खतरनाक हो “पोस्ट कोभिड सिन्ड्रोम” ?



लक्ष्मण अधिकारी

कोभिड–१९ को महामारीले सर्वत्र आक्रान्त पारिरहेको वर्तमान सन्दर्भमा कोभिड निको भइसकेपछि पनि ‘पोस्ट कोभिड सिन्ड्रोम’ ले पछिसम्म दुःख दिने आशयका प्रकाशनहरु भइरहेकाले त्यसले थप त्रास सिर्जना गरिदिएको छ । कोभिड निको भइसकेपछि पनि त्यसले पोस्ट कोभिड सिन्ड्रोमको रुपमा मुटु, मिर्गौला, मस्तिष्क, कलेजो आदिमा असर गर्नुका साथै मानसिक स्वास्थ्यमा पनि समस्या आउने भएकाले सतर्कता अपनाउन तथा बेलैमा त्यसको उपचार गर्न कतिपय स्वास्थ्य संस्थाहरुले सुझाव दिइरहेका छन् । कतिपय विकसित देशहरुमा त पोस्ट कोभिड सिन्ड्रोमको उपचार गर्न तथा परामर्श दिनका लागि अस्पतालहरुमा थप उपचार कक्षको व्यवस्था गर्न थालिएको छ ।

तर नेपालमा भने पोस्ट कोभिडको भन्दा कोभिड हुनुअघि र कोभिड भइसकेको अवस्थामा अपनाउनुपर्ने सतर्कता र उपचारलाई नै प्राथमिकता दिनुपर्ने चिकित्सकहरुको राय छ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ, ‘कोभिड भएर निको भइसकेका बिरामीहरु एकदमै कमजोर अनुभव भयो भनेर गुनासो गर्छन् । सबै सिम्टमहरु ठीक भएर पनि मानिस ठीक नभएको स्थिति पाइएको छ । कोभिड भएर निको भइसकेका बिरामीहरुमा मिर्गौलामा क्षति पुगेको हुन्छ । तर पछि देखा पर्ने पोस्ट कोभिड सिन्ड्रोमको समस्याभन्दा अहिले नै मिर्गौलाको समस्या भएका बिरामीमा कोभिड हुँदा गम्भीर स्वास्थ्य समस्या देखिने र मृत्युसमेत हुने समस्याचाहिँ ठूलो छ ।’

त्यस्तै गरी वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठ पोस्ट कोभिडको समस्याभन्दा पनि मानसिक समस्याका दृष्टिले प्रिकोभिड सिन्ड्रोम गम्भीर समस्याको रुपमा रहेको बताउनुहुन्छ ।

यस्तै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल ‘मुटुरोगका दृष्टिले पोस्ट कोभिड सिन्ड्रोम ज्यादै न्यूनरुपमा मात्र रहेको तर गम्भीर खालको समस्या नभए पनि रोग लागेको छ भन्ने भ्रम धेरैलाई परिरहेकोले एकपटक सामान्य स्वास्थ्य परीक्षण गराएर भ्रम निवारण गर्न आवश्यक रहेको’ बताउनुहुन्छ ।

साँझतिर अचानक अस्पतालका चिकित्सकले अब १५ मिनेटका लागि अक्सिजन बाँकी छ, कहाँ लैजाने लैजानुस् भनेर गैरजिम्मेवार आदेश दिए ।

