हेलिकोप्टरको ‘लुट’प्रति आपत्ति



न्युज अफ नेपाल, हेटौंडा ।

कोरोना महामारीका कारण स्थानीय अस्पतालहरुमा उपचार हुन नसकी काठमाडौं रिफर गरिएका संक्रमितप्रति देशका नाम चलेका निजी क्षेत्रका हेलिकोप्टर कम्पनीहरुले ‘लुट’ मच्चाएको भन्दै नेकपा एमालेका एक प्रभावशाली नेताले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष पत्र लेख्दै निजी हेलिकोप्टर कम्पनीहरुले कोरोना महामारीको कहरको बेला अलिकति पनि सामाजिक दायित्वको ख्याल नगरी मनपर्दी भाडा असुलेकोप्रति गुनासो गरेका हुन् ।

नेकपा एमाले बागमती प्रदेश संगठन विभाग प्रमुखसमेत रहनुभएका संविधानसभा सदस्य मञ्च अध्यक्ष अनन्त पौडेलले सम्बन्धित मन्त्रालय र मन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।‘अन्य समय हेटौंडा–काठमाडौं चार्टर्ड भाडा एक लाख पच्चीस हजार लिइँदा हाल दुई लाख असी हजार लिइरहेको अबस्था छ । कोरोनाको महामारीमा परी आकस्मिक उपचारका लागि काठमाडौं जानैपर्ने बाध्यताको फाइदा उठाएर चलिरहेको यो मानवीय संवेदनहीन आपराधिक लुटमार नियन्त्रण र नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरण नै हो ।’ उहाँले भन्नुभयाे,’सामान्य बेला बिलासिताको कोटीमा पर्ने साधनहरु जसको उपभोग सामान्य परिवारले गर्न सक्दैनन् । तर, विशिष्ट बेलामा त्यही साधन अति आवश्यक साधनमा परिवर्तित हुने अवस्था आउँछ ।’

हाल त्यही बेला रहेको भन्दै उहाँले हेलिकोप्टरको आकस्मिक प्रयोगको बाध्यताको फाइदा उठाएर लुट मच्चाइरहेको कार्यको कारणबारे छानबिन गरी मन्त्रालय र मन्त्री हुनुको औचित्य र सान्दर्भिकता पुष्टि गर्न आग्रह गर्नुभएको छ । हेटौंडाबाट पछिल्लो समय दैनिक कम्तिमा ३ वटा यस्ता उडान हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्