संक्रमितको उपचारका लागि ३ लाख २० हजारमा हेलि चार्टर



रामधन राई, खोटाङ ।

खोटाङस्थित ऐसेलुखर्क गाउँपालिकामा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टी भएपछि ३ लाख २० हजार रुपैंयाँमा हेलीकोप्टर चार्टर गरेर उपचारका लागि काठमाण्डौं लगिएको छ । तीनमध्ये एक पुरुषलाई प्रेसरको समेत समस्या देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कले रेफर गरे लगत्तै उनीहरुलाई महंगो भाडा तिरेर बुधबार काठ्माण्डौं लगिएको हो ।

संक्रमण पूष्टि भएका सोही परिवारका ७८ वर्षीय बृद्दको भने जेठ १ गते निधन भएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य नै भए पनि पुरुषलाईचैं प्रेसरको समस्या पनि देखिएकोले अस्पताल नै जाने सल्लाह अनुसार थप उपचारका लागि काठमाण्डौं गएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो । उनीहरुलाई गत बैसाख ३१ गते कोभिड–१९ को संक्रमण पूष्टि भएको थियो । अध्यक्ष निरौलाका अनुसार संक्रमितलाई बोक्ने हेलीकोप्टर पाउन मुस्किल भएको थियो ।

उक्त गाउँपालिकामा हालसम्म ३१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनालाई संक्रमण पुष्टि भइसकेको छ । संक्रमितसँगको सम्पर्कमा पुगेका ८१ जनाको पिसिआर परीक्षणका लागि बुधबार नमूना संकलन गरेर काठ्माण्डौं पठाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्