औषधि परिवर्तन नगरे ज्यान जान सक्छ

केही दिनअघि मिर्गौला प्रत्यारोपण गरेका एक युवा कोभिड संक्रमण भएपछि काठमाडौंस्थित घरमै आइसोलेसनमा बसेर उपचार गराइरहेका थिए । अचानक एकदिन शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको देखियो । परिवारले आत्तिदै वीर अस्पताल पु¥याए । बिरामीलाई अक्सिजन दिएपछि ठूलो राहत महसुस भयो तर यो अनुभव धेरै बेर टिकेन । साँझतिर अचानक अस्पतालका चिकित्सकले अब १५ मिनेटका लागि अक्सिजन बाँकी छ, कहाँ लैजाने लैजानुस् भनेर गैरजिम्मेवार आदेश दिए । बिरामीका आफन्तहरुले उपचारलाई निरन्तरता दिन जति नै विन्ति गरे पनि अस्पतालले असमर्थता जनायो । आफन्तहरुले आत्तिदै विभिन्न अस्पतालमा फोन गरे । तुरुन्तै बेड पाइएन । धेरै अनुनय–विनय गरेपछि शिक्षण अस्पताल, महाराजगन्जले ‘बिरामी ल्याउनुस् भन्यो ।’ तर त्यति बेला धेरै ढिला भइसकेको थियो, अस्पताल पुग्न नपाई बिरामीको प्राण गयो ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ, ‘मिर्गौला प्रत्यारोपण गरेको बिरामीमा गम्भीर खालको समस्या हुन्छ भन्ने थाहा हुँदाहुँदै दिनभरि उपचार गरेको बिरामीलाई एक्कासी त्यसरी साँझमा बाहिर पठाएर उनीहरुले गल्ती गरे, जसका कारण बिरामीको मृत्यु भयो । त्यहीँ अक्सिजनको व्यवस्था गरिदिएको भए उनी बाँच्ने थिए । अक्सिजनको हाहाकार हुँदा मिर्गौलाका बिरामीलाई धेरै नै समस्या भएको छ, बचाउन सक्ने विरामीको पनि मृत्यु हुनु दुःखद कुरा हो ।’

मिर्गौला रोग भएका बिरामीहरुलाई कोभिड–१९ भयो भने गम्भीर किसिमको स्वास्थ्य समस्या देखिने भएकाले सकेसम्म कोभिडबाट बच्नका लागि हदैसम्मको प्रयास गर्नुपर्ने सम्बद्ध चिकित्सकहरुको सुझाव छ ।

डा. काफ्ले भन्नुहुन्छ, ‘मिर्गौला क्षति भएर डायलासिस गरिरहेका, मिर्गौला प्रत्यारोपण गरेकाहरुमा रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले उनीहरुलाई कोभिड भएमा बढी गम्भीर खालको स्वास्थ्य समस्या हुने देखिएको छ । अझ मिर्गौला प्रत्यारोपण गरेकालाई कोभिड भयो भने ज्यान जान सक्ने खतरा भएकोले यो रोग लाग्न नदिन प्रयास गर्नु जरुरी छ ।’

-डा. ऋषिकुमार काफ्ले मिर्गौला प्रत्यारोपण गरेकालाई कोभिड भयो भने ज्यान जान सक्ने खतरा भएकोले यो रोग लाग्न नदिन प्रयास गर्नु जरुरी छ ।

डा. काफ्ले भन्नुहुन्छ, ‘कोभिडले रोगसँग लड्ने क्षमता कमजोर बनाइदिने भएकाले कोभिड भइहाल्यो भने यस्ता बिरामीले विशेष सतर्कता अपनाउनुपर्छ । मिर्गौला प्रत्यारोपण गरेका र डायलासिस गरिरहेका बिरामीलाई कोभिड भयो भने कुनै औषधि तुरुन्तै बन्द गर्नुपर्ने, कुनैको डोज घटाउने, कुनैको बढाउनुपर्ने हुन्छ । नत्र यसैको कारण ज्यान जाने खतरा हुन्छ । तर जानकारीका अभावमा कतिपयले यस्ता औषधि परिवर्तन नगरी खाइरहेको पाइएको छ, जुन खतरनाक हुन्छ । यस्ता बिरामीमा संक्रमण भएर निमोनिया हुने र बिरामीको मृत्यु हुने सम्भावना हुन्छ । मिर्गौलाको समस्या भएका बिरामीहरुमा कोभिड हुँदा उनीहरुमा रगत जमेर मुटुमा समस्या आई मृत्यु हुने गरेको छ ।’

मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई कोभिड भएमा तुरुन्तै भर्ना गरेर रेम्डेसिभिर दिनेलगायत अरु औषधि पनि मिलाएर दिएमा बचाउन सकिने र त्यस्ता बिरामीहरु अक्सिजन उपलब्ध हुने अस्पतालमा नै भर्ना हुनुपर्ने डा. काफ्लेको सुझाव छ ।

