हतियार जोगाउँदै प्रहरी, प्रशिक्षणमा अब डमी हतियार



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश प्रहरीले फायरिङबाहेक प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने एकाईंहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आएकोमा उक्त हतियार बिग्रने/फुट्ने भएर काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको हो ।

प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएका क्रियाकलापअनुसार ५ सय थान काठको डमी हतियार निर्माण गरी प्रदेशअन्तर्गत् प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक एकार्इंमा बितरण गरी प्रयोग गर्ने अवधारणाअनुरुप कार्य थालनी गरिएको हो ।

कार्यालयको आन्तरिक स्रोतसाधन तथा हातहतियार मर्मत शाखामा कार्यरत् प्राविधिक प्रहरी जनशक्तिबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माणसम्पन्न गरिएको छ । सक्कली हतियारको तौल र साइजमा निर्माण गरी प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने एकाईं बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले हस्तान्तरण गर्नुभएको छ ।

फायरिङबाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार हिफाजत हुने भएकाले पाइलट प्रोजेक्टका रुपमा बितरण गरिएका डमी हतियारले पार्ने प्रभाव विश्लेषण गरी आबश्यकताअनुसार थप निर्माण तथा बितरणको लक्ष्य रहेको प्रहरी बरिष्ठ उपरीक्षक÷प्रवक्ता मीरा चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्