जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ‘अनलाईन बहस’



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अनलाईन बहस शुरु गरिएको छ । बैशाख ३० गते देखि शुरु भएको उक्त प्रविधि मार्फत तीनवटा मुद्दामा बहस भएको छ ।

‘कोभिड भाईरसको बढ्दो संक्रमणका कारण ब्यक्ति स्वंय उपस्थित हुन सम्भव भएन, सुरक्षाका अधिकतम उपाय अपनाउँदै प्रविधिको भरपुर प्रयोग गरी अनलाईन बहस शुरु गरेका हौं’–जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले भन्नुभयो–‘प्रविधिको प्रयोगले कोभिड महामारीको जोखिम न्युनिकरणसँगै सेवाग्राहिलाई सहज भएको छ ।’ सर्वाेच्च अदालतले अनलाईन बहसका लागि जुम आईडी र पासवर्ड उपलब्ध गराए पछि जिल्ला अदालतले अनलाईन बहस शुरु गरेको हो । अदालतले प्राप्त गरेको जुम आईडी सरकारी वकिल र मुद्दाका पक्षहरुलाई उपलब्ध गराए पछि बहसमा सहभागि भएका छन् । अदालतले अनलाईन बहस गर्ने मुद्दाको फोटो खिचेर भाईवर तथा इमेल मार्फत कानुन ब्यवसायी तथा सरकारी वकिललाई उपलब्ध गराउने गरिएको छ । त्यसकै आधारमा अनलाईन बहस हुने गरेको श्रेस्तेदार गोविन्द घिमिरेले बताउनु भयो ।

बैशाख ३० गते प्रमुख जिल्ला न्यायाधिश सुर्यप्रसाद पराजुलीले बैशाख ३० गते विहिबार दुईवटा मुद्दा अनलाईन बहस मार्फत टुङ्गयाउनु भयो । तेमाल १ को जाहेरीका आधारमा भुम्लु गाउँपालिका वडा नम्वर ८ घर भएका ४० बर्षिय ठुलो कान्छो भन्ने देव दोर्जे तामाङ विरुद्ध दर्ता भएको जर्बजस्ति करणी मुद्दामा अनलाईन बहस भएको छ । देव दोर्जे तामाङले बनेपा नगरपालिका वडा नम्वर १३ मा २०७८ बैशाख ९ गते दिउसो २८ बर्षिया महिलालाई जर्बजस्ति करणी गरेका थिए । बोल्न नसक्ने महिलामाथी जर्बजस्ति करणी गरेको देखेका स्थानीयहरुको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

कोभिड महामारीको विषम परिस्थितीमा बोल्न नसक्ने महिला माथी भएको अन्यायका विरुद्ध परेको उजुरीमा अनलाई बहस भएको थियो । निशुल्क कानुनी सहायता उपलब्ध गराएका कानुन ब्यवसायी सुरज तिमल्सिना र सहायक जिल्ला न्यायाधिबक्ता कपिल रोक्काले गर्नु भएको बहस पछि प्रमुख जिल्ला न्यायाधिश सुर्यप्रसाद पराजुलीले थुनामा राखेर अनुसन्धान गर्न आदेश गर्नु भएको थियो । सोहि दिन अदालतमा पीडितको वकपत्र दोभासे प्रयोग गरेर लिईएको थियो । महिलाको तर्फबाट दोभासे सांकेतिक भाषा बोल्ने अधिबक्ता कृष्णप्यारी नकर्मी मार्फत गराईएको थियो ।

बैशाख ३० गते अनलाईन बहस मार्फत सजाँय निर्धारण गरिएको छ । २०७८ बैशाख १५ गते कसुर निर्धारण गरिएको सरकारी छाप दस्तखत किर्ते मुद्दाको सजायँ निर्धारण गरिएको छ । रोशी गाउँपालिका ११ घर भएका २५ बर्षिय विरबहादुर गोले भन्ने विरबहादुर घोलेले सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा २०७६ फागुन २७ गते मुद्दा दर्ता भएको थियो । प्रमुख जिल्ला न्यायाधिश सुर्यप्रसाद पराजुलीले उक्त मुद्दामा ६ महिना कैद र २५ हजार जरिवनाको फैसला सुनाउनु भएको छ । अभियुक्तको तर्फबाट कानुन ब्यवसायी नवराज बडालले अनलाईन मार्फत बहस गर्नु भएको थियो भने सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिबक्ता कपिल रोक्काले बहस गर्नु भएको थियो ।

बैशाख ३१ गते सरण दनुवारको जाहेरीमा नेपाल सरकार बादी रहेको मुद्दामा कान्छा दनुवार सहित ३ जना प्रतिवादी विरुद्ध दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दाको थुनछेक बहस भएको छ । जिल्ला न्यायाधीश महेन्द्र राज काफ्लेको इजलासमा भएको बहसमा सरकारी वकिल सहायक जिल्ला न्यायाधिबक्ता कपिल रोक्का र निशुल्क कानुनी सहायता (प्रो–बोनो) सुरज तिमल्सिनाले अनलाईन बहस गर्नु भएको छ । जिल्ला अदालतमा ७ जना कानुन ब्यवसायीहरुले निशुल्क कानुनी सहायता उपलब्ध गराउन नाम सुचिकृत गराउनु भएको छ ।

कोभिडको महामारीमा अत्यावश्यक बाहेक अन्य सेवा कटौती गरेको जिल्ला अदालतले म्याद थप, निषेधाज्ञा, बन्दि प्रत्यक्षीकरण, थुनछेक, १५५ को निवेदनमा सुनुवाई गरिरहेको छ । १५५ को निवेदनमा कारगारामा रहेका १ वर्ष भन्दा कम सजायँ तोकेका ब्यक्तिहरुले अदालतमा निवेदन दिन सक्ने ब्यवस्था छ । हालसम्म जिल्ला कारागारामा रहेका कैदी बन्दिरुहरुले जिल्ला अदालतमा निवेदन दिएका छैनन । अनलाईनबाट बहस शुरु गर्ने देशभरका अदालत मध्ये सम्भवत काभ्रे पहिलो अदालत हो ।

प्रतिक्रिया दिनुहोस्