यस्तो हुन्छ ‘पोस्ट कोभिड सिन्ड्रोम’

चिकित्सकहरुका अनुसार सामान्यतया अधिकांशलाई कोभिड–१९ दुई हप्तामा निको हुन्छ । तर कतिपयलाई गम्भीर खालको अवस्था कम भएर निको भए पनि केही असर बाँकी रहिरहन्छ । कोभिड रिपोर्ट नेगेटिभ आउन सक्छ तर यसकै कारण अरु रोगहरु देखिन सक्छन् । जोेनहप्किन्स स्कुल अफ मेडिसिनका विशेषज्ञहरुको भनाइअनुसार कोभिड निको भइसकेपछि पनि कतिपयलाई केही महिनासम्म विभिन्न स्वास्थ्य समस्या ‘पोस्ट कोभिड सिन्ड्रोम’ देखिन सक्छ ।

ती विशेषज्ञहरुका अनुसार, ‘उच्च रक्तचाप भएका, धूमपान गर्ने, मधुमेह भएका, अति मोटोपन भएकाहरुलाई कोभिड १९ ले गम्भीर अवस्थामा पु¥याउने सम्भावना धेरै हुने गरेको भए पनि यी समस्याले कोभिड निको भइसकेकालाई दीर्घकालीन असर पु¥याउने कुराचाहिँ स्पष्ट छैन । वास्तवमा कोभिडको दीर्घकालीन असर त्यस्ता व्यक्तिलाई हुनसक्छ, जसलाई कोभिड हुँदा हल्का खालका लक्षणहरु देखिन्छन् ।’

कोभिडको दीर्घकालीन असर किन देखिन्छ त ? भन्ने सन्दर्भमा उनीहरुको भनाइ छ, ‘कोभिडले फोक्सो, मुटु, स्नायु प्रणाली, मिर्गौला, कलेजो र अरु अंगहरुमा क्षति पुर्‍याएको हुनसक्छ । साथै मानसिक समस्या पनि देखिन सक्छ । रोग लाग्दाको अवस्थाको पीडा र गम्भीर हुँदा आईसीयुमा बसेर उपचार गराउनुपर्दाको तनाव आदि कारणले आघात पुगेर दीर्घकालसम्म असर देखिन सक्छ ।

दीर्घकालीन असरहरु के–के हुन सक्छन् ? भन्ने सन्दर्भमा सेन्टर फर डिजिज कन्ट्रोलको भनाइ छ, ‘दीर्घ असरका रुपमा स्वाँस्वाँ हुने, थकाइ लाग्ने, खोकी लाग्ने, जोर्नीहरु दुख्ने, छाती दुख्नेजस्ता समस्या हुनसक्छन् । साथै डिप्रेसन हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने, मुटुको चाल बढ्ने र ज्वरो तल–माथि भइरहने समस्या पनि हुनसक्छ । कोभिड भएका केहीलाई मुटु सुन्निनेलगायतका मुटुसम्बन्धी समस्या हुनसक्छ । एक अध्ययनअनुसार कोभिडबाट निको भएका ६० प्रतिशतमा मुटुका मांसपेशी सुन्निएको पाइएको छ । जसका कारण स्वाँस्वाँ हुने, धड्कन बढ्ने भएको छ । यस किसिमको समस्या पहिले नभएका र कोभिड हुँदा पनि हल्का खालको समस्या देखिएकालाई भएको छ । कोभिडले स्वाद थाहा पाउने र बास्ना लिने कोषलाई क्षति पु¥याउने भएकोले कोभिड निको भइसकेपछि पनि उनीहरुको बास्ना र स्वादमा असर पर्न सक्छ । यसले जीवनलाई नै जोखिम पार्ने त होइन तर पाचनमा असर पर्ने, चिन्ता हुने र डिप्रेसन हुने सम्भावना हुन्छ ।’

