महामारीमा जनतालाई सहज बनाऊ



नेपाल समाचारपत्रको अनलाइनमा प्रकाशित निषेधाज्ञाबीच सामाजिक सुरक्षा भत्ता शीर्षकको समाचार पढेर साह्रै दुःख लाग्यो । महामारीको समयमा समाजमा रहेको अशक्त ज्येष्ठ नागरिकलगायतलाई सहजरुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसक्नु दुःखद छ । सरकारले यस्तो समयमा झनै घरघरमा राहत वितरण गर्नुपर्नेमा यस्तो भाँजो हाल्ने काम खेदजनक छ ।

समाचारमा भनिएअनुसार मकवानपुरको भीमफेदी गाउँपालिकाले वितरण गरिरहेको सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियाको समुचित व्यवस्थापन हुन नसकेको भन्दै सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन् । गाउँपालिकामा समेत कोरोना संक्रमण दर वृद्धि भएको अवस्थामा ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिला ठूलो संख्यामा उपस्थित हुँदा बैंकलाई व्यवस्थापन गर्न समस्या रहेको सेन्चुरी बैंकले बताएको छ ।एकैदिन एकै समयमा निषेधाज्ञाबीच दुई वडा (कोगटे–७) र निबुवाटार (वडा–४) को सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भीड बढेको सेवाग्राहीको भनाइ छ ।

यातायातका साधन उपलब्ध नहुँदा, दुःख–कष्ट भोगेर आए पनि बैंकमा व्यवस्थापन नहुँदा र दूरी कायम नहुँदा कोरोना संक्रमण हुने सम्भावना देखिएको छ । ८० वर्षकी वृद्धालाई डोकोमा बोकेर आएका एक सेवाग्राहीले अशक्तका संरक्षकलाई रकम बुझ्न सहजता अपनाउनुपर्ने बताए । तीनपटक बैंकले संरक्षकको सिफारिस ल्याउन अनुरोध गर्दा पनि वडा कार्यालयले सिफारिस नदिँदा समस्या भोग्नुपरेको उनीहरुले बताएका छन् । यस्ता समाचार सुन्दा सरकार जनताको होइन, यो सरकार निकटका मानिसहरु पोस्नमै व्यस्त देखिन्छ । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।
– सुमन गिरी, हेटौडा ।

प्रतिक्रिया दिनुहोस्