एमालेले पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय ,आजै शपथ



न्युज अफ नेपाल, बुटवल ।

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो । कांग्रेस र जसपाको साथमा पेश भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल गर्ने कार्यसूचि थियो । मुख्यमन्त्री पोखरेलले त्यसअगावै राजीनामा दिएका हुन् ।

अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुनेछ । माओवादी केन्द्र र जसपाका गरी ६ जना सांसदको पद रिक्त भएपछि एमालेलाई एकल सरकार बनाउन सहज भएको हो । पोखरेललाई नै पुन मुख्यमन्‍त्रीमा नियुक्त गरेर शपथ खुवाउने तयारी छ।

८७ सदस्यीय प्रदेशसभामा अहिले ८१ सांसद छन् । एमाले एक्लैसंग ४१ सांसद छन् । कांग्रेसको १९, माओवादीको १७, जसपाको २ र जनमोर्चाका १ जना सांसद गर्दा जम्मा ३९ सदस्य हुन्छ । यी गठबन्धनले माधव नेपाल पक्षका दुई सांसदको साथ लिएर मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्ताव पारित गराउने पक्षमा थिए ।

प्रतिक्रिया दिनुहोस्