक गिलास तातो पानी पिई टाउकोमा चिसो रुमाल बाँध्नुहोस् ।

२. खुट्टा अटाउने बाल्टीमा एक जगजति ठीक्कको तातो पानी हाल्नुस् र त्यसमा दुवै खुट्टा डुबाउनुस् ।

३. पानी नसेलाउँदै तातो पानी थप्ने (खुट्टामा नपोल्ने गरी) र १०–२० मिनेटसम्म बस्नुहोस् ।

४. अन्त्यमा चिसो पानीले खुट्टा पखाल्नुहोस् र मुख धुनुहोस् ।

सावधानी: रिँगटा लागेको अवस्था, बढी कमजोरी हुँदा, ज्वरो, उच्च रक्तचाप बढी हुँदा, नाकबाट रक्तश्राव भएमा, पिसाबसम्बन्धी समस्या भएमा गर्नुहुँदैन ।

हुन सक्ने लाभहरु: सास फेर्न गाह्रो, रुघाखोकी, कफ जम्ने, घाँटी खसखस हुने, दम बढ्ने, निमोनिया, जीउ दुख्ने, ज्वरो आउनुपूर्व जीउ सिरिंग हुने वा ज्वरो आउलाजस्तो भएमा र टाउको दुख्दा यसले फाइदा हुन्छ ।

गार्गल र कुल्ला

१. ठीक्कको तातो नून–पानी वा नून र बेसार–पानी, नीम र नून–पानीमध्ये कुनै एकले गरर्र गर्न सकिन्छ ।

२. यसरी नै फिट्किरी–पानी वा कुनै माउथ वासले पनि घाँटी ठाडो गरी गार्गल गर्ने र थुक्ने गर्न सकिन्छ । साथै कुल्ला पनि गर्नुहोस् ।

सावधानी: धेरै तातो पानीको प्रयोगले हानि गर्न सक्छ ।

हुन सक्ने लाभहरु: कोभिडमा घाँटी दुख्ने, खोकी लाग्ने, कफ जम्ने, घाँटी खसखस हुने, घाँटीमा अड्केको जस्तो हुने, स्वर बस्नेजस्ता समस्याहरु भएमा गार्गलले फाइदा गर्दछ । दिनको ४–५ पटक नै अभ्यास गर्न सकिन्छ ।

तातोले सेक्ने

रुघाखोकी छ भने नाकको वरपर र घाँटी तथा छातीमा हट वाटर ब्यागमा तातो पानी हालेर सेक्दा लाभ हुन्छ । मांसपेशी दुखेको ठाउँमा तातो रबरको थैला वा कपडालाई तातो पानीमा चोबेर सेक्न सकिन्छ ।

सावधानी: ज्वरोमा तातोले सेक्नुहुँदैन ।

हुनसक्ने लाभहरु: तातोले यसरी सेक्दा रुघाखोकीलाई कम गर्छ । श्वास फेर्न सजिलो हुन्छ । दुखाइ पनि कम हुन्छ ।

मालिस गर्ने

मांसपेशी दुख्दा तातोले सेकेर सेल्फ मसाज, स्पन्ज गर्न सकिन्छ । टाउको दुख्दा पनि टाउकाको मालिस गर्ने, चारैतिर मिच्ने, थिच्ने गर्दा दुखाइमा कमी हुन्छ ।

सावधानी: ज्वरोमा मालिस गर्दा चिसो पट्टी निधार र पेटमा लगाउनुपर्छ । टाउकोमा चिसो पट्टी लगाउनुुपर्छ । तातोले ज्वरो बढाउन सक्छ ।

हुनसक्ने लाभहरु: दुखेकोमा तेल लगाएर मालिस गर्दा दुखाइ कम हुन्छ ।

घाम ताप्ने

एक गिलास पानी पिउने, टाउको छोपिने गरी चिसो रुमाल बाँध्ने, आँखा पनि चिसो पट्टीले छोप्नुहोस् । बिहान ७ बजेदेखि ११ बजेसम्मको घाममा कम लुगा लगाएर सुत्नुहोस् र सुतुन्जेल पनि गहिरो श्वासप्रश्वास गरिरहनुहोस् । २०–३० मिनेटपछि मुख–हात धुनुहोस् ।

सावधानी: ज्वरोमा यसो गर्नुहुँदैन ।

हुन सक्ने लाभहरु: रुघाखोकी, जीउ दुख्ने, श्वास फेर्न गाह्रो हुने आदि समस्यामा पनि लाभ पुग्छ ।

औषधि र जडीबुटी

तातो पानी: तातो पानी पटक–पटक पिउनुहोस् । रुघाखोकीको समस्यामा तातो पानीको प्रयोग बढाउनुपर्छ । पेट र घाँटी दुख्ने भएमा थोरै नून र बेसार मिसाएर पिउने गर्नुपर्छ । यदि उच्च रक्तचाप र मधुमेह छैन तर पखाला लागेको छ भने वा न्यून रक्तचापमा मनतातो पानीमा जीवनजल मिसाएर पिउन सकिन्छ । तर पिउने पानी धेरै बढी तातो हुनुहुँदैन । फलपूmल खाइसकेपछि अनिवार्यरुपले तातो पानी पिउनुपर्छ ।

