सांकेतिक रथयात्राको निर्णयप्रति युवा जमातको बेखुशी

कोरोनाबाट जोगिँदै परम्परा कायम गर्न आग्रह



० सुनील महर्जन, ललितपुर ।

बुंगद्यो, अर्थात रातो मच्छिन्द्रनाथ । वर्षा र सहकालका देवता । उपत्यकाको लामो रथयात्राप्रति विशेषतः  उपत्यकावासीको भावनात्मक सम्बन्ध जोडिएको छ । यसले गर्दा रातो मच्छिन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा गर्ने निर्णयप्रति विशेषतः पाटनका अधिकाशं युवा जमात खुशी छैनन् ।

परम्परा र संस्कृतिप्रति रुचि राख्ने युवापुस्ता सो निर्णयलाई नेतृत्वको अक्षमको उपजको रुपमा लिँदै सामाजिक सञ्जालमा आक्रोश र असन्तुष्टि पोख्छन् । आफ्नो भावनाप्रति सरोकारवालाहरुले नबुझेकोमा उनीहरु भित्रभित्रै खिन्न छन् ।‘ ‘कोरोना जोखिम भन्दा पनि रथयात्राको जिम्मेवारी लिन कोही तयार नभएपछि यस्तो अवस्था आएको हो । यस्तो गर्नु नै थियो भने आखिर लाखौं खर्च गरेर किन रथ बनाउन नै प¥यो । रथ बनाउने बेला कोरोना जोखिम थिएन र ?’ ललितपुर बालकुमारी निवासी सतिस शाक्यले भन्नुभयो ।

शाक्यले भन्नुभयो ‘ रथ बनाउने बेला जोखिमको ख्याल कसैले गरेन। अहिले कोरोनालाई कारण देखाउँदै सांकेतिक रुपमा रथयात्रा गर्ने निर्णय गर्नु आफ्नो अक्षमता लुकाउनु सरह हो । पहिले नै रथयात्रा गर्न सकिन्न भनेको भए बेश हुन्थ्यो । धार्मिक आस्थाको खेलवाड हुँदैन थियो होला । रथ यात्रा गर्ने भन्दै अन्तिममा आएर यस्तो निर्णय किन गर्नुप¥यो।आफ्नै समाजका अगुवाहरु किन ढाँट्ने गर्छन््  ?’ हस्तकलासंग आबद्ध शाक्य धार्मिक र सांस्कृतिक सम्बद्ध संस्थामा आबद्ध हुनुहुन्छ ।

ललितपुर च्यासल निवासी सुजन महर्जन पनि शाक्य झै प्रश्न तेस्याउनुहुन्छ । पर्यटन व्यवसायसंग सम्बद्ध महर्जन समुदायको नेतृत्व तहमा बसेका मानिसहरुमा मैले बोलेको, मेरो कामप्रति जवाफदेही हुनुपर्दछ ख्याल नगरेको रथयात्राका सम्बन्धमा औल्याउन सकिने बताउनुभयो।‘

 ‘रथयात्रा त सार्वजनिक सरोकारको विषय हो।‘कोरोनाको जोखिम भएकोले रथयात्राको पहिलो दिन विधिपु¥याउन रथ केही पर तान्ने र कमसेकम चार पाँच महिनासम्मको लागि रथयात्रा स्थगित गर्न सकिन्छ । त्यसपछि अवस्था हेरेर निर्णय गरौं ।यसो गर्न सक्यौं भने कोरोना जोखिमबाट पनि बच्ने र परम्परा पनि जीवन्त हुने छ ।त्यसका साथै आपसी द्वन्द्व पनि मेटिने छ । ’ श्रीबहाल निवासी समिनराज शाक्यले भन्नुभयो ।

मानिसको संवेदनशीलता एकातिर र समुदायको निर्णय अर्कोतिर छ । स्नातक तहमा पढ्दै गर्नुभएका ललितपुर झटापोल निवासी राजन महर्जनले भन्नुभयो  ‘ देशको राजनीतिक नेतृत्व जस्तो छ, समाजका अगुवाहरुमा पनि उही गैरजिम्मेवार र संवेदनहीनता छ ।’

