काभ्रेमा भेरोसेलको दोश्रो डोज जेठ २ देखि, ७ वटा केन्द्रमा ५२४० लाई खोप दिइदै



मोतीराम तिमल्सिना, काभ्रे ।

स्वास्थ्य कार्यालय काभ्रेले २०७७ चैत्र २६ गते देखि बैशाख ६ गतेसम्म धुलिखेल अस्पतालमा कोभिड १९ विरुद्ध भेरोसेल पहिलो डोज खोप लगाएकाहरुलाई दोश्रो डोज जेठ २ गते देखि दिनेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

‘जिल्लाको धुलिखेल अस्पतालमा पहिलो डोज भेरोसेल खोप लगाउने ब्यक्तिहरुका लागि जेठ २ देखि ६ गतेसम्मको कार्यतालिका बनाएका छौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘समय र स्थानका बारेमा स्थानीय पालिकाहरुमा सम्पर्क ब्यक्ति समेत तोकेर सर्वसाधारणहरुको जानकारीका लागि सूचना प्रकाशन गरेका छौं ।’ कोभिड १९ विरुद्धको खोप लगाएका अधिकांश ब्यक्तिहरुमा संक्रमण नभएको र केहिमा देखिएको संक्रमणबाट पनि जोखिम नदेखिएकाले महामारीकै बीचमा भेरोसेल खोपको दोश्रो डोज दिन लागिएको हो ।

 

जिल्लामा २०७७ चैत्र २६ देखि ३० गतेसम्म खोप लगाउनेहरुलाई जेठ २ गते, चैत्र ३१ गते लगाउनेहरुलाई जेठ ३ गते, बैशाख २,३ र ४ गते खोप लगाउनेहरुलाई जेठ ४ गते र बैशाख ५ र ६ गते खोप लगाउनेहरुलाई जेठ ५ र ६ गते दोश्रो डोज लगाउने गरी तालिका सार्वजनिक गरिएको डा. नरेन्द्रकुमार झाले बताउनु भयो । अन्य ब्यक्तिहरुको हकमा पुनः अर्काे सूचना प्रकाशन गरिनेछ । जिल्लाको मेथिन्कोट अस्पतालमा रोशी, तेमाल र नमोबुद्ध नगरपालिकाको खोप केन्द्र कायम गरिएको छ भने डेडीथुम्का मावीमा मण्डनदेउपुर नगरपालिकाको खोप केन्द्र कायम गरिएको छ । त्यस्तै धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिकाको केन्द्र कायम गरिएको छ ।

पाँचखाल नगरपालिकाको सभा हलमा भुम्लु र पाँचखालका स्थानीयहरुले खोप लगाउने छन् । कात्तिकेदेउराली स्वास्थ्य चौकीमा चौरीदेउराली गाउँपालिकाको खोप केन्द्र कायम गरिएको छ । शिक्षा सदन मावी बनेपा लायकुमा बनेपा नगरपालिकाको खोप केन्द्र कायम गरिएको छ । पनौती स्वास्थ्य चौकीमा पनौती नगरपालिका र बेथान्चोक गाउँपालिकाको खोप केन्द्र कायम गरिएको छ । १३ वटा पालिकाकाको ७ वटा खोप केन्द्र कायम गरिएको प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । खोपका लागि पहिले लगाएको खोप कार्ड अनिवार्य लिई आउनु पर्ने ब्यवस्था गरिएको बरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले बताउनु भयो ।

जिल्लामा भेरोसेल खोप लगाउनेहरुको संख्या ५ हजार २ सय ४० रहेको छ । पहिलो मात्राको पहिलो चरणमा ६ हजार ७ सय ९९, दोश्रो चरणमा १७ हजार १ सय ७१, तेश्रो चरणमा ५ हजार २ सय ४० गरी २९ हजार ३ सयले खोप लगाएका थिए । दोश्रो मात्रा खोप लगाउनेको संख्या ६ हजार ५२ रहेको छ । जिल्लामा कोरोना भाईरसका कारण संक्रिय संक्रमितको संख्या १ हजार ७ सय २४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । दैनिक १ सय ५० भन्दा धेरै ब्यक्ति संक्रमित भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्