कोभिड नलागी मानसिक समस्या

रोग लागिसकेपछि मात्र होइन, रोग लाग्नुभन्दा अगाडि नै ‘प्रिकोभिड सिन्ड्रोम’ का रुपमा विभिन्न मानसिक समस्या देखिने गरेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘कोभिड लाग्नुअगाडि नै विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्या लिएर उपचारमा मानिसहरु आउने गरेका छन् । अहिले एन्जाइटी निकै नै बढेको छ । कहिल्यै एन्जाइटी नभएकालाई पनि एन्जाइटी भएको छ । उनीहरुमा मुटु ढुकढुक हुने, डर लाग्ने, सास फेर्न गाह्रो हुने, निद्रा नलाग्ने, छटपटी हुनेजस्ता समस्या कोभिड हुनुअगाडि भएको पाइएको छ । पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेको तर पूरा निको नभएका बिरामीमा रोगका लक्षणहरु बढेको र रोग पूरा निको भइसकेकाहरुमा रोग बल्झिएको पाइएको छ । यस्ता केस मकहाँ धेरै आएका छन् । कहिल्यै मानसिक रोग नभएकालाई पनि कोभिडको त्रासले गर्दा मानसिक रोग भएको पाइएको छ । यस्तालाई प्रायः एन्जाइटी डिसअडर भएको देखिएको छ । कोभिड नलागीकन नै यस किसिमको समस्या आउनुको कारण इपिडेमिक (महामारी) ले भन्दा पनि ‘इन्फोडेमिक’ (अफवाह) ले भएको छ । मिडियाले सही सूचना दिनुपर्छ, साथै सकारात्मक समाचारहरु बढी दिनुपर्छ । नकारात्मक तथा आम मानिसमा त्रास फैलाउने सामग्रीहरु सकेसम्म प्रकाशन गर्नुहुन्न । सम्बन्धित विशेषज्ञहरुले पनि सही स्वास्थ्य सामग्रीहरु प्रकाशमा ल्याउनुपर्छ । यसो गर्न सके प्रिकोभिड सिन्ड्रोममा कमी आउन सक्छ ।’

-डा. निराकारमान श्रेष्ठ सरकारले सकेसम्म छिटो सबैलाई भ्याक्सिन लगाउने व्यवस्था गर्नुपर्छ ।

डा. श्रेष्ठ भन्नुहुन्छ, ‘कोभिड निको भइसकेकालाई पनि जीउ गल्ने, निद्रा नलाग्ने, छटपटी हुने र अरु कुनै रोगको लक्षणसँग नमिल्ने खालका समस्याहरु पोस्ट कोभिड सिन्ड्रोमको रुपमा देखिने गरेको पाइएको छ । कोभिड भइरहेका बेला एन्जाइटी, डिप्रेसनलगायतका विविध किसिमका मानसिक समस्या हुने त भइगयो ।’

पूर्व स्वास्थ्य सचिवसमेत रहनुभएका डा. श्रेष्ठ कोभिडको दोस्रो र तेस्रो तहको रोकथाम कार्य ज्यादै महँगो, जटिल र कठिन पनि हुने भएकाले सरकारी तथा निजी क्षेत्रले सबैभन्दा बढी प्राथमिक रोकथामका लागि जोड दिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले मास्क, स्यानिटाइजर र अरु रोकथामका साधनको गुणस्तर र मूल्यमा पनि नियन्त्रण गर्दै सर्वसाधारणले सहजै प्राप्त गर्न सक्ने प्रत्याभूति दिनुपर्छ । प्राथमिक रोकथामको लागि सबैभन्दा प्रभावकारी साधन भनेको भ्याक्सिन नै हो । सरकारले सकेसम्म छिटो सबैलाई भ्याक्सिन लगाउने व्यवस्था गर्नुपर्छ ।’

