परीक्षाको प्रश्न



यस वर्ष, २०७७।०७८ को एसईई परीक्षा हिजो बिहीबारदेखि सञ्चालन गर्ने कार्यतालिका थियो तर कोरोना महामारीका कारण सरकारले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका सबै परीक्षा स्थगित गरेको छ । खास गरी, एसईई परीक्षाको पखाइमा रहेका लाखौं विद्यार्थीको मनमा तनाव बढेको छ । तत्कालका लागि एसईई परीक्षा स्थगित हुँदा करिब ५ लाख विद्यार्थी समस्यामा परेका छन् । विद्यार्थी सोध्न थालेका छन्– हाम्रो परीक्षा कहिले हुन्छ भनेर, तर प्रस्ट जवाफ कसैसँग पनि छैन ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको वैकल्पिक माध्यमबारे छलफल गरिरहेको समाचार प्रकाशमा आएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले एसईई र कक्षा १२ को परीक्षाको विकल्पबारे निर्णय गर्ने तयारी गरेको त बताइएको छ तर विगत वर्षको जस्तो आलोच्य विकल्पमा जान पनि यस वर्ष मिल्ने स्थिति छैन । गत वर्ष विद्यालयको आन्तरिक मूल्यांकनलाई नै आधार मानेर अन्तिम परिणाम निकालियो, त्यो ‘अड्कोफड्को तेलको धूप’ मात्र सावित भयो । यसपटक अधिकांश सरोकारवालासंँगको छलफलपछि तयार भएको प्रतिवेदन सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा मिति र समय तालिका निर्धारण गर्ने भनिएको छ । कोभिड महामारीको विषम परिस्थितिमा सरकारले भौतिक उपस्थितिमा परीक्षा लिने सोच बनाएको छैन । शिक्षक महासंघ, विद्यालय सञ्चालक, अभिभावक, विद्यार्थी संघ–संगठनलगायत निकायले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षामा सहभागी हुन नसक्ने धारणा सार्वजनिक गरिसकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले भौतिक उपस्थितिमा परीक्षा हुन सक्ने सम्भावना कम रहेको बताउँदै आउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले पनि सोही मनसाय अघि सारेको छ । बोर्डको आउँदो साता बस्ने बैठकले परीक्षाको मोडालिटी र तालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको बुझिएको छ । मन्त्रालय र सरोकारवालाको भनाइ मनन गर्दा यस वर्ष पनि गत वर्षकै मोडालिटीमा परीक्षा लिने तयारी भएको देखिन्छ । गत वर्ष आन्तरिक मूल्याङ्कनको आधारमा एसईईको परीक्षा भएको थियो भने ४० प्रतिशत अंकको आधारमा कक्षा १२ को परीक्षा भएको थियो । बोर्डले तत्काल एसईईको निर्णय गरेपछि कक्षा १२ को निर्णय गर्नेछ । कोरोना महामहारीका कारण अस्तव्यस्त भएको छिमेकी मुलुक भारतले हाललाई सबै तहको परीक्षा स्थगित गरिसकेको छ । विश्वका विकसित मुलुकको अवस्था पनि त्यस्तै छ । हामीले पनि अन्य मुलुकबाट पाठ सिक्नु आवश्यक हुन्छ ।

नेपालमा कोरोना संक्रमण महामारीका रूपमा फैलिसकेको अवस्थामा तत्काल परीक्षा सम्पन्न गरिहाल्नुपर्ने अवस्था देखिँदैन । कोरोनाले मानव जीवनका गतिविधि नै ठप्प पारिदिएका बेला जाँच मात्र लिएर उपलब्धि हुने अवस्था छैन । तालिकाअनुसार यही २१ गतेदेखि कक्षा १२ को परीक्षा हुने थियो । तर, असार अन्तिम वा साउनमा लिने व्यवस्था गर्ने सरकारी सोच रहेको बताइन्छ । विद्यार्थीको मानसिक तनावलाई हेरेर सरकारले परीक्षका विषयमा निर्णय गर्नु आवश्यक छ तर परीक्षा औपचारिकतामा मात्र सीमित हुने, विकृति जन्माउने र भोलि प्रश्नवाचक बन्ने अवस्था भने आउनुहुन्न ।

प्रतिक्रिया दिनुहोस्