एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन



 काठमाडौं । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीको विवाद समाधान गर्न १० सदस्यीय वार्ता टोली गठन गर्ने सहमति भएको छ । आइतबार सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको ५-५ जना रहने गरी वार्ता टोली गठन गर्ने सहमति भएको हो । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।

बैठकपछि वरिष्ठ नेता नेपालले तीन दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले थप समय चाहिने धारणा राख्नुभएको थियो । गत शुक्रबार दुवैतर्फका अन्य नेतासहित छलफल गर्नुभएका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाइएको हो ।

गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो । नेपाल पक्षले २०७५ जेठ २ लाई आधार बनाएर जानु पर्ने बताएको छ भने ओली समूहले त्यसको आसपासमा सहमतिको खोजी गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्