उहाँले शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकहरुसँग छलफल गर्दा पाएको जानकारीको आधार दिँदै भन्नुभयो, ‘कोभिडविरुद्धको दुवै डोज खोप लगाएकाहरु उपचारका लागि त्यहाँ भर्ना नभएको, ८० प्रतिशत जति कोभिडका बिरामी भ्याक्सिन नलगाएका भएको पाइनुका साथै करिब २० प्रतिशत कोभिडका बिरामीचाहिँ एकपटक मात्र भ्याक्सिन लगाएका भएको पाइएको छ । तर उनीहरुमा रोगको गम्भीरता त्यति नभएको पाइएको छ । यसबाट भ्याक्सिनले पूर्णरुपमा रोगबाट बचाउँछ भन्ने देखिएको छ । भारतमा पनि त्यस्तै देखिएको छ । त्यसैले सरकारले सबैलाई छिटो भ्याक्सिन दिन प्राथमिकता दिनुपर्छ ।’

प्राथमिक तहको रोकथाम कार्यक्रम सस्तो र प्रभावकारी भए पनि नेपालीहरुको बिहेवियरल चेन्ज गराउन भने धेरै गाह्रो भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘मास्क लगाउन र भौतिक दूरी कायम राख्न मान्दैनन्, जोडिएर बस्न खोज्छन्, मास्क लगाउँदा पनि नाकमाथि, चिउँडोमुनि लागइदिन्छन् । नेताहरुले पनि यस्तै सिकाइरहेका छन् । यस्तो महामारी चलिरहेको बेला कार्यकर्ता जम्मा गर्ने, भेटघाट गर्ने तर स्वास्थ्य सुरक्षाका उपाय नअपनाउने उनीहरुको कार्य विडम्बनापूर्ण छ । सरकारमा बस्नेहरुले बिहेवियरल परिवर्तनमा मोडल बनेर देखाउनुपर्नेमा उनीहरु नै थिती बिगार्नेमा लागेका छन् । उनीहरुबाट नकारात्मक एक्जाम्पल सेट हुनु ज्यादै दुर्भाग्यपूर्ण छ ।

पोस्ट कोभिड ज्यादै न्यून तर जँचाऔं

नेसनल कार्डियाक सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल पोस्ट कोभिड सिन्ड्रोमका रुपमा देखिने मुटसम्बन्धी समस्याहरु उति गम्भीर खालको नपाइए पनि त्यसका कारण मानसिक समस्या पनि देखिने भएकोले एकपटक जँचाएर ढुक्क हुन सुझाव दिनुहुन्छ ।

ग्राण्डी अस्पतालमा समेत कार्यरत डा. ओम मूर्ति भन्नुहुन्छ, ‘कोभिडले फोक्सोपछि असर गर्र्नेे महत्वपूर्ण अंग मुटु नै हो । भाइरसको संक्रमणले गर्दा मुटुमा पार्ने प्रमुख जटिलताहरुमा मुटुको मांसपेशी सुन्निने, मुटुको चाल गडबड हुने, मुटु कमजोर हुने तथा हार्टफेलिएर र मुटुका रक्तनलीहरुमा रगत जमेर हुने हृदयघात नै प्रमुख हुन् ।’

‘कोभिडले आक्रमण गरिसकेपछिका बायोप्सी तथा अटोप्सी रिपोर्टहरुमा कोभिड भएकाहरुको मुटुको मांसपेशीमा कोरोना भाइरसले आक्रमण गरेको पुष्टि भएको छ । तर डे टु डे प्राक्टिसमा भाइरसले मुटुमा जटिलता ल्याउने कुरा एकदमै कम छ । मुटुको चाल बिग्रिएपछि बिरामीलाई केही असर त हुनुप¥यो नि, मुटु बन्द हुनुप¥यो, पेसमेकर हाल्ने अवस्था हुनुप¥यो वा हृदयघात नै भएका केसहरु देखिनुप¥यो । तर यस्ता केसहरु एकदमै कम छन् । मेरो आफ्नो क्लिनिकल प्राक्टिसको अनुभव र यससँग सम्बन्धित साथीहरुसँग छलफल गर्दा पनि मुटुसम्बन्धी जटिलता नै भएका केसहरुचाहिँ ज्यादै न्यून भएको पाइएको छ । कोरोना भएपछि पनि मुख्य समस्या भनेको फोक्सोको नै हो । कार्डियाक समस्या भनेको ज्यादै न्यून नै छ । मैले भनेका यी केसहरुको कुरा अस्पताल भर्ना भएका बिरामीहरुको हो ।’

