निषेधाज्ञाको नियति



कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएसंँगै मृत्युदर पनि बढ्दै गएको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार सातामा करिब २ सय संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको छ, यो वास्तवमै जटिल अवस्था निम्तिसकेको संकेत हो ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी मापदण्ड र चेतावनी जारी गरिरहे पनि खास गरी सरकारका उच्चपदस्थ व्यक्तिबाटै चेतावनीको बेवास्ता गरी खेलाँची गरिरहेको देखिनु आपत्तिजनक छ । संक्रमण रोक्नका लागि सरकारले गरेको ढिलासुस्तीको सबैभन्दा बढी दुरुपयोग सत्ताधारी दल र प्रधानमन्त्री स्वयंले गरेको देखिएको छ । यसै साता प्रधानमन्त्री ओलीले केही कार्यक्रममा ठूलो भीड जम्मा गराउन भूमिका खेल्नुभयो । रामको मूर्ति स्थापना गर्ने क्रममा बालुवाटारदेखि देवघाट हुँदै माडीसम्म फैलिएको भीडको कारक पनि सरकार नै थियो । अर्कोतर्फ जटिल स्वास्थ्य स्थिति नहुँदासम्म परीक्षण गर्न नआउने, कन्ट्याक्ट ट्रेसिङ नहुने, स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्ने लगायतका कारणले संक्रमणको संख्या बढेको हो । यसका अतिरिक्त नेपालको सम्बन्धमा भारतसँगको खुला सिमाना पनि कोभिडको विस्तारको कारण बनेको छ ।यता नागरिकमा पनि लापरबाही थपिएको छ । अहिले पनि शहरका चोक–चोक र खाजा पसलमा, सार्वजनिक यातायात र व्यापारिक कम्प्लेक्समा, सरकारी र निजी कार्यालयमा भौतिक दूरी कायम नगरी, मास्क र सेनिटाइजरको प्रयोग नगरी भीडभाड गर्नेको कमी छैन । मानिस आफूलाई कोरोनाले छुँदैन भनेझैं गरी हिँडिरहेका छन् । यसले संक्रमण दर बढाउने र भयावह अवस्था आउनेतिरै संकेत गरेको छ । अहिले पनि मुख्यतया आम मानिस र विभिन्न संस्थाहरू कोरोना संक्रमणको सम्भावित चित्रलाई अनदेखा गरिरहेका छन्, जुन उचित होइन ।

संक्रमणको दर गम्भीररूपले दिनदिनै बढिरहेको छ भने अर्कोतिर त्यसले माग गर्ने अत्यावश्यक सुविधाहरू अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटरको उपलब्ध संख्या न्यून छ । दैनिक १० हजारभन्दा बढी संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनीलाई मध्यनजर गर्दा त्यस्ता संक्रमितमध्ये पाँच प्रतिशत मात्र गम्भीर बिरामी पर्ने हो भने बिरामीले सघन उपचार कक्ष र भेन्टिलेटर नै नपाउने अवस्था आउन सक्छ ।मानिस–मानिसबीचको सम्पर्क कम गरेर मात्रै नियन्त्रण गर्न सकिने कोरोना संक्रमणको नियन्त्रणका लागि अहिले केही दिन लकडाउन गर्न सक्ने हो र प्रभावकारीरूपमा क्वारेन्टाइनको व्यवस्था गर्ने हो भने सम्भावित भयावह संक्रमणको विस्तारलाई रोक्न सम्भव छ । यसैबीच उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ । तर, आफ्नै स्वास्थ्य मन्त्रालयको चेतावनी बेवास्ता गर्दै सरकारकै मन्त्रीहरू र सत्ताधारी दलका नेताहरूले तीव्ररूपमा कोरोना फैलाउन खेलिरहेको भूमिकाले क्रमशः आउँदै गरेको आँधीतर्फ संकेत गरिरहेको छ, त्यसैले सबै बेलैमा सचेत बनौं । कोरोनालाई खेलाँचीका रूपमा नहेरौं !

प्रतिक्रिया दिनुहोस्