छिमेकी मुलुकबाट सिकौं !



दक्षिण एसियाको शक्तिशाली मुलुक भारत यतिखेर कोरोना संक्रमणको दोस्रो लहरबाट आक्रान्त छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यतिखेर कोरोना भाइरस परीक्षण गराउने प्रत्येक चौथो व्यक्ति कोरोना संक्रमित पाइएको छ । बितेको २४ घण्टामा भारतमा ३ हजार ७ सय ८० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३ लाख ८२ हजार ३ सय १५ नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । यसैबीच भारतले कोरोना महामारीसँग लड्न खोप अभियानलाई तीव्र बनाएको छ । अहिलेसम्म १६ करोडभन्दा बढीलाई खोप लगाइसकिएको छ भने कोरोनाबाट बढी प्रभावित महाराष्ट्र, राजस्थान, गुजरात, पश्चिम बंगाल र उत्तर प्रदेशमा खोप अभियानलाई अझै तीव्र बनाइएको छ । भारतको यो सकारात्मक अभियान हाम्रो लागि पनि अनुकरणीय छ ।

कोरोना महामारीको आर्थिक पाटो पनि छ । विश्वकै ठूला १० अर्थतन्त्र देशभित्र पर्ने छिमेकी मुलुक भारतको अर्थव्यवस्थालाई कोरोना संक्रमणकै कारण ध्वस्त हुनबाट जोगाउन त्यहाँको रिजर्व बैंकले पनि उत्तिकै सक्रियता देखाइरहेको छ । रिजर्व बैंकले ३१ मार्च २०२२ सम्म अस्पताल, अक्सिजन आपूर्तिकर्ता, खोप आयातकर्ता र कोरोनाको औषधिका लागि ५ खर्ब भारतीय रुपियाँ ऋण उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै यसअघि ऋण पुनर्गठनको सुविधा नलिएका २५ करोड रुपियाँसम्म ऋण लिने व्यक्तिगत वा साना ऋणीका लागि ऋण पुनर्गठनको पुनः मौका दिने भएको छ । अर्थव्यवस्थामा वित्तीय संसाधनको प्रवाह बढाउन सरकारी प्रतिभूति खरिद कार्यक्रमअन्तर्गत मे २० मा ३५ खर्ब रुपियाँको सरकारी प्रतिभूति खरिद गर्ने निर्णय पनि रिजर्व बैंकले गरेको छ । यता, नेपालमा पहिलो चरणको लकडाउनले थला परेको हाम्रो अर्थव्यवस्था उठ्न नपाउँदै फेरि निषेधाज्ञा शुरु भइसकेको छ । यो निषेधाज्ञा छिट्टै समाप्त हुने लक्षण देखिँदैन ।

यस्तो अवस्थामा एकातिर दैनिक ज्यालामजदुरी गरेर आफ्नो जीविकोर्पाजन गर्नेका लागि बाँच्नै गाह्रो पर्ने अवस्था सिर्जना भएको छ भने अर्कोतिर देशकै अर्थतन्त्र पनि धरापमा परिरहेको छ । नागरिकको ज्यान जोगाउनु सर्वोपरी हो र त्यसका लागि निषेधाज्ञालाई नाइँ भन्न सकिन्न । तर, लकडाउनमा सर्वसाधारणको दैनिक जीवनलाई सहजीकरण गर्नुका साथै देशको अर्थव्यवस्थालाई जोगाइराख्ने दायित्व सरकार र सरकारमातहत निकायको हो । यो दायित्व बहन गर्न भारतको रिजर्व बैंकको पछिल्लो कदमबाट हाम्रो राष्ट्र बैंकले किन नसिक्ने? यो समयमा साना व्यापारीका साथै उद्यमी व्यवसायीहरूलाई प्रोत्साहित गर्ने प्याकेजहरू ल्याउन, बैंकका ग्राहकहरूलाई निषेधाज्ञामा बिनाझण्झट बैंकिङ सुविधा दिने नीति ल्याउन राष्ट्र बैंकको पहलकदमी कैले शुरू हुने ?

भारतबाट हाम्रो राजनीतिदेखि हरेक कुरा प्रभावित छ । यतिसम्म कि कोरोना संक्रमणमा पनि छिमेकी मुलुक भएकाले र खुला सीमानाका कारण भारतकै महामारीको असर परेको छ । राजनीतिलाई आपराधीकरण गर्न र अपराधलाई राजनीतीकरण गर्ने काम पनि उतैको सिको हो भन्न धक मान्नुपर्ने ठाउँ छैन । छिमेकी मुलुकबाट नकारात्मक कुराहरू धेरै सिकिसक्यौं अब सकारात्मक कुरा पनि सिक्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्