यी प्रतिनिधिमूलक युवा हुन् । युवापुस्ताको यस्तै भावना र प्रश्नले समाजका अगुवाहरु प्रतिरक्षात्मक बन्न पुगेका छन्। रथयात्राका सरोकारवालाहरु भने कोरोना जोखिमको बेला रथयात्रा गर्ने तयारी गर्दागर्दै जोखिम बढ्दै गएको अवस्थामा प्रतीकात्मक तवरले रथत्राया गर्नुपरेको बताउँछन् । यसले गर्दा सुरक्षित तरिकाले बुंगद्यों (रातो मच्छिन्द्रनाथ) को रथयात्रा गर्न तयार पारिएको योजना कार्यान्वयनबाट पछि हट्नुपरेको उनीहरु तर्क गर्छन् ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर ज्यापू समाज यलले डेढ महिनायता सरोकारवालाहरुसंग विभिन्न चरणमा बैठक राखेर सो योजना तयार पारेका थिए।बैशाख २६ गते आइतबार भोलाखेलस्थित ज्यापू प्रज्ञा भवनमा सो खाका सार्वजनिक गरिएको थियो।सो योजना कोरोना संक्रमणको बेला सुरक्षित तरिकाले रथ तान्ने विषयमा केन्द्रीत थियो । त्यसको चार दिनपछि रातो मच्छिन्द्रनाथको रथारोहण गर्ने दिन अर्थात बैशाख २९ गते बुधबार जिल्ला प्रशासन कार्यालयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतको उपस्थितिमा भएको छलफलपछि सांकेतिक रुपमा रथयात्रा गर्ने निर्णय लिन सरोकारवाला सबै सहमत भए ।

त्यसलाई औपचारिकता दिनमात्र बाँकी राखेका थियो । सरोकारवालाहरुको बिहीबारको बैठकले प्रशासन कार्यालयमा भएको छलफल अनुसार प्रतिकात्मक रुपमा रथयात्रा गर्ने निर्णय गरेका छन् । बैठकले नेवाः समाज अन्तर्गतका ज्यापू समाज, ताम्रकार समाज, बौद्धविहार संघ र स्यःस्यः समाजसहित १९ वटा जातीय समाज, खलः पुच र नेपाल भाषा मंकाः खलःका प्रतिनिधिहरुले हस्ताक्षर गरी सो निर्णय सार्वजनिक गरेका हुन् ।

कोरोना संक्रमण जोखिम बढेको भन्दै यस पटक पनि सांकेतिक रुपमा मात्र रथ यात्रा गर्ने अन्तिम समयमा निर्णय गरिएको ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभयो । सो निर्णय अनुरुप भोलि शनिबार पुल्चोकबाट करिब डेढ सय मिटर पर मण्ड फल्चा (सोह् खुट्टेपाटी) सम्म तानिने छ । रथयात्रा गर्ने खाका चार दिन अघि सार्वजनिक गरिरहँदा कोरोनाको जोखिम बढ्ने अनुमान थिएन र भन्ने प्रश्नमा समाजका अध्यक्ष महर्जनले भन्नुभयो ‘ चारदिन अघिको तुलनामा अहिले संक्रमितको हुनेको र मृत्यृको संख्या बढेको छ ।’

कोरोना केन्द्रीत रथयात्राका योजना बनाउन खटिनुभएका समाजका उपाध्यक्ष व्यञ्जनकारले सांकेतिक रुपमा रथ तान्ने निर्णय भइसकेपछि भन्नुभयो ‘ कोरोना संक्रमणले मानिसहरु धमाधम बिरामी हुन थालेको छन् । अस्पतालमा बेड पाउनै मुस्किल छ ।अक्सिजन र भेन्टिलेटरको अभावले सर्वसाधारण मानिसहरु अकालमै मृत्यू भइरहेका छन्। यस्तो बेला रथयात्रा गर्न निकै कठिन र जोखिम हुने गर्दछ ।

अहिले रथयात्रा गर्न कठिनाई छ भने भदौं महिनासम्म रथयात्रा बारे विचार गर्न सकिने समय रहेको संस्कृति सम्बद्धमा अध्ययन गर्दै आउनुभएका वरिष्ठ सञ्चारकर्मी श्रीकृष्ण महर्जनको भनाई रहेको छ ।‘अहिलेलाई सो¥हखुट्टे पार्टीसम्म रथ तानेर राखौं । भदौं महिनासम्ममा कोरोना महामारीको अवस्था हेरेर निर्णय गरौं । उहाँले भन्नुभयो । यस कार्यमा सामाजिक संस्था र प्रशासनले सहयोग गर्ने हो भने कोरोनाबाट बच्ने र धार्मिक आस्थाको पनि सम्मान हुने छ । सबैको चित्त बुझ्ने छ ।’

रथयात्रा सांकेतिक रुपमा गर्ने हो भने ५०, ५५ लाख खर्च गरेर रथ नै किन बनाउन प¥यो भन्ने प्रश्न सबैतिरबाट उठिरहेको समयमा कोरोना महामारीको बेला रथयात्रा एक दुई महिनाको लागि स्थगित गर्ने उपाय नै धार्मिक सांस्कृतिक संवेदनशीलताको सम्मानका दृष्टिले उचित हुने संक्रमणको जोखिमका बाबजुढ रथ बनाउने संलग्न यँग्वाल, बाराही र घकू राख्नेहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्