कोरोना खोप किन लगाउने ?



कोरोना भाइरसको संक्रमणका कारणले धेरैको मृत्यु भयो । धेरै सिकिस्त बिरामी भए । अस्पतालमा बिरामीको चाप पनि धेरै भयो । अहिलेसम्मको अध्ययनले के देखाएको छ भने, जति उमेर बढ्दै गयो, त्यति नै कोरोना लागेपछि मृत्यु हुने सम्भावना बढी छ । नेपालको तथ्यांक हेर्दा पनि ५५ वर्षभन्दा माथिकालाई कोरोना लाग्यो भने मृत्यु हुने जोखिम उच्च भएको पाइएको छ । त्यसैले हाम्रो चाहना पनि वृद्धवृद्धाहरु र दीर्घ रोगीहरुलाई कसरी बचाउने भन्ने हो ।

यो बचाउने एउटा उपाय भनेको कोरोनाविरुद्धको खोप लगाउनु नै हो । जोखिम वर्गमा परेकाहरुलाई कोरोनाविरुद्धको खोप दिन सकियो भने उहाँहरुलाई सिकिस्त बिरामी हुनबाट बचाउन सक्छौँ । मृत्यु हुनबाट बचाउन सक्छौँ ।यस्तै अस्पतालमा भर्ना हुनुपर्ने दर पनि घट्छ र अस्पतालहरुमा कोरोना संक्रमणबाहेकका बिरामीले राम्रोसँग सेवा पाउन सक्छन् । खोपले भाइरस, रोग वा संक्रमणसँग लड्न शरीरलाई तयार गर्छ । यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्वको पहिचान गर्न सघाउँछ । यसले एन्टिबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले खोप निकै शक्तिशाली हुने बताएको छ । बिरामी निको पार्न र उपचार गर्न प्रयोग हुने अधिकांश औषधिभन्दा खोपले धेरै जीवन बचाउँछ ।

खोप लगाएपछि कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ । जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुने आदि लक्षण हुनसक्छ । ती असर केही समयपछि आफैं हराएर जाने हुन्छ । कतिपय अवस्थामा औषधि पनि आवश्यक देखिन सक्छ । केही असर देखिए पनि आत्तिनु भने पर्दैन ।

– सुमित्रा काफ्ले, नेपालगन्ज ।

प्रतिक्रिया दिनुहोस्