बैदेशिक रोजगारबाट फर्किएकाहरुले गठन गरे आप्रवासी कामदार हकहित संरक्षण मञ्च



मोतीराम तिमल्सिना, काभ्रे ।

बैदेशिक रोजगारबाट फर्किएका जिल्लाका नागरिकहरुले अनुभव आदान प्रदान, सिप साटासाट र रोजगारमा संलग्न ब्यक्तिहरुको हक हितका बारेमा वकालत गर्ने उदेश्यले आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरेका छन् । धुलिखेलमा दुई दिनसम्म संचालन भएको क्षमता विकास तालिम एवं आप्रवासी कामदारहरुको संजाल निर्माण कार्यक्रम पश्चात मञ्च गठन गरिएको हो ।

१३ वटै स्थानीय तहबाट सहभागिता रहेका आप्रवासी कामदारहरुको भेलाबाट जीवन कुमार मैनालीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ । कमिटीमा उपाध्यक्ष विवेक तिमल्सिना, सचिव निलप्रसाद ढकाल, कोषाध्यक्ष करिस्मा विक रहनु भएको छ । त्यस्तै सदस्यहरुमा रेशम पाण्डे, गोपालप्रसाद तिमल्सिना, बुद्धिमान माझी, युवराज न्यौपाने, प्रभुुराम सुवेदी र बासुदेव घोरसाईने रहेका छन् । केहि सदस्यहरु पछि थप गर्ने जनाईएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) मार्फत सुरक्षीत बैदेशिक रोजगारीका लागि सवाल तथा संस्थागत विकास सम्वन्धी कार्यक्रम लागु भएका पालिकाहरु तथा अन्य पालिकाहरुका आप्रवासी कामदाहरुले विदेशमा रहँदाको सिपलाई आफ्नै देशमा प्रयोग गर्ने गरी थप सहजताका लागि कार्य गर्न मञ्च सक्षम हुने सिभिक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले बताउनु भयो ।

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले मञ्चमा सहभागिहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो । मुलुकमा राजनीतिक परिवर्तन सँगै आर्थिक परिवर्तन जरुरी भएकाले पुँजी, जनशक्ति र उद्यमशिलता बढाउन बैदेशिक रोजगारीका क्रममा सिकेका अनुभवहरुलाई ब्यवहारमा प्रयोग गर्न अनुरोध गर्नु भयो । अदक्ष भई विदेश जाँदा प्राप्त हुने दुख झण्झटलाई कम गर्न सिप सिकेर दक्ष बनेर विदेश गएको अवस्थामा तोकेको पारिश्रमीक प्राप्त गर्न सकिने भएकाले बैदेशिक रोजगारमा जाँदा सिप सिकेर जान र फर्किए पछि त्यहाँ प्रयोग भएका सिप तथा अनुभवलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्न नगर प्रमुख ब्याञ्जुले अनुरोध गर्नु भयो ।

कार्यक्रममा उपप्रमुख विमला शर्मा चौलागाईले नगरपालिकाले ब्यवसायी सिप प्रदान गर्दै मेयर गरिवी निवारण कोष तथा परिषदहरु मार्फत आवश्यक सहयोग गरिरहेकाले आर्थिक समृद्धीका लागि सक्रिय हुनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनाले बैदेशिक रोजगारका लागि जाँदा सिप सिक्न र आए पछि अनुभव ब्यवहारमा प्रयोग गर्न अनुरोध गर्नु भयो । नव गठित मञ्चका अध्यक्ष जीवनकुमार मैनालीले विदेशिएका युवाहरुे सोचे जस्तो रोजगार नपाउने चुनौतीसँगै स्वदेश फर्किएर त्यसको अनुभवलाई सदुपयोग गर्न कठिन रहेको बताउनु भयो । सचिव एवं विद्यान मस्यौदा समितिका संयोजक निलप्रसाद ढकालले सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा बैदेशिक रोजगारमा भएका ब्यक्तिहरुको योगदान, यस क्षेत्रमा देखिएका समस्या र त्यसको सम्बोधन गर्न स्थानीय सरकार र विभिन्न संघ संस्थाहरु तथा निकाय संघ संस्थासँग समन्वय गर्ने बताउनु भयो ।

कार्यक्रममा सिभिक फोरमका उपाध्यक्ष झलकुमार दलार्मी, संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवर, धुलिखेल नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतम लगायतले आप्रवासी कामदारहरुको समस्या समाधानमा स्थानीय सरकारको सक्रियता आवश्यक रहेको बताउनु भयो । सिभिक फोरमले जिल्लाका चारवटा पालिकामा आप्रवासी कामदाहरुका समस्या समाधानका लागि कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्