१३ दिनमै ३० हजार नेपाली भित्रिए



नेपाल समाचारपत्र, बाँके 

दिल्ली, मुम्बई, गुजरातलगायतका शहरमा कोरोनाले महामारीको रूप लिएपछि कामका लागि भारत पुगेका नेपालीहरु धमाधम घर फर्किएका छन् ।पछिल्लो दिनमा दैनिक २ हजार बढी नेपाली नेपालगन्ज नाकाबाट भित्रिरहेका छन् । स्थानीय प्रशासनले बाँकेमा निषेधाज्ञा लगाएर जनतालाई हिँड्डुलमा कन्ट्रोल गर्ने प्रयास गरिरहँदा नेपालगन्ज नाकामा भने घर फर्किएका नेपालीको सधैं भीड लाग्ने गरेको छ ।

नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले वैशाख १ देखि १३ गतेसम्ममा नेपालगञ्ज नाकाबाट ३० हजार ४ सय २८ जना नेपाली घर फर्किएको जानकारी दिनुभयो । यो नाकाबाट घर फर्किने अधिकांश कर्णाली प्रदेशका छन् ।इन्चार्ज गिरीका अनुसार वैशाख १ गते १ हजार ३ सय ६३, २ गते १ हजार १ सय ८७, ३ गते ९ सय ७६, ४ गते २ हजार ३ सय ७२, ५ गते २ हजार ७ सय ७७, ६ गते ४ हजार ४३, ७ गते ६ हजार ७ सय ५४, ८ गते ५ हजार ३ सय ७८, ९ गते ३ हजार १ सय ६८, १० गते २ हजार ४, ११ गते २ हजार १ सय २६, १२ गते १ हजार ६ सय १८ र १३ गते २ हजार ४० जना नेपाल भित्रिएका छन् ।

भारतबाट फर्किएकालाई नाकामा स्वास्थ्य जाँच गरेर भित्र्याउने गरिएको छ । स्थानीय प्रशासनले नाकामा होल्डिङ सेन्टर स्थापना गरेको छ । नाकामा घर फर्किएका सबैको जाँच भने हुन सकेको छैन । भारतको मुम्बई, दिल्ली, गुजरात, राजीस्थानलगायतका ठाउँबाट आएकालाई विशेष प्राथमिकताका साथ जाँच गर्ने गरिएको छ ।चैत ११ गतेदेखि अहिलेसम्म यो नाकाबाट भित्रिएका ६२ जनालाई कोरोना पुष्टि भएको छ । नाकाको हेल्थ डेस्कमा खटिएका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार चैत ११ गतेदेखि अहिलेसम्म ४ सय २९ जना शंकास्पद व्यक्तिको कोरोना जाँच गरिएको छ । त्यसमा ६२ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना देखिनेमा गुजरातबाट आएका धेरै छन् । दिल्ली, मुम्बई र राजीस्थानका समेत छन् ।नेपालगन्ज नाकामा राखिएको हेल्थ डेस्कमा जाँच गर्दा कोरोना देखिएका व्यक्तिलाई शुरु–शुरुमा सम्बन्धित जिल्लाबाट एम्बुलेन्स बोलाएर पठाउने गरिएको थियो । केही दिनयता पोजिटिभलाई यही राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बनाएको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा भारतबाट आएका पोजिटिभलाई राखिएको छ । त्यहाँ ३९ जना रहेका छन् ।

नाका व्यवस्थित गर्न नसकेर कोरोना कहर बढेको जनगुनासो रहँदै आएको छ । व्यवस्थापनको पाटोलाई हेर्दा नाकामा अस्तव्यस्त नै देखिन्छ । भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा कोरोनाको महामारी देखिएको छैन । यी ठाउँमा कर्णाली प्रदेशका धेरै मानिस जाने गर्दछन् । दिल्ली, मुम्बई, गुजरात, राजीस्थानबाट आएका नेपालीहरु यो नाकाबाट चेक नभई पठाउँदा कर्णालीमा त्यसको असर परेको देखिन्छ । भारतबाट आएका संक्रमितलाई यही उपचार गरेर पठाउँदा कर्णाली सुरक्षित हुन सक्छ । यहाँबाट गएका उनीहरुले गाउँमा संक्रमण सार्ने चुनौती देखिन्छ । भारतबाट आएर नेपालगन्ज हुँदै सुर्खेतको सिम्ता घरमा पुगेका एक जना युवकको हप्ता दिनपछि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्