संक्रमित घरमै, आइसोलसन सेन्टर रित्तै, संक्रमण फैलिंदो



विनोद सिंह विष्ट–बैतडी

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर बैतडीमा पनि तिव्र रुपमा फैलिरहेको छ । त्यसको रोकथाम र नियन्त्रणको प्रयास भइरहेको भएपनि संक्रमितले संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमण फैलिरहेको बैतडीको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना संक्रमितको उपचारका लागि बैतडीका १० वटै स्थानीय तहका १९ स्थानमा ३ सय ८८ बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । तर जिल्लाका ९ सय १५ सक्रिय संक्रमितमध्ये १ सय ९५ जनामात्रै संस्थागत आइसोलेसनमा बसेका छन् । बाँकी सबै होम आइसोलेसनमै छन् ।

यसरी अधिकांश कोरोना संक्रमितहरू घरमै बसेकाले पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले स्थानीय तहहरूमा निर्माण भएका आइसोलेसनमा संक्रमित नबस्दा जोखिम बढेको जिकिर गर्दभन्नुभयो–‘घरमा बसेका संक्रमितले होम आइसोलेसनको नियम पालना नगर्दा घरपरिवार र गाउँघरमा संक्रमण बढेको छ ।’कार्यालय प्रमुख भट्टका अनुसार लक्षण नदेखिएकाहरू संस्थागत आइसोलेसनमा बस्न नमानेका हुन् । लक्षण नदेखिएको कारण ती संक्रमितहरूले होम आइसोलेसनको नियम पालना नगरेको कारण नै संक्रमण दिनप्रतिदिन बढ्दै गएको हो । स्थानीयहरू भने आइसोलेसन सेन्टरमा स्थानीय तहले त्यहाँ बस्ने संक्रमितको व्यवस्थापनमा चासो नदिएकाले संक्रमितहरू बस्न नमानेको बताउँछन् । उनीहरू भन्छन्–‘स्थानीय तहहरूले आइसोलेसन मात्रै निर्माण गरे । त्यहाँ बस्ने संक्रमितको बासबसाई तथा खानपीनको व्यवस्थामा ध्यान दिएनन् ।’

स्थानीयको आरोप अस्वीकार गर्दै स्वास्थ्य प्रमुख भट्ट भन्नुहुन्छ–‘संक्रमितले संस्थागत आइसोलेसनमा बसेपछि मात्रै व्यवस्थापनको कुरा आउँछ । उनीहरू बस्नै मान्दैनन् । स्थानीय तहहरूको आइसोलसन व्यवस्थापनमा कम्जोरी छ भनेर भन्ने खासै आधार पनि छैन ।’ यद्यपी उहाँले पहिलो चरणको संक्रमण फैलिँदा आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नेहरूको उचित व्यवस्थापन हुन नसकेको भने स्वीकार गर्नुभयो । उहाँ भन्नुहुन्छ–‘पहिला चरणको संक्रमण कालमा स्थानीय तहहरूले उचित व्यवस्थापन गर्न नसकेकाले संक्रमितहरू अहिले पनि त्यस्तै हुन्छ भन्ठानेर पनि बस्न नमानेका हुन सक्छन् ।’दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले दोगडाकेदारमा ३४ जना सक्रिय संक्रमितमध्ये २ जना मात्रै संस्थागत आइसोलसनमा बसिरहेका जानकारी दिनुभएको छ । उहाँले लक्षण भएकाहरूलाई संस्थागत आइसोलेसनमा राखेको जानकारी दिंदै समुदायमा लक्षण देखिएका अन्य व्यक्तिको पनि परीक्षण गरिरहेको बताउनुभयो ।

बैतडीमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै हाल ९ सय १५ कोरोनाका सक्रिय संक्रमित भेटिएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले जेठ १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्