भान्सामा पाइने मसलाहरुलाई तातो पानीमा मिसाई पकाएर दिनमा एक–दुईपटक पिउन सकिन्छ । यसमा टिमुर, पुदिना, ल्वाङ आदि पनि मिसाएर पिउन सकिन्छ । ध्यान रहोस् कि दिसा कब्जियत, पिसाब पोल्ने, नाकबाट रगत आउने र पाइल्स छ भने गरम मसलाहरु धेरै खानुहुँदैन ।

जडीबुटी चिया: तुलसी चिया, गुर्जोको चिया, ग्रीन टी आदिलाई दैनिक एक–एक कप पिउन सकिन्छ । यसरी नै फिका चियामा कागती राखेर वा फिका चियामा तुलसी, गुर्जो (थोरै) मिसाएर पनि एक–दुई कप पिउन सकिन्छ । तातो पानीमा कागती र मह मिसाएर दैनिक दुईपटक पिउनु पनि लाभदायक हुन्छ । तातो पानीमा ताजा अमला पिसेर वा अमलाको धूलो राखी एकपटक पिउन सकिन्छ ।

तातो सूप: हरियो तरकारीहरुको मिश्रित सूप, कुरिलोको सूप, क्वाँटीको सूप, मुगको दालको झोल खान सकिन्छ । यसरी नै कोदो, फापर, जौ, ओट्स आदिको मिश्रित पातलो खोले वा सूप खान पनि सकिन्छ ।

गोल्डेन मिल्क: तर निकालेको एक गिलास दूधमा आधा चम्चा बेसार हालेर सुत्नुअघि पिउन सकिन्छ ।

विभिन्न लक्षणहरुमा

खोकी र स्वर बसेमा: हर्रो चुस्नाले सुख्खा खोकी कम हुन्छ । अथवा पिप्ला, सुठो, मरिच र अदुवाको धूलो समभाग मिलाएर पिसी एकचम्चा महमा मिसाई दिनको २–३ पटक चाट्दै खाँदा खोकी कम हुन्छ । बोझो चुस्नाले स्वर बस्ने कम हुन्छ ।

घाँटी दुखेमा: जीरा चुस्नाले घाँटी दुख्नेमा कम हुन्छ । माथि भनिएको गार्गलका विधिहरुले पनि फाइदा गर्छ ।

ज्वरोमा: चिसो पट्टी निधार, पेट र गर्दनमा लगाउँदा ज्वरो घट्छ । प्राकृतिक चिकित्सालयमा मड थेरापीको पनि प्रयोग गर्ने गरिन्छ । ज्वरो कम गर्न पारासिटामोलको पनि प्रयोग गर्न सकिन्छ वा चिकित्सकको सल्लाहअनुसार गर्नुहोस् ।

छालामा एलर्जी भएमा: छालामा ताजा कागती दुई–चार मिनेट रगडेपछि तत्कालै तातो पानीले नुहाउनुहोस् । नीम र कागती–पानी (तातो) ले पखाल्दा पनि फाइदा हुन्छ ।

अप्रमाणित र सुनेको भरमा औषधि वा जडीबुटी नखानुहोस् । प्रयोग गर्नुपूर्व सम्बन्धित विज्ञको सल्लाह लिनुहोस् । कुनै पनि हल्लामा नअल्मलिनुहोला ।

आत्मबल बढाउनुस्

कोभिडमा विभिन्न समाचारहरुले विचलित बनाउन सक्छ । डर नमानी नियमहरु पालना गरेर शुरुदेखि नै सतर्कता अपनाउनुपर्छ । योगविज्ञहरुसँग सम्पर्क गरी राम्ररी बुझेर नियमित योगका अभ्यासहरु गर्नुहोस् । व्यायाम (जोर्नी चलाउने सजिला अंग व्यायामहरु), आसन (सूर्य नमस्कार, शवासन, वज्रासन, शशंकासन, सिंहासन, उष्ट्रासन, तीर्यक भुजंगासन, मत्स्यासन, सुप्त वज्रासन आदिमध्ये गर्न सक्ने मात्र), प्राणायाम (अनुलोम–विलोम, सूर्यभेदी, चन्द्रभेदी, नाडीशोधन आदि), धारणा, ध्यान, शोधन क्रियाहरु आदि अभ्यास गर्नुहोस् ।

यसरी नै रमाइला फिल्म, दृश्य तथा हँसाउने कार्यक्रमहरु हेर्नुहोस् । गाउनुहोस्, नाच्नुहोस्, हाँस्नुहोस् । मनमा आनन्द आउने क्रियाकलापहरु गर्नुहोस् । सकारात्मक सोच्नुहोस् । समयमै खाने, सुत्ने, आराम गर्ने गर्नुहोस् । मल्टिभिटामिन, भिटामिन सी, जिन्क, ताजा फल, तरकारी आदि खानुपर्दछ । स्वस्थकर खानपान र जीवनशैली अपनाउनुपर्दछ ।

तस्वीरहरू: विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र
प्रतिक्रिया दिनुहोस्