डा. ओम मूर्ति अनिलका अनुसार त्यस्ता बिरामीमा पोस्ट कोभिड सिन्ड्रोमका रुपमा मुटुसम्बन्धी समस्या पनि ज्यादै न्यून पाइएको छ । उहाँ भन्नुहुन्छ, ‘मैले हाल कोभिड पोजेटिभ भएका तीन–चार सय बिरामीलाई सामाजिक सञ्जालमार्फत दैनिकजसो परामर्श दिइरहेको छु । यस क्रममा कोभिड भएकाहरुको समस्या सुन्दा मुटुसम्बन्धी जटिलताहरु भएको त्यति धेरै देखिँदैन । कोभिडबाट निको भइसकेका बिरामीहरु प्रायः छाती दुख्ने, मुटु ढुकढुक हुने र स्वाँस्वाँ हुने समस्या लिएर आउँछन् । उनीहरु आफूलाई मुटुसम्बन्धी समस्या भयो भनेर शंका गरी आएका हुन्छन् । तर त्यस्तो समस्या खासै पाइँदैन । गत तिहारपछि कोभिड पोजेटिभ भएका एक हजारभन्दा बढी बिरामी ओपीडीमा जँचाउन मकहाँ आए । उनीहरुको प्रमुख समस्या छाती दुख्ने, मुटु ढुकढुक हुने, रक्तचाप तल–माथि हुने थियो । उनीहरुलाई जाँच गर्दा स्पष्टरुपमा मुटुसम्बन्धी समस्या दुई–तीनजनामा मात्र पाएँ, त्यो पनि सामान्य समस्या । मुटको ढुकढुकी बढेको र मुटुको चाल गडबडीको सिकायत थियो । तीनजनामा पनि दुईजना डाक्टर नै थिए भने एकजना ननमेडिकल । यदि कोभिड भइसकेका बिरामीमा मुटुसम्बन्धी समस्या भयो भन्ने शंका लाग्छ भने समयमै डाक्टरकहाँ गएर जँचाई ढुक्क हुन जरुरी छ । नत्र यसले पोस्ट कोभिड सिन्ड्रोमको रुपमा मानिसलाई कमजोर बनाउने रहेछ ।’

-डा. ओम मूर्ति अनिल – मुटुमा असर गरेको छैन भन्ने ढुक्क भएपछि लक्षण आफैं हराउँछन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भन्नुहुन्छ, ‘सैद्धान्तिकरुपमा पोस्ट कोभिड सिन्ड्रोम धेरै भएको भन्ने आइरहेको छ । तर व्यावहारिकरुपमा न्यून छ । ती समस्याका अनुभव मनोवैज्ञानिक कारणले भएका हुन् । यसबारेमा बढी शंका गर्नाले यस्तो समस्या भएको छ । मुटसँग सम्बन्धित पोस्ट कोभिड सिन्ड्रोम धेरैलाई छ । त्यसको समयमै चेकअप गरेर ढुक्क हुन जरुरी छ । साधारण मुटुको जाँच गरेर यसलाई क्लियर गर्न सकिन्छ । मुटुमा असर गरेको छैन भन्ने ढुक्क भएपछि लक्षण आफैं हराउँछन् ।

कोभिड–१९ लागिसकेपछि तत्काल र दीर्घकालमा विभिन्न जटिल समस्याहरु देखिन सक्ने भएकाले रोग लाग्नबाट बच्नु नै श्रेयष्कर हुन्छ । यस रोगबाट बच्नका लागि स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नु र यसविरुद्धको भ्याक्सिन लगाउनु नै हो । भ्याक्सिन लगाउँदा कसै–कसैलाई सामान्य साइड इफेक्ट देखिए पनि यो गम्भीर खालको छैन । यो सुरक्षित देखिएको छ । यति गर्दा पनि कोभिड भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ र कोभिड निको भइसकेपछि कुनै दीर्घकालीन समस्या देखिएमा पनि तुरुन्त सम्बन्धित डाक्टरलाई भेटेर परामर्श एवं उपचार लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्