कोरोनासँगै आँखा सुरक्षामा चुनौती



विश्वभर कोरोना महामारीले आतंक मच्चाएको छ । हाल नेपाली थुप्रै देशहरुले कोरोना महामारीको दोस्रो भेरियन्टको सामना गरिरहेका छन् । कोरोना महामारीसँगै अब फेरि ब्ल्याक फङ्सको खतरा रहेको डाक्टरहरुले बताइरहेका छन् । कोरोनाको यो भेरियन्टसँगै भारतमा यसको असर तीव्ररुपमा बढ्दै गएका समाचारहरु सार्वजनिक भइरहेका छन् । यसकारण नेपाल पनि यो संक्रमणको उच्च जोखिममा छ । यसबाट सुरक्षित हुन हामीले सक्दो आँखा सुरक्षामा ध्यान दिन जरुरी छ ।

प्रदूषणका कारण हुने एलर्जी र चिलाउने समस्या लिएर अस्पताल आउने बिरामीको संख्या उल्लेख्य छ । त्यसबाट बच्न सनग्लास लगाउने बानी राम्रो हुन्छ । मोबाइल धेरै समयसम्म चलाउने, कम्प्युटरमा लगातार काम गर्ने व्यक्तिलाई समेत आँखाको समस्या हुन्छ । यसले आँखा सुक्खा बनाउँछ । कम्प्युटरबाट आउने नदेखिने विकिरणबाट बच्नसमेत डाक्टरको सल्लाहअनुसार चश्मा लगाउनुपर्छ ।
हाम्रो आँखाको सेतो भागमा देखिने झिल्ली हुन्छ । आँखाको ढकनीमा लाग्ने झिल्लीमा संक्रमण भयो भने आँखामा संक्रमण हुन्छ । यसले गर्दा आँखा पाक्ने समस्या आउँछ । मौसम परिवर्तन हुँदा हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । गर्मीमा आँखा पाक्ने, चिलाउने र आँखा पोल्ने समस्याले बढी सताउँछ ।आँखा पाक्ने रोग सरूवा रोगको रूपमा देखिन्छ । आँखा पाकेको व्यक्तिलाई हेरेर यो रोग सर्ने होइन । आँखामा संक्रमण भएको बिरामीको आँखाको आँसुबाट शुरू भएर अरूलाई सर्ने हुन्छ ।

बिरामीले छोएको सामानबाट र रुमालबाट बढी सर्छ । आँखा चिलाउने, आँखा पाक्ने, रातो हुने, घाममा हेर्न नहुने, आँसु आउने र बिझाउने समस्याहरू देखा पर्छन् । यस्ता समस्या एलर्जी, भाइरल र ब्याक्टेरियाको कारण हुन्छ । जाडो मौसममा भन्दा गर्मी समयमा बढी मात्रामा आँखामा समस्या हुने गर्दछ । गर्मी मौसममा आँखाको रोग मात्र नभएर मानिसमा धेरै रोग देखा पर्दछन् । यो मौसममा बढी धुवाँ–धूलोहरु हुने, हावाहुरी बढी चल्ने भएको कारणले गर्दा स्वभावैले रोगहरु बढी लाग्ने गर्छ । कीरा–फट्याङ्ग्रा, झिँगा बढी हुने भएको कारण बढी फोहोर भई आँखा पाक्ने समस्या देखा पर्दछ । गर्मी मौसममा धूलो, धुवाँ बढी हुने तथा रुखमा फूल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ ।
यसका कारण आँखा चिलाउने, रातो देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्न सक्छ । यसको कारण कहिलेकाहीँ नानीमा संक्रमण भई दृष्टिसमेत गुम्न सक्छ । यस्तो खालको आँखाको समस्या देखिएमा आँखा पानीले सफा गर्ने र बाहिर हिँड्दा राम्रो खालको चश्मा लगाउने गर्नुपर्ने नेत्र विशेषज्ञको भनाइ छ ।

