कठोर बन्दाबन्दी



कोरोना भाइरस संक्रमणको साङ्लो चुँडाल्ने एकमात्र कारगर उपाय व्यक्ति–व्यक्ति बीचको भौतिक निकटताको अन्त्य हो भन्ने सत्य सबैले बुझेका छन् । विगत डेढ वर्षसम्म यस विषयमा पर्याप्त चर्चा भएको छ । तर, नागरिकले यस बुझाइलाई व्यवहारमा जुन मात्रामा उतार्नुपथ्र्यो, उतारेको देखिएन । उदाहरणका लागि राजधानी उपत्यकालाई नै लिन सकिन्छ । झण्डै एक महिनादेखि निषेधाज्ञा लागू गरिए पनि यहाँ कोरोनाको संक्रमण दरमा कमी आउन सकेको छैन ।

निषेधाज्ञा प्रभावकारी नहुंँदा कोरोना संक्रमण दरमा कमी आउन नसकेको विज्ञहरुले बताएपछि स्थानीय प्रशासनले अबको निषेधाज्ञा कडा बनाउने तयारी गरेको छ । लामो समयसम्म निषेधाज्ञा लागू गर्दा जनतामा विरोधको स्वर सुनिने अवस्था सिर्जना भएपछि निषेधाज्ञा कडा गर्ने तर समय छोटो बनाउने सोच स्थानीय प्रशासनले बनाएको देखिन्छ ।कोरोनाका कारण मृत्यु नभएका क्षेत्र अब नेपालमा नपाइने भएको छ । यस्तो अवस्थामा पनि बिनाकाम घरबाट बाहिर निस्कने विभिन्न होटल तथा रेस्टुरेन्टमा प्रशासनको आँंखा छलेर जमघट गर्ने क्रमले निरन्तरता पाएको छ । सरकारले पटक–पटक सचेत गराउँदासमेत जनतामा सचेतना आउन सकेको देखिँदैन । कोरोना संक्रमणको दर जेठको अन्तिमदेखि मध्य असारसम्म अझै भयावह हुने चेतावनी विज्ञहरुले दिइरहेको भए पनि चोक–चोकमा भेला हुने क्रमले निरन्तरता पाएका कारण कोरोना संक्रमण नियन्त्रणमा आउन अझै केही महिना लाग्न सक्ने सरकारको अनुमान छ । अर्को चार हप्तायता कोरोना नियन्त्रण नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भनाइ छ ।

यस संक्रमणबाट बच्न एकले अर्कासंँग भेट नगर्ने र घरभित्रै बस्ने एउटै मात्र विकल्प हो तर यसलाई कार्यान्वयन गर्नेतर्फ कसैको पनि ध्यान जान नसक्नुलाई बिडम्वना नै मान्नुपर्दछ । बिनाकाम बाहिर निस्कने र बालबालिकालाई बिनामास्क सडकमा छोडिदिने प्रवृत्तिले पछिल्लो समय प्रश्रय पाएको छ । प्रहरी प्रशासन देखे घरभित्र पस्ने नदेखे सडकमा निस्कने प्रवृत्तिको अन्त्यका लागि प्रशासनले कडाइ गर्नुपर्ने देखिन्छ । अन्य देशमा लकडाउन प्रभावकारी बनाउन जरिवानालाई महत्व दिएपछि ती देशहरुमा कोरोना संक्रमणको दर न्यून भएको देखिएको छ । यसैलाई मनन गरी नेपालमा पनि निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा सजाय वा ठूलो रकम जरिवाना गर्ने नीति अख्तियार गर्नुपर्ने देखिन्छ । नेपालीहरुमा कानुन उल्लंघन गर्न पाए आफूले राज्य नै जितेको जस्तो गर्नेहरुप्रति राज्य निर्मम बन्नुको विकल्प देखिँदैन । निषेधाज्ञा कडा गर्दै कोरोना नियन्त्रणमा ल्याउने र जनजीवन सामान्य बनाउनेतर्फ प्रशासनको ध्यान जान जरुरी देखिन्छ ।

बिथोलिएको राजनीतिक अवस्था र जनतामा देखिएको अटेर प्रवृत्ति पनि कोरोना नियन्त्रणमा आउन नसक्नुको एक प्रमुख कारण देखिन्छ । राजनीतिक दलहरुले गरेको सत्ताको फोहोरी खेलका कारण पनि कोरोना संक्रमण उनीहरुको नजरमा ओझेल परेको देखिन्छ । कुनै पनि दल कोरोना नियन्त्रणका लागि राज्यका संयन्त्रलाई सघाउने पक्षमा नदेखिनुलाई के भन्ने ? यो जनताले मनन गर्नुपर्ने बेला होइन ? सत्ताप्राप्ति नै पहिलो प्राथमिकताको विषय हुनुलाई बिडम्वना नै मान्नुपर्दछ । यसतर्फ जनता स्वयं सतर्क हुनुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्