एन्टिजेन परीक्षण कति प्रभावकारी ?



पछिल्लो समय नेपालमा हजारौँको संख्यामा कोरोना संक्रमित थपिने गरेका छन् । यो संख्या पीसीआर र एन्टिजेन परीक्षणसमेत जोडेर हो । पीसीआर परीक्षणमाथि नै पूर्ण विश्वास हुने ठाउँ नरहेको विज्ञले बताइरहँदा एन्टिजेन परीक्षणबाट समेत पोजेटिभ भएकाहरु पनि जोडेर कोरोना संक्रमितको संख्या सार्वजनिक गर्ने गरिएको छ, यो कत्तिको विश्वसनीय हुन सक्छ ? आउनुस् एन्टिजेनबारे केही कुरा गरौँ ।

पीसीआर परीक्षणले शरीरमा भाइरसको संक्रमण रहे-नरहेको पहिचान गर्छ भने एन्टिजेन परीक्षणले पनि कोरोनाभाइरस छ कि छैन भनेर नै पहिचान गर्ने हो । पीसीआर परीक्षण गर्नको लागि हामीलाई प्रयोगशाला, विशिष्टीकृत उपकरण, विभिन्न किट, धेरै थरीका जनशक्ति चहिन्छ भने एन्टिजेनमा आधारित परीक्षणमा त्यस्तो विशेष जरुरत पर्दैन । धेरै झमेला नगरीकन नै सामान्य परीक्षणको आधारमा रिपोर्ट थाहा पाइने परीक्षण हो ।पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८–७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिन्छ । पीसीआर परीक्षणको नतिजा ६–८ घण्टामा नै आउने भए पनि विविध कारणले रिपोर्ट ढिला आउने हुन्छ । तर निजी प्रयोगशालाहरूले विगतको तुलनामा छिटो रिपोर्ट दिँदै आएको पाइन्छ । पीसीआर परीक्षणको तुलनामा एन्टिजेनमा आधारित परीक्षण गर्दा धेरै चाँडो रिपोर्ट आउँछ ।यस परीक्षणबाट चाँडै नतिजा थाहा पाइने भएकाले अस्पतालमा आकस्मिक शल्यक्रिया वा अन्य रोगका बिरामीलाई पनि तत्काल उपचार गर्ने अवस्थामा रहेकाहरूलाई संक्रमण रहे-नरहेको पहिचान गर्न सकिने हुन्छ । यसले गर्दा बिरामीले सहजरुपमा उपचार गराउन पाउने भए । यस्तै अस्पतालका स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी सम्पूर्णले सहजरुपमा परीक्षण गरी रोगीको ढुक्क भएर उपचार गर्न पाउँछन् । यो विधिबाट एकै पटकमा ३–४ सयजनाको पनि स्वाब परीक्षण गर्न सकिन्छ ।

यसको उपयोगिता बढ्दो क्रममा छ । पछिल्लो समय एन्टिजेन किटबाट परीक्षण गर्ने क्रम बढेको छ भने अर्को महिनाबाट झन् बढ्छ । त्यसैले नेपालले पनि यस किटमार्फत कोरोनाभाइरस संक्रमण भए-नभएको पत्ता लगाउन पहल भएको छ । यो नेपालको लागि महत्वपूर्ण कुरा नै हो । नेगेटिभ नतिजा देखाएका व्यक्तिलाई अन्य लक्षणहरुको आधारमा चिकित्सकको सल्लाहअनुसार थप पीसीआर गर्नुपर्ने पनि हुन सक्छ । एन्टिजेन परीक्षणका लागि संकलन गरिएको स्वाबमा भाइरसको मात्रा कम छ भने यसले सही नतिजा देखाउने सम्भावना कम हुन्छ । तर यसो भन्दै गर्दा नमुना स्वाबमा कम भाइरस भएको अवस्थामा पनि संक्रमण भए÷नभएको पत्ता लगाउन सक्ने नयाँ किटहरू बजारमा आउन थालेका छन् ।
– सुगम थापा, नेपालगन्ज ।

प्रतिक्रिया दिनुहोस्