गाउँघरमा कोरोना संक्रमण बढ्दै



अमृत अर्याल, स्याङ्गजा ।

कोरोना भाइरसको संक्रमण शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा बढ्न थालेको छ । पछिल्लो पटक संक्रमणको दर ग्रामीण भेगमा बढी देखिएको हो । अस्पताल, स्वास्थ्य चौकी र निर्माण गरिएका क्वारेन्टाइन व्यवस्थित नहुँदा शंकास्पद विरामीहरुलाई बाहिर लैजान बोलाएको वेला एम्बुलेन्स पनि आउन नचाहेको ग्रामीण भेगका स्थानीयहरुले गुनासो गरेका हुन् । काठमाडौं, पोखरा, बुटवल लगायत विभिन्न शहरहरुबाट र जिल्लाभित्रैका पनि बजारदेखी गाँउ गएकाहरुबाट गाँउमा बढी संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजाका निमित्त प्रमुख बिष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँको अनुसार शहर बजारमा जति नियम पालन गाँउमा भएको छैन् । गाँउमा सहज रुपमा परीक्षण गराउन अफ्टयारो मान्ने तर पछी संक्रमणको जालो फैलीसकेको हुने कारणले गर्दा पनि बढी संक्रमण देखिएको सुवेदीले बताउनुभयो । जिल्लामा एन्टीजीनको मात्रा कम भएको र पिसिआर रिर्पोट आउन ढिला हुने हुदाँ पनि धेरै समस्या भएको सुवेदीको तर्क छ । अहिलेसम्म बजारमा भन्दा गाँउमा कोरोनाको लक्षण स्थानीयहरुमा धेरै देखिएको अवस्था छ । जिल्ला अस्पताल, स्वास्थ्य चौकी र क्वारेन्टाइनमा उपचार गर्ने चिकित्सकहरुले पनि गाँउको अवस्था झन भयभित हुन थालेको बताएका छन् ।

भारतबाट आएका एक दर्जनभन्दा बढी कामदारहरु गाँउपालिकामा आएका कालीगण्डकी गाँउपालिकाको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिँदै भन्नुभयो, विदेशबाट आएका युवाहरुको कारण गाँउमा संक्रमण फैलियो । जबसम्म सबैको जाँच भएन भने गाँउमा त्रास कम हुने छैन । तर पहल पनि भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको ११ वटै स्थानीय तहहरुमा संक्रमण बढ्दो छ । सबै स्थानीय तहहरुमा प्राय विस्तारै गाँउतर्फ संक्रमण बढेको देखिन्छ । अहिलेसम्म जिल्लामा दाश्रो लहरको कोरोनाको कारण ४२ जनाको मृत्यू भैसकेको छ ।

यता वालिङ्ग नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेका अनुशार शहरका मान्छे गाँउमा जाँदा बिस्तारै संक्रमण गाँउतिर फैलिएको ठहर छ । लकडाउनको पूर्ण प्रभावककारिता ग्रामीण भेगमा नदेखिएकोले एक गाँउबाट अर्को गाँउमा जाने आउने काम भइरहेकोले यसले संक्रमण बढ्ने खतरा रहेको भीरकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणबन्धु अर्यालले जानकारी दिनुभयो । गाँउमा लकडाउनको उल्लंघन हुन थालेकोले यसतर्फ पनि स्थानीय सरकार र सरोकारवालाहरु सचेत हुनुपर्ने चिन्ता स्थानीयहरुले जाहेर गर्दै सामाजिक दूरी कायम हुनुपर्ने माग गर्न थालेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी प्रमुख हाबिन्द्र बोगटीले जिल्लाका ग्रामिण भेगमा रहेका प्रहरी युनिट मार्फत गाँउमा पनि लकडाउनको नियम कडाइको साथ लागु गरिसकेको जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसँग जाडिएको स्याङ्गजाको सीमा–नाका राम्दीमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार भारतमा रोजगारी गरेर फर्कने अधिकांश पहाडी ग्रामीण भेगका हुन् । सीमामा राखिएको हेल्थ डेस्कमा सामान्य ज्वरो नाप्ने बाहेक अरु केही गरिएको थिएन ।

गल्याङ्ग नगरपालिका स्वास्थ्य शाखा प्रमुख गुनेन्द्र रानाका अनुसार बजारबाट गाँउ फर्केका व्यक्ति यदि कोरोना संक्रमित नै भए पनि उसमा लक्षण तत्काल नदेखिन सक्छ । “संक्रमित व्यक्ति गाउँमा पुगेको भए, त्यसले गाउँभर संक्रमण फैलाउने सम्भावना धेरै हुन्छ,” राना भन्छन् “भरपर्दो स्वास्थ्य सेवा नभएको गाउँमा ज्वरो आउने वित्तिकै चिकित्सक कहाँ पुगिहाल्नुपर्छ भन्ने चेतना पनि हुँदैन ।” यसले गर्दा गाउँमा स्वास्थ्य जोखिम बढेको रानाले बताउँनुहुन्छ ।
पछिल्लो एक सातामा कति मानिस गाउँमा भित्रिए भन्ने अभिलेख स्थानीय टोल विकास समितिसँग पनि छैन । बन्दाबन्दीको समयमा स्थानीय टोलविकास समितिहरुले पनि नयाँ कोरोनाभाइरसको संक्रमणको संभावनालाई गम्भीर ढंगबाट नलिएको सम्बद्ध अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्