यति मात्र होइन, घरमा पनि फूल फुलेको, पालुवा पलाउँदै गरेको बिरुवा नचलाउने, नजिक नजाने, घरपालुवा जनावर कुकुर, बिरालोजस्ता जनावरलाई नचलाउने गरेमा आँखामा हुने संक्रमणबाट बच्न सकिन्छ । किनकि यस्ता वस्तुमा भएको परागकणले आँखामा समस्या हुने सम्भावना बढाउन सक्छ । लामो समयसम्म बिजुली बत्तीमा काम गर्नाले पनि आँखामा तनाव हुन्छ । सार्वजनिक स्वीमिङ पुलमा पौडी खेल्दा संक्रमण हुन सक्छ ।धूलोसँगै ब्याक्टेरिया भाइरस, कीटाणुहरु समाविष्ट भएर आँखामा छिरिसकेपछि आफ्नो स्वभावअनुसार लक्षणहरु देखा पर्दछ । चिलाउने, बिझाउने, रातो हुँदै जाने र ब्याक्टेरिया भयो भने चिप्रा लाग्ने, भाइरल छ भने आँखा धेरै रातो हुने, दुख्नेजस्ता लक्षणहरु देखा पर्दछन् । वयष्क मात्र होइन, बालबालिकालाई धेरै समय कम्प्युटरमा बस्न नदिने, प्रदूषित वातावरणमा नजाने, हरियो सागपात बढी मात्रामा खाने, भिटामिन ‘ए’युक्त फलफूल पनि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुने चिकित्सक बताउँछन् । गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डर लाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो । यस्तो समस्या भएमा तुरुन्त जाँच गराउनुपर्दछ । उज्यालोमा आँखा तिर्मिराउने, पोल्ने हुन्छ । आँसु बग्ने नलीमा अवरोध भएमा पनि आँखाबाट आँसु बगिरहन्छ ।

एलर्जीबाट आँखा पाकेमा धेरैजसो आँखा चिलाउने हुन्छ । घाममा हेर्न वा बस्न गाह्रो हुन्छ । प्रकाश सहन नसक्नु, आँखाको ढकनी सुन्निनु, चिलाउनु, जलन हुनु, आँखा भारी हुनु, आँखा पाक्नु, चिप्रा लाग्नु, पीप जम्नु, बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिनु, आँखा खोल्न गाह्रो हुनु आदि आँखाका समस्या हुन् ।ब्याक्टेरियाका कारणले आँखा पाक्ने रोग लागेको बेलामा तीव्र गतिमा आँखा रातो हुन्छ भने आँखाको ढकनी सुन्निने तथा चिप्रा निस्कने हुन्छ । साधारणतया शुरुमा एउटा आँखामा लक्षणहरू देखिन्छन् तर दुईदेखि पाँच दिनसम्ममा अर्को आँखामा पनि सरिसक्छ । पीप निकाल्ने ब्याक्टेरियाका कारणले आँखा पाकेको छ भने आँखा चिलाउने वा बिझाउने हुन सक्छ । ब्याक्टेरियाका कारणले आँखा पाकेको बेलामा आँखाको कन्जङ्टिभालाई ढाक्ने खालको झिल्ली वा नक्कली झिल्ली बन्न पनि सक्छ ।
आँखामा समस्या आएमा जथाभावी औषधि हाल्नुहुँदैन ।

उपचारको लागि नेत्र विशेषज्ञकहाँ नै जानुपर्छ । आँखाको सरसफाइमा ध्यान दिनुपर्छ । आँखामा लागेको कचेराहरू सफा गर्नुपर्छ । आँखालाई हातले छुनुहुँदैन । सानो बच्चा छ भने उसलाई आँखा छोएको हातले चलाउनुहुँदैन । रूमालको भन्दा पनि टिस्यु पेपरको प्रयोग गरेर त्यसलाई फाल्नु राम्रो हुन्छ । जसले गर्दा कीटाणु आँखामा सर्ने खतरा कम हुन्छ । बेलुका एकपटक आँखालाई चिसो पानीले धुनुपर्दछ । घरका अन्य सदस्यले रोगीसँग आँखा नजुधाउने तथा टाढा बस्ने गर्नुपर्छ ।कडा खालको कीटाणुको संक्रमण भएमा त्यो अवस्थामा पनि फुलो पर्ने र कालान्तरमा दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखाको नानीमा असर गर्छ र आँखामा दाग देखिने हुन्छ । जसले गर्दा दूरदृष्टिमा असर गर्छ । त्यसैले आँखा धुने, आँखालाई सफा गर्ने काम गर्नुपर्छ । गर्मीमा यो समस्या अझै बढी हुन्छ । फागुन–चैतदेखि साउन–भदौसम्म आँखा पाक्ने समस्या हुन्छ ।
– सुगन कार्की, कलंकी ।

प्रतिक्रिया दिनुहोस्