मन्त्री आलेद्वारा कर्णाली प्रदेशमा कोरोना नियन्त्रणका लागि बृहत छलफल



विमल विष्ट, काठमाडौँ ।

संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कर्णाली प्रदेशको कोरोना नियन्त्रण तथा रोकथामका लागि बृहत छलफल सुरु गर्नु भएको छ । आज मन्त्री आलेले सो प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्रालयका सचिब कृष्णप्रसाद काफ्ले तथा उक्त प्रदेश भरीका सबै प्रमुख जिल्ला अधिकारीहरुसँग फोन सम्वाद गर्नु भएको थियो ।

नेपाल सरकारले संघीय स्तरका सात वटा मन्त्रीहरु प्रत्यक प्रदेशका लागि संघीय सरकारका कोभिड फोकल मन्त्री (सम्पर्क मन्त्री) तोक्ने क्रममा वन तथा वातावरणमन्त्री आलेलाई कर्णाली प्रदेशको कोभिड फोकल फोकल मन्त्रीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी तोकिएपछि मन्त्री आलेले उक्त प्रदेशमा कोरोनाका कारण भइरहेका समस्या तथा आवश्यक पर्ने साधनस्रोतका बारेमा दैनिक जसो चासो सहित जानकारी लिने गर्नु भएको छ ।

सोही क्रममा मन्त्री आलेले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज टेलीफोनमा बार्तालाभ गर्नु हुँदैमन्त्री आलेले कर्णाली प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारबाट चाहिने आवश्यक सहयोगका लागि पहल गरिने आश्वासन दिनु भएको हो । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण उत्पन्न भइरहेको अवस्था तथा त्यहाँका नागरिकको उपचारका लागि तत्काल आवश्यक पर्ने साधनस्रोतका बारेमा वन तथा वातावरणमन्त्री आलेले मुख्यमन्त्री शाहीसँग फोन सम्वादमा जानकारी लिनु भएको मन्त्री आलेका स्वकीय सचिब हेमन्त रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण कर्णाली प्रदेशका नागरिकलाई परेको कोरोना रोकथाम र नियन्त्रणका समस्याका विषयमा मन्त्रीज्यूले कर्णाली प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालयका सचिब लगायत प्रजिअहरुसँग जानकारी लिनु भएको छ, त्यहाँको समस्या समाधानका लागि मन्त्रीज्यूले चाडै पहल थाल्नु हुने छ ।”

फोन सम्बादका क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दैनिक एक हजार सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट, एण्टिजेन किट तथा आइसोलेशन निर्माणका लागि केन्द्र सरकारबाट पनि तत्काल थप पहल गर्न माग गर्नु भएको बताइएको छ । मुख्यमन्त्री शाहीसँगको फोन सम्वादमा मन्त्री आलेले केन्द्र स्तरबाट कर्णाली प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धतासमेत जनाउनु भएको छ ।यसैगरी मन्त्री आलेले आजै कर्णाली प्रदेशका सबैै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग पनि फोन सम्वादगरी त्यहाँको कोरोनाको अवस्था र स्थितीका बारेमा जानकारी लिनु भएको छ ।

जानकारी लिने क्रममा कर्णाली प्रदेशका सुर्खेत छबिलाल रिमाल, डोल्पा माधब ढकाल, मुगु चन्दबहादुर सिवाकोटी, हुम्ला गणेश आचार्य, जुम्ला भुपेन्द्रबहादुर थापा, कालिकोट कृष्ण आचार्य, दैलेख हरि प्याकुरेल, जाजरकोट प्रेमप्रशाद उपाध्याय, सल्यान लक्ष्मीदेबी हुमागाई, पश्चिम रुकुम बद्रिनाथ गैरेसहितका प्रमुख जिल्ला अधिकारीले केही जिल्लामा डाक्टर नभएको, अक्सिजन नभएको, कोरोना परिक्षणकालागि एण्टिजेन्ट किट नभएको गुनासो पोख्नुका साथै कतिपय जिल्लाहरु यातायातका साधनबाट समेत टाढा भएकाले बिरामीलाइ जिल्ला बाहिर लैजान हेलिक्टरको व्यवस्था हुनु पर्ने माग गरेका थिए ।यसै गरी मन्त्री आलेले कर्णाली प्रदेशका कुनैपनि जिल्लामा समस्या आइपरे तत्काल आफुलाई फोन गर्न समेत